उमेशले भर्खर ईमेलबाट यो मलाई पठाएको मेसेज। उसको साइट
www.mysansar.com ह्याक भएछ, त्यसको लागि म सारै दु:खी छु। यो ब्लगमा उमेशले राखेको बिचारहरु सारै मन परेर साझाका साथिहरुलाई बाँडेको छु। आशा छ यो, मेसेज यहाँ कपि पेष्ट गर्दा उमेशलाई कुनै आपत्ति नहोला।
www.mysansar.com
मैले पाएको मेसेज
===================================================
Sathi,
Mero Sansar hack gardiyo yaar....ke garne....
Aaja ko video herne bhaye.....
forward it as many people as you can
-
http://www.sharkle.com/video/80516/ blog post lekheko....post nai garna paiyena
को दोषी आजको घटनाका लागि ?
२०६३ जेठ ३ मंगलबार
नेताहरुले विवाद गरेर राजाको अधिकार कटौति हुने त्यस्तो राम्रो ऐतिहासिक घोषणापत्र हिजै पारित हुनुपर्नेमा लम्ब्याएको देखेर मलाई पनि रिस उठेको थियो। त्यसैले बिहान उठेदेखि आइरहेका खबरदारी जुलुसहरुको समाचार सुन्दा ' हो, गर्नुपर्छ' जस्तो लागिरहेको थियो। तर जब राष्ट्रिय सम्पति जलाइएको समाचार आयो र स्वयं आफै गएर ध्वस्त पारिएका गाडीको अवशेष देखेँ, तब भने दिक्क लाग्यो। बाँकी
अहिले आएर देउवाले राजालाई परमाधिपति बनाउनु पर्छ भनेर भनेकै छैन भनेर भने पनि हिजोको बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा उनले प्रष्ट रुपमा राष्ट्रप्रमुख परमाधिपति हुनुपर्छ , राजा रहन्छ कि रहँदैन त्यो जनताले चुन्ने कुरा हो भन्दै अप्रत्यक्ष रुपमा राजालाई नै परमाधिपति बनाउनु पर्छ भनेर भनेकै हो। हिजै प्रतिनिधि सभामा पेश हुने लगभग निश्चित भइसकेको प्रस्ताव के कति कारणले प्रस्तुत हुननसकेको हो- त्यो त बन्द कोठामा बसेर छलफल गर्ने तिनै दलका नेताहरुलाई थाहा होला। तर बाहिर आएपछि देउवाले बोल्न मानेका थिएनन् , अनि संयुक्त जनमोर्चाका लीलामणि पोखरेलले ' वर्दी बिनाको मान्छेलाई परमाधिपति बनाउनु पर्छ भनेर देउवाले भनेको जसको प्रष्ट संकेत राजातर्फ भएकोले हामीले त्यसलाई स्वीकारेनौं ' भनेका थिए। त्यही कुरा सञ्चारमाध्यमबाट व्यापक प्रचार-प्रसार भएका थिए। त्यो एउटा कारण थियो।
त्यसमाथि हिजो एमाले महासचिव माधवकुमार नेपालले ' सडकबाट खबरदारी गरिरहनुपर्छ, नभए षडयन्त्र हुनसक्छ ' भनेर भने। एमालेले वक्तव्य जारी गरेर प्रस्ताव संसदमा प्रस्तुत गर्न ढिला भएकोमा चिन्ता व्यक्त गर्दै छिटो प्रस्तुत गर्न सम्बन्धित पक्षलाई आग्रह गर्यो- मानौं , एमाले सात दलको घटक नै हैन र सरकारमा उपप्रधानमन्त्री पनि अर्कै पार्टीको छ।
