read this (source: ekantipur)
सुन्नुस् तुलसी पराजुलीको कथा । उनी साह्रै मेहनती छन् । बिहान उज्यालो नभई पत्रिका बाँडिसक्छन् । साइकलका पाइडल मार्दा-मार्दा लखतरान भएको ज्यान दुई-चार मिनेट अड्याउन नपाई अर्को काममा पुग्छन् । साँझ अबेला घर र्फकन्छन् । खाना बनाई-खाई गरेर ओछ्यानमा पुगी तीन बजेलाई 'अल्राम' लाउँछन् । आँखा मिच्दै उठ्छन् । फेरि अर्को दिन त्यही चक्र पूरा गर्छन् । तराईको चर्को घाम, लु लाग्ने हावाहुरी वा मुसलधारे पानी केहीले रोक्दैन तुलसीको रुटिनलाई ।
'दाजु बर्बादै भो', उनी दैनिकजसो फोन गर्दै मलाई सुनाउँछन्, 'अझै बैंकले पैसा दिएन, अब के गर्ने ?'
पसिना बगाएर कमाएको उनको ३० हजार रुपैयाँ गोर्खा विकास बैंकको इटहरी शाखामा छ । संयोग कस्तो परेछ भने जुन दिन सानो टुक्रा जग्गा पास गर्न पैसा झिक्न उनी बैंक पुगे- बन्द भएको सूचना टाँसिएको रहेछ ।
समय सार्दै गए, बैना पच्न लागिसक्यो- महिनौंसम्म बैंकले भुक्तानी दिएन ।
उनले अब कहाँ जाने ? कसलाई गुहार्ने ? 'भरपर्दो' बैंक ठानेर राखेको दुःखको कमाइ कसरी फिर्ता पाउने ?
बिचरा तुलसी आधा ढोका खुलेको गोर्खा बैंक दिनदिनै छिर्छन् । कर्मचारी भन्छन्, 'यो त ऋण उठाउन मात्र खुलेको हो ।' ग्राहकले जम्मा गरेको पैसाचाहिँ फिर्ता नपाउने, ऋण तिर्न भने बैंक खुल्ने, तीनपुस्ते खुलाएर सूचनासमेत निकाल्ने ! ऋणीले तिरेको पैसा अब सदुपयोगै हुन्छ भन्ने के ग्यारेन्टी छ ? हिनामिना गराउन किन तिर्ने पैसा ? खाएको ऋण तिर्नुस् तर राष्ट्र बैंकको खातामा हालिदिनुस् । राष्ट्र बैंकले पनि पहिला भुक्तानी दिन बाध्य पारोस् अनि मात्र ऋण उठाउने अनुमति दियोस् । त्यो पनि पैसा आफ्नो नियन्त्रणमा राख्न सकोस् ।
'एउटा समस्या पर्यो', राष्ट्रिय बिमा संस्थानबाट रमेश दाहालको फोन आयो, 'लेखिदिनुपर्यो ।'
'के पर्यो त्यस्तो ?' मैले सोधेँ ।
कुरो बुझ्दा संस्थानका सयभन्दा बढी कर्मचारीको नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडमा खाता रहेछ । सबैको गरी दुई करोडभन्दा बढी त्यसमा मौज्दात रहेछ । स्रोतका अनुसार बिमा संस्थानको 'अफिसियल' खातामा त त्यो फाइनान्समा २० करोड रुपैयाँ छ । कर्मचारी र संस्थानको गरी २२ करोड रुपैयाँ डुबेसरह छ । यसो देखाउने नाममा पाँच लाखभन्दा माथि हुनेलाई साताको ८ हजार रुपैयाँ भुक्तानी दिने गरिएको छ । त्यसका अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ सपरिवार फरार भइसकेका छन् ।
धमाधम डुबिरहेका यस्ता वित्तीय संस्थाबाट कसरी उठाउने अब पैसा ? कति व्यक्ति र संस्था त्यस्तामा चुर्लुम्म डुबेका होलान् ? कसले हेरिदिने उनीहरूको समस्या ? कसले लिइदिने यसको जिम्मेवारी ? राज्यले लिने कि नलिने ?
