हरियो पर्दा भित्रको वास: र अमेरिकामा सपना बेच्नेहरुको पस:
वसन्तपुर् वरिपरिका पुरानो हाल बिरानो भएको वस्तीका गल्लीहरुमा हरियो पर्दा लगाएका छिंडीहरु असंख्य छन्, देख्नु भएकै होला| सानो छंदा बुबा बिरामी हुँदा बखत बीर अस्पतालका कक्षहरुमा हरियो पर्दा देखेको थिएँ र तिनै गल्ली भएर बाटो नाप्दा लाग्थ्यो सानो तिनो अस्पताल नै होलान् हरियो पर्दाहरु |
गल्ली गल्लीमा खुलेका यी भट्टीहरुको पहिचान हरियो पर्दा कहिले देखि र किन हुन गयो त्यसको प्रामाणिक इतिहास भेटिन्न | भट्टी अर्थात खाजाघर अर्थात चमेनागृह | खाजा बेचेर मुनाफा कमाउछु भनेर पसल थाप्नु र कामाउनु ब्यबसायिक धर्म नै हो यसमा बिमति न रहला | तर अधिकांश भट्टीमा दिन दहाडै वास: बेचिन्छ, सस्तो मुल्यमा | एक गिलास वास:को २० देखि ५० रुपैयामा बेचिने यी वास:हरुले असंख्य ज्यान सुस्त सुस्त लाश हुँदै छ |वास: अर्थात शाब्दिक अर्थमा औषधि भट्टी भाषामा लोकल रक्सी | युरिया लगायत घातक रासायनिक एवं बिष मिसाएर बनाइएका सस्तो रक्सी पिउनेहरुलाई म बिष पिउंदै छु, लिभर खियाउन्दै छु भन्ने पक्कै थाहा हुँदो हो
तर नशा र बजेटको सयुक्त प्रतिफल वास: पिउँछन् | यहाँ पिउने को दोष छैन भन्दिन |
तर मेरो यो लेखको मुख्य आशय बिष बेच्नहरुको मन हुन्छ कि हुँदैन भन्ने बारे हो | कानून सानून दैब जानुन, तर एक सचेत मान्छे भएर आफ्नै टोल , वास्तिवारिपरिकालाई पिउन अयोग्य मदिरा बेच्न आत्माले दिन्छ कि दिदैन ? बेच्नै परे स्वास्थलाई सिधै हानी नोक्सानी नहुने, घरेलु प्रयोजनको लागि बनाइने शुद्ध आयला बेचे पाप लाग्दैन होला नै |
हरियो पर्दाको अमेरिकामा सपना बेच्नेहरुको संजालको अनुनियाश्रीत सम्बन्ध म देखि रहे छु | अमेरिकाको विभिन्न सहरहरु जहाँ नेपाली र नेपाली मूलका भुटानीहरुको बाक्लो उपस्थिति छन् त्यहाँ बिगत केही बर्ष देखि सपना बेच्ने गन्यमान्यहरुको चर्तिकला बिस्तारै छताछुल हुँदै छ | जीवन बिमाको एउटा प्रडक्ट मीठो सपनाको
लेपन लगाएर बेचिदै छन् | नेटवर्किंग जीवन बिमा मात्र हैन अरु कुनै बिमाको चक्रब्युह मै हुँ भन्ने शिक्षित व्यक्तिलाई त बुझ्न गाह्रो हुन्छ भने भर्खर अमेरिकी सपना बोकेर अमेरिकी धर्तीमा पदार्पण गरेका नेपाली र नेपाल भाषी भुटानीहरुले शायदै बुझ्लान बिमाका जटिल अवयवहरु | जीवन बिमाको मूल उद्देश्य भनेको कथंकदाचित भबितब्यबमा जीवन गुमाए भने परिवारजन वा आश्रितजनले पाउने आकर्षक धनराशी नै हो |
