एउटा रुख थियो ।
असारको झरीमा,कुलोको डिल माथि हिलो खेल्दै गर्दा
मान्छे मोरे... रे... भन्ने सुनिन्थ्यो...
हुँदा हुँदै त्यो कुलोमा,
साउनको भेल सँगै मनिसका रगत बगे !
मलामीको लर्को, त्यही रुख भएर मसानघाट पुग्दा
मटानदेखी बुइगलसम्म छेस्किन हाल्न त सबैले सम्झे ....
तर दैलो उघारेर ....
परिवर्तन ल्याउछु भनी हिडेको छोरोलाई कसैले रोकेन....
त्यही छोरोको
जुठोले दशै छेकियो,
तिहारको दियोमा आमाको छाती पोल्दा,
सयपत्री रुगेर बसेकी बैनीले यमराज छेक्न भ्याइन,
खै परिवर्तन त आयो कि आएन तर
मरेको/ बाचेँँको /बेपत्ता भएको छोरो आएन
त्यो छोरो बिलायो
त्यो समय, त्यो रुख बिलायो !
एउटा रुख छ !
छेमेकीले जन्ती बाख्रो बानेको देखेर
बलुवाले दाँत माझेर बस्ने थलो,
माघ पुषको जाडोमा मण्डीसम्म उसैको मागेर
उतैको देवता उतै को ईश्वर भाकेर बस्ने जुकाहरु छन्
जो त्यो रुख फलाउंछ,
जब
मधेस पहाड हिमाल
त्यो रुखले ढाक्छ,
जुकाहरुले ढाक्छ्न,
फेरी असार आउँछ,
फेरी रगत बग्छन्
मलामीको लर्को हेर्र्दै आमा भन्छिन-
"बाबु त्यो रुखमा भुत छ" ।
Last edited: 11-Oct-15 09:43 PM