स्थिति तनावग्रस्त बन्न नदिन देउवाको " मैले त्यसो भनेकै हैन" भन्ने वक्तव्यको बारम्बार एफएम र टिभीले बजाइरह्यो। गृहमन्त्री कृष्ण सिटौलाले ' स्थिति नियन्त्रणमा नआए बल प्रयोग गर्ने' भनी स्थितिलाई झन् भडकिन सक्ने खालको ' चेतावनी ' दिए। तर धन्न देशका प्रभावशाली सञ्चारमाध्यमहरुले त्यो कुराको प्रचार गरेनन्। सात दलबीच कुनै त्यस्तो विवाद छैन भनी गृहमन्त्रीले भने पनि विवाद नभएको भए किन त्यसरी हिजै पेश हुने निश्चित भइसकेको घोषणापत्रसम्बन्धी प्रस्ताव पेश नभएको भन्ने चाहिँ खुलाउन सकेनन्। सेना अहिले पनि संसदको मातहतमा नै छ भनेर उनले दावी गरे। त्यो त रायमाझी आयोगको सिफारिशबमोजिम चौथो सुरक्षाप्रमुखलाई पनि निलम्बन गर्न नसकेको स्थितिले नै देखाउँछ नि कसको मातहतमा छ भनी।
रातभर जागै रहेर बिहानतिर यसो आँखा लाग्दा पनि राम्रोसँग निद्रा नपरेकोले बिसञ्चो महसूस भइरहेको थियो। १२ बजेतिर बाहिर जुलुस देखेँ। मैले त्यो जुलुसलाई राम्रोसँग नियालिरहेको थिएँ। हेरिरहेको थिएँ- स्थानीय मानिसहरु थिएनन् त्यहाँ। ५०-६० जनाको भीड मात्रै थियो त्यो। नारा लगाइरहेका थिए। त्यो भीड त्यति अराजक थिएन। गाडी र मोटरसाइकलहरुलाई जान नदिइए पनि एम्बुलेन्स र प्रहरीको गाडी आउँदा बाटो छाड्ने गरिरहेका थिए। प्रहरी नै भने त्यता थिएन।
तर कलंकीतिर भने युएनको मानवअधिकार आयोगको गाडीलाई समेत हानेछन् रे भनेर एक जना साथीले सुनाउँदै थियो। अझ टेकुतिर एउटा स्कूले विद्यार्थीहरु बोकेर गुडेको बसलाई समेत रोकेर सुरुमा फर्काएछन् अनि त्यसपछि अराजक भीडले गाडीको झ्याल र विभिन्न ठाउँमा लात्ताले , मुक्काले हिर्काउँदै सबै विद्यार्थीहरुलाई झार्न लगाएको कुरा एक जना प्रत्यक्षदर्शीले मलाई सुनाए।
म अपराह्न ४ बजेतिर बाहिर निस्केको थिएँ। कालिमाटी चोकमा ट्राफिकले सडकमा राख्ने बोर्डहरु राखेर बाटो रोकिरहेका थिए। केही मानिसहरु थिए त्यहाँ। अनि टायर पनि जलाइएको थियो। गाडीहरु त आएकै थिएनन् , मोटरसाइकललाई पनि जान दिएका थिएनन्। बल्खुतिर जाने बाटोमा बसहरु बाटो छेकिने गरी तेर्स्याएर राखिएका थिए।