तर अमेरिकामा सोझा सिधा र केही छट्टुहरुलाई यसका अनेकन अतिसयुक्तिका गुलियो चटाएर बेचिदैछन् र घण्टा हानेर कमाएका हरियो डलरको महत्वपूर्ण अंश बुझाउदै छन् | पिरामिड शैलीका नेटवर्किंग ब्यबसाय जो संसारका धेरै देशमा गैरकानूनी मानिन्छन्, जीवन बिमा भित्र त्यो नेटवर्किंगबाट हुन सक्ने अप्रत्याशित लाभको ठुलो अंक देखाएर बेचिदैछन्, किनिदैछन् | एकजना सदस्य भएर अर्को ५-७ जना सदस्य बनाउन सकियो भने नयाँ सदस्यले तिरेको प्रिमियमको झन्डै आधा अंश पाउने प्रलोभनले जो सुकै आकर्षित नहुने कुरै छैन | आफुले तिरेको
पैसा भन्दा बढी पैसा फिर्ता हुने आशाले उ अरुलाई मुर्गा बनाउन खोज्छन् र आफु ठुलो मुर्गा भैसकेको हेक्का राख्दैनन्| जति सदस्य बढ्यो त्यति नै बनाउने एजेन्ट मोटाउने कुरामा पहिलो चरणमा ठगिएका ग्राहकलाई वास्ता हुँदैन र अरुलाई नाता, सम्बन्ध, जातीको अचुक अस्त्र प्रयोग गरी रातारात धनी बन्ने सपना देख्छन् |
जब यस ठगी काण्डमा ठगिएको महशुश गर्ने अमेरिका मै सामाजिक र आर्थिक हैसियत बनाइसकेका , तुलानात्कम रुपमा पढे लेखेकाहरुले आफ्नो हर हिसाब गरे तिनीहरु सपनाको गल्छीमा खसे| जुन सुकै समयमा आफुले तिरेको प्रिमियम फिर्ता माग्न पाउने र ब्याज सहित रकम फिर्ता गर्ने भनी लेखिएको बिमा सम्झौताको अर्को पाटोमा ससाना अक्षरले लेखिएका शर्तहरु धेरैले पढ्दैनन् | आफुले तिरेको जम्मा रकम फिर्ता लिंदा अनेक धारा उपधारा बमोजिमको खर्च र शुल्क काटेर दिने रहेछ | बर्षौं पछी ब्याज सहित पाउने रकम आफ्नो पसिनाको डलर भन्दा उल्लेख्य कम पाउने रहेछ | उदाहरणको लागि, (यु ट्युबमा भिडियो उपलब्ध छ), महिनाको ४ सय ( पुरै परिवारको बिमा प्रिमियम) तिरेर १२ बर्ष पछी फिर्ता माग्दा झन्डै ६० हजार बुझाएको रकम ५० हजारमा ब्याज सहित अबमुल्यन हुने रहेछ |
सामान्य हिसाबमा पनि न्यूनतम ब्याज दरमा बैंकमा जम्मा गरे पनि त्यो ६० हजार घटीमा ७५-८० हजार हुन जान्छ |
हो बिक्रीको राखिएको माल हो, नाफाको मार्जिन नराखी कसैले ब्यापार गर्दैनन्, सत्य हो | कुन माल किन्ने हो वा अर्को माल किन्ने हो ग्राहकको व्यक्तिगत निर्णय र इच्छा हो – यो पनि सत्य हो | सामान किन्दा बुझेर जानेर किन्नु पर्छ – यो पनि सत्य हो | ब्यापारी वा बिक्रेताले खस्रो माललाई पनि खाग्सी र वाक्स् दलेर चिल्लाएर बेच्छन् – यो पनि सत्य हो | तर ठुलो “तर “ छ | पांच रुपैयाको सुन्तला २५ मा बेच्नुस् तपाइँ को खुसी तर सुन्तलाको नाम मा बिष बेच्न पाइन्छ कि पाइदैन ? यो सुन्तला भित्र बिष छ भन्दा भन्दै किन्छ भने ग्राहक मुर्ख हो तर यस भित्र अमृत छ भन्दै बिष बेच्न पाइन्छ कि पाइदैन |