राज्यले अनुमति दिएर खुलेका 'बैंक' लेखेका ठाउँमा पैसा राख्नु सुरक्षित हुन्छ भन्ने मात्र आम सर्वसाधारणलाई थाहा छ । कि त राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा 'क', 'ख', 'ग' वर्ग भनेजस्तो 'नडुब्ने', 'डुब्न सक्ने', 'डुब्नै लागेको' 'खोक्रो भइसकेको' जस्ता वर्गीकरण गरेर ठूलो बोर्ड राखिदिनुपर्यो । होइन भने जनताको पैसा डुब्दा राज्य चुप लागेर रमिते हुन सुहाउँदैन । खोक्रो भइसकेपछि देखावटी रूपमा अनुगमन गरेर 'डुबेछ' भन्नु राष्ट्र बैंकको गैरजिम्मेवारी हो । अझ संकटग्रस्त, समस्याग्रस्त वा अनियमितता गरेका थाहा पाएपछि सञ्चालकलाई भाग्न प्रशस्त 'बाटाको म्याद दिएर' पुर्जी जारी गर्नु अर्को 'षड्यन्त्र' हो । लामो समयसम्म कसैले केही नगरेपछि थेत्तरो भई बसेकाले गोर्खाका पूर्वअध्यक्ष डीबी बम्जन धन्न पक्राउ परे । अठार जनालाई पुर्जी काटेकामा बाँकी सबै उम्किइसके । भद्रगोल देख्नेबित्तिकै किन तातेन राष्ट्र बैंक ?
आम नेपालीलाई एउटा कुरामा विश्वास थियो- लाहुरेहरू इमानदार र सोझा-सीधा हुन्छन् । लप्पनछप्पन उनीहरूको शब्दकोशमै छैन । त्यसैलाई भजाउन उनीहरूले आफ्ना बैंक, फाइनान्स, सहकारीजस्ता संस्थामा 'प्रमोटेड बाइ बि्रटिस गोर्खा ग्रुप' लेखेका छन् । बेलायती सेनामा काम गरेर फर्केका नेपालीले त यसरी ठगे भने अरूको विश्वास कसरी गर्ने ? अब कुन बैंक डुब्दैन भनेर कसरी पत्याउने ?
नयाँ सञ्चालकले साँच्चै गोर्खा बैंक चलाउने हो भने लगानी थपेर झिक्न चाहनेलाई तुरुन्त फिर्ता दिनुपर्छ । फोहोरमैला बडारेर विश्वासिलो वातावरण बनाई चलाउन थाल्नुपर्छ । नत्र बैंकसँगै धेरै ग्राहक डुब्ने छन् । राष्ट्र बैंकले त्यता पनि ध्यान दिन सक्नुपर्छ ।
गोर्खा र सेयर मार्केट्स त अहिले देखिएका समस्या हुन् । यस्ता खोक्रिएका कति वित्तीय संस्था होलान् ? उपभोक्ता झुक्याइरहेका कति होलान् ? पैसा तिर्न नसकेर सम्भवतः भाग्ने नियतले नै धेरैले अनेक लोभलालच देखाएर जथाभावी ब्याज बढाइरहेका छन् । गलत बाटामा गएका वित्तीय संस्थालाई नियन्त्रण गर्ने ढंग राष्ट्र बैंकसँग पनि रहेनछ भन्ने अब पुष्टि भएको छ ।
बैंक-फाइनान्समा त यस्तो ब्रह्मलुट भइरहेको छ भने सहकारीको त झन् भरै छैन । सहरका ठूला भनाउँदा सबैजसो सहकारी नियमविपरीत चलेका छन् । सम्पत्ति सुरक्षाको ग्यारेन्टी हुने आधार नभएका यस्ता संस्थामा महँगो ब्याजको लोभमा कतिले करोडौं रकम राखेका छन् । हामी रोगको बाटो छेक्दैनौं, निको नहुने गरी रोगले च्यापेपछि रुवाबासी गर्छौं । राष्ट्र बैंकले 'कज्याएका' बैंकले त धमाधम ग्राहकलाई रुवाइरहेका छन् भने सहकारीले बिस्तारै कतिको उठिबास लगाउने हुन् !
अचेल धेरैबीच चर्चा सुनिन्छ- पैसा कहाँ राख्न ठीक होला ? हामीलाई पनि कतिले यस्तै सोध्छन् । उत्तर के दिने ? इज्जतिलाजस्ता देखिने लाहुरेले त चुर्लुम्म डुबाए भने अरू कसको भर पर्न सकिन्छ ? अब भरपर्दो पत्ता लाउन बैंकका ठूला मान्छे हेर्ने कि ठूला घर ? आकर्षक कार्यालयलाई विश्वास गर्ने कि मीठो बोली-वचनलाई ? कसैले सोधे कुनमा राख्नु भनिदिनु अब ?