महेन्द्रको शालिक भएको ठाउँमा चार पाँच जना सैनिक थिए। आजमात्र त्यहाँ भएको हैन , धेरै पहिलेदेखि नै हो त्यो शालिकको सुरक्षार्थ सैनिकहरु बस्न थालेको। त्यहाँबाट टंकेश्वर र टेकुतिर जाने दुवै बाटोमा पनि अवरोध गरिएका थिए। टेकुतिर जाने ठाउँमा सुरुमा एउटा बस , अलि पछाडि ट्रक ठाउँ-ठाउँमा सडक अवरुध्द हुने गरी बाटोमा तेर्स्याएर राखिएका थिए। त्यसो गर्न लाउने भीड भने त्यहाँ थिएन। बिस्तारै गाडी चालकहरु तेर्स्याएर राखिएका गाडीलाई साइड लगाउँदै थिए। बल्ल एक ट्रक प्रहरी त्यहाँ आयो र केही प्रहरी त्यहाँ झरे। विष्णुमति नदीको छेउमा निकै ट्याक्सी , बस थिए। शायद अघिको उत्तेजक अराजक भीडको तोडफोडबाट बच्न होला , उनीहरु त्यता लागेका।
विष्णुमति नदीमाथिको पुल तरेर अलि माथि जाँदा टेकुमा बाटो नै छेकिने गरी दनदन टायरको आगो बलिरहेको थियो। प्रहरीका एक जवान त्यसलाई आफ्नो लाठीले बढारेर निभाउन खोज्दै थियो। अलि माथि जाँदा बाटोभरी ढुंगैढुंगा देखियो।
ठाउँठाउँमा टायर जलाइएका कारण बाटो कालो थियो। त्यस्तो बाटोबाट हिँडिरहँदा मलाई लागिरहेको थियो- फेरि के भएको यो ? देशको स्थिति फेरि सम्हालिन नसकिने गरी बिग्रने त हैन भनी मलाई चिन्ता लागिरहेको थियो। थापाथली चोकमा पुगेपछि संस्थानको गाडी ध्वस्त हुने गरी जलाइएको देख्दा झन् दुःख लाग्यो। भीड भनेको भेडा जस्तै हुन्छ। बिना कसैको नेतृत्व , बिना कसैको आह्वानमा निस्किएको यस्तो भीडले जे पनि गर्नसक्छ। अहिलेको स्थिति नै यस्तो छ कि प्रहरीले यसलाई नियन्त्रण गर्न गार्हो पर्छ। प्रहरीको उपस्थितिले झन् बढी भीड भडकिन सक्छ। जनआन्दोलनका बेला गरिएको दमन सबैको स्मरणमा हुन्छ। प्रहरीले अलिकति बल प्रयोग गर्यो भने झन् स्थिति अराजक बन्न सक्छ। हुनत भीड आफैले सम्झनु पर्ने हो- अबको प्रहरी जनताको सरकारको मातहतको प्रहरी हो , जलाइएका सम्पति हामीले नै तिरेको करबाट किनिएका हाम्रै सम्पति हुन्। त्यतिबेला पो राजाको सरकार भन्दै जे सरकारी देखे पनि रिस उठ्ने। अहिले त देश पनि हाम्रै हो। सरकार पनि हाम्रै हो। नेताहरु खराब निस्किए भने उनीहरुलाई खबरदारी पो गर्नुपर्छ। जो नेता खराब हो , उसकहाँ गएर स्पष्टिकरण पो माग्नुपर्छ त। फेरि प्रदीप नेपाल भन्ठानेर प्रदीप ज्ञवालीलाई कुट्ने दिन आउनु हुँदैन। र , आजको जस्तो आफ्नै सम्पत्ति नष्ट गरेर नेतालाई खबरदारी गर्ने काम त झन् कहिले पनि नहोस्।
बाटो हिँड्दै गर्दा म मनमा कुरा खेलाउँदै थिएँ- ०४६ सालको आन्दोलनपछि टेलिफोन बुथ तोडफोड गरेर सरकारसितको रिस फेर्ने व्यवहार अहिलेसम्म नफेरेकै हो त ? खै कहाँ गए अरु नेताहरु, जसले शान्तिपूर्ण जनआन्दोलनको जस लिन तँछाड मछाड गरेका थिए। किन उनीहरुले यो भीडलाई अराजक बन्नबाट रोक्न सकेनन् ?