यी त भए सामान्य ठगीका कुरा | ठग्नेहरुको जमात बाक्लै भएको देशका जनता हौँ , ठग्नेहरु जतासुकै हुनु अनौठो हैन | नैतिकपतनको सीमा सम्म देखेको र भोगेको देशको नागरिक हुँ, धेरैबाट नैतिकता प्रदर्शन गर्ला भन्ने आश पनि छैन | भ्याट छल्ने ब्यापारी देखि नक्कल्ली एड्स जाच्ने किट्स बेच्ने गिरोह देखेका नै हौ | छोरीलाई मुम्बई लगायतका कोठीमा बेचेर घरमा जस्तापाताको छाना लाउने बस्तीका बस्ती नै देखेको छु | फकाएर फुलाएर मृगौला बेच्न लगाउने फताह देखि लिएर कौडीको दाममा घर खेत बेच्न लगाउने आफन्त धेरै देखेको छु | तर ठुलै तर छ यहाँ निर |
मलाई के लाग्थ्यो भने नैतिकता अलिकति भए पनि बचाएका समुदाय कुनै छ भने त्यो साहित्यकार र कलाकार समुदाय हुन् | साहित्यकार, कबिको मन संबेदनशील हुन्छन्, अरुको पीडामा रुने आँखा हुन्छन्, अरुको ब्यथा धुने हात हुन्छन् – मलाई जस्तै धेरै लाग्थ्यो होला | अझै पनि साहित्यकार र कलाकारहरुको मुटु आम नागरिकको भन्दा बढी धड्किन्छ भन्ने कुरामा बिश्वास गर्छु र गरिरहन्छु |
यो सपना बेच्ने एजेन्टहरु प्राय जसो नेपाली समुदायमा चर्चित साहित्यकार र कलाकारहरु छन् | प्रतिष्ठित
साहित्यकार महोदयले बाबु यो यस्तो राम्रो कुरा हो किन्दा फरक पर्दैन भने पछी न पत्याउने को हुन्छ ? कुनै पनि समारोह वाह वाह लुट्ने गजलकार र संगीत सुनाउने संगीतकारज्यूले तपाइँ सदस्य बन्नुस् मा जस्तै मालामाल हुनुहोस् भनेर भन्यो भने नफस्ने को होला र ? “अहिले म यस ब्यबसायमा लागेर धेरै फाइदा भएको छ , हफ्ता मा
७-८ घण्टा ब्यस्त भएर पुग्ने आम्दानी गरेको छु , बाँकी समय समाजसेवा मा अर्पण गरेको छु “ भन्दा कुन चाहि मान्छे नापग्लिएला ? समाज कै चर्चित- प्रतिष्ठितहरु लप लहलहैमा सपना किन्नेहरु
हजारौंमा पुगिसके | मुश्किलले बाच्ने जोहो गर्नेहरुको पसिनामा पौडी खेलेर बैभवी जिन्दगी बिताइरहने यी साहित्यकार-कलाकारहरु र त्यो हरियो पर्दा भित्रका युरियाको झोललाई रक्सी भनेर बेच्नेमा के फरक भो ?? रक्सी बेच्नेले जस्तै यिनले पनि जिउंदै मार्दै छन् |
समाजमा भट्टीवाल मात्र बदनाम हुने तर उस्तै ब्यबसाय गर्नेहरु फूलमाला र खादा ओढेर गरिबको पसिना चुसेर ढ्याउउ गर्दैछन् | र पनि नेपालीहरु अनेकन भय र संस्कारको डरले बोल्ने हिम्मत गर्दैनन् |
अस्तु !