माइतिघरको मण्डलामा गैरसरकारी संस्था महासंघ र दलित गैर सरकारी संस्था महासंघले कार्यक्रम गर्न लागेको रहेछ। उनीहरु धोका दिन पाइँदैन जस्ता नारा लगाउँदै सिंहदरबारतिर गए। उनीहरुले विभिन्न प्लेकार्ड बोकेका थिए।
सिंहदरबारको मूल गेटबाहिर टन्नै जनपद प्रहरी तैनाथ थिए। मूल गेट बन्द थियो। एउटा दमकल पनि राखिएको थियो। त्यहाँ बाहिर बसेर उनीहरुले नारा लगाए। म पृथ्वीनारायण शाहको शालिक भएको ठाउँमा हेर्दै थिएँ। त्यहाँ अस्ति नै पहेँलो इनामेलले लेखिएका गणतन्त्र र राजाविरोधी चर्का नारा मेटिसकेका रहेछन्। पानी परेकोले मेटेको हो कि , मेटाइएको हो- थाहा भएन। खै को हो- निधारमा माअोवादी , एमाले, काँग्रेस , जनता भनेर लेखेको हुँदैन, एक समूह त्यहाँ थियो। शालिक माथि हेरेर यहाँबाट चढेर जानु पर्छ जस्तो छ भन्दै थिए। त्यति ध्यान दिएको थिइनँ मैले। तर घर फर्किसकेपछि राति त्यही शालिकको श्रीपेच र तरवार भीडले फ्याँक्यो भन्ने खबर सुनेँ।
दुई चार जना साथीहरुसित कुराकानी भयो। एक जना साथीले उसको साथीले माअोवादीको एक जना धादिङको कमाण्डरलाई भेटेँ यार भनेर सुनाउँदै थियो रे कलंकीमा। ती साथीहरु जुलुसका सबै माअोवादी हुन् भनेर आशंका गर्दै थिए।
घर फर्कने क्रममा कालिमाटी तरकारी बजारको ठीक अगाडि एउटा रातो तुलमा काठमाडौं विशेष ब्युरो हो कि त्यस्तै के हो अनि नेकपा ( माअोवादी) लेखिएको ब्यानर टाँगिएको रहेछ। त्यसमा सर्वपक्षीय राजनीतिक सम्मेलन , अन्तरिम विधान र अन्तरिम सरकार... त्यस्तै केही नारा लेखिएका थिए। अँध्यारो भएकोले मैले अरु त ध्यान दिइनँ। नेकपा ( माअोवादी ) लेखिएको कुरालाई भने हो कि हैन भनेर ध्यान दिएर निकै बेरसम्म हेरेको थिएँ। माअोवादीले यस्तो खुला तुल राखेको मैले धेरै भइसक्यो देखेको थिइनँ।
त्यही ठाउँमा अघि बार तेर्स्याएर बाटो छेक्ने र टायर जलाउने काम भएको थियो र अहिले त्यही ठाउँमा माअोवादीको त्यस्तो ब्यानर देखेपछि अघिका साथीहरुले ' जुलुसका सबै माअोवादी' भनेको हो कि क्याहो जस्तो लाग्यो। माअोवादीको त्यो ब्यानर अरुले त ल्याएर टाँग्दैन होला।
तर कम्प्युटर खोल्दा माअोवादीको उपत्यका ब्युरो कार्यालयका प्रभाकिरणको नाममा वक्तव्य आइरहेको रहेछ। त्यसमा हामीले त्यस्तो तोडफोड आगजनी गरेका छैनौं भनिएको रहेछ। सेना , पुलिसले धमिलो पानीमा माछा मार्न छद्म भेषमा हामीहरुलाई बदनाम गर्न आजको तोडफोड र आगजनी गराएको भन्दै घोर भत्सर्ना गरिएको रहेछ। त्यसमा आज सडक संघर्षको कुनै पनि कार्यक्रम नभएको पनि दावी गरिएको रहेछ।
खै अब कुरा के हो , उनीहरु नै जानुन्। शान्तिपूर्ण रुपमा लाखौं जनता सडकमा उत्रेर जनआन्दोलन भाग दुईलाई सफल बनाउँदा दलहरुले पनि हाम्रै नेतृत्वमा , माअोवादीले पनि हाम्रै नेतृत्वमा भनेका थिए। खासमा कसैको नेतृत्वमा नभई जनता आफै अन्याय अत्याचार र अशान्ति सहन नसकेर स्वस्फूर्त रुपमा शान्तिका लागि उत्रेका हुन्। जे भए पनि सडकमा त्यसरी राष्ट्रिय सम्पति नाश गराउने कार्य अब हुन दिनु भएन। हामीले गरेका हैनौं भनेर भन्ने हैन , गर्नेलाई, गर्न खोज्नेलाई रोक्नुपर्यो। दलका नेताहरु कहाँ हराए ? बुढा नेता भनेको हैन , युवा नेताहरु कहाँ गए ? उनीहरुले पनि अहिलेको संक्रमणकालीन स्थितिमा नेताहरुलाई खबरदारी गर्ने मात्र हैन , सडकमा भीड अराजक बन्न नदिन पहल गर्नुपर्यो। नत्र यसले अरु कसैलाई हैन , हामीलाई मात्रै बेफाइदा गर्नेछ। अनि खुच्चिङ गर्नेछन्, अहिलेलाई टाउको लुकाएर बसेका गोमन साँपहरुले।
=====================================================