:: Blog Home       :: cheli ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW cheli's BLOGS
:: यो कथाको अन्त्य छैन - २
:: नेपालीको राष्ट्रिय खाना
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
यो कथाको अन्त्य छैन - २ [cheli's blog]
Blog Type:: Blog
Wednesday, March 26, 2008 | [fix unicode]
 

उहाँ टेलिकमको इन्जिनियर, म हस्पिटलकी नर्स । व्यावसायिक रुपमा हामी बिल्कुलै भिन्न छौं । हिजोआज त झन् उहाँ टेलिकमको शेयरका कुरामा लाग्नु भा'छ । "शेयर" एउटा यस्तो विषय, जुन मैले चाहेर पनि कहिले बुझ्न सकिन । यस्तो कम्प्लेक्स फिल्डमा पनि मान्छेहरु कसरी काम गर्लान् भन्ने उत्सुकता भने म मा पहिले पनि थियो, अहिले पनि छ ।

पहिले पहिले मेरो अगाडि शेयर किनबेचका कुरा हुँदा, त्यहाँबाट उठेर अर्कातिर हिंड्नु नै ठिक लाग्थ्यो मलाई, आफूले नबुझ्ने विषयमा दिमाग खपाउनु मात्र, समयको बर्बादी भन्ने ठानेर, तर अहिले.... !! शायद यही नै हो माया भनेको, उहाँले शेयरकै कुरा गरेपनि म सुनीरहनसक्छु र बुझ्नपनि खोज्छु! थाह छ, उहाँलाई पनि म यी सब कुरा बुझ्दिन भन्ने तर पनि सबै कुरा भन्नुहुन्छ मलाई, अनि उहाँको यो बानी मलाई असाध्यै मनपर्छ ।

अस्ति उहाँले बोल्दा बोल्दै निदाएँछु म, भोलिपल्ट बिहान साह्रै नराम्रो लाग्यो मलाई । " आखिर म उहाँका हरेक सुखदु:खमा साथ दिन्छु भनेर नै उहाँको जिन्दगीमा आएकी हुँ, अर्धाङ्गिनि बनेर, उहाँका तनावका कुराहरु सुनेर तिनमा मलम लगाउन सके पो केही राहत हुन्थ्यो उहाँलाई" उहाँका कुरा बुझ्ननसक्नु को आफ्नो लाचारीमाथि साह्रै रिस उठ्यो मलाई । त्यसैले फेरि सोधें " साँचि हिजो त्यो शेयर को हिसाब के के भन्दै हुनुहुन्थ्यो नि?" । उहाँ मुसुक्क हाँस्नुभो, अनि कुनै झर्को नमानी फेरि सबै कुरा भन्नुभो । उहाँका कुरा मा आफ्नो राय दिन मन नलागेको होइन मलाई, तर खै के राय दिने । तरकारी केलाइकुलाइ गरेर भान्छाको चाँजोपाँजो मिलाउँदै थिएँ म , अफ सिजन भएकोले होला, काउलीमा धेरै किरा परेको थियो,
"हेर्नु त यो काउलिको किरा ,किरा भएको काउलिलाई पनि यति महँगो लिएछ मोरोले!!!!!!!!!" तरकारी पसलेसँग रिसाउँदै भनें मैले ।
खै के सोचेर हो, माया नै माया भरिएका आफ्ना सुन्दर आँखाहरुले मलाई हेरिरहनुभएको थियो उहाँ ।

"के हेर्नुभएको नि फेरि?"

"काउलिको किरा !"

"मेरो अनुहार मा छ त? उ त्यहाँ हेर्नुस त भुईँमा त्यहाँ पो छ त ।" हाँस्दै भनें मैले । उहाँपनि हाँस्नु भो । उहाँको यही मुस्काननै थियो मैले खोजेको । सोच्दा पनि अचम्म लाग्छ मलाई, वर्षदिन अघि सम्म, कहिले नदेखेको, नामै नसुनेको मान्छेको मुहारमा एक मुस्कान ल्याउन, जे पनि गर्न तयार छु म आज ।

मेरो अफिस (हस्पिटल नै भए पनि, कार्यक्षेत्रलाई अफिस नै भनिंदो रैछ) मा एकदुइजना सहकर्मीहरु शेयरको खुब कुरा गर्थे, "आज भने उनीहरुसँगै बुझेर भएपनि धेरै कुरा थाहपाउँछु," शेयरका बारेमा बुझिछाड्न प्रतिबद्ब भएँ म !

अफिस पुगेपछि सहकर्मीहरु माझ कुरा उठाएँ शेयरको, छक्क परे उनीहरुपनि, मैले त्यो सब सोधेको देखेर, तर जति जाने बताइदिए !! "आज भने म पनि शेयरको कुरा मा कुरा थपेर उहाँलाई मख्ख पार्छु म" उहाँको हँसिलो मुहार सम्झँदैमा पुलकित भएँ म!


-----------------------------------------------

"शेयर पुरै बिक्रि भएनछ नि ,टेलकम को !"घर भित्र छिर्ने बित्तिकै उहाँले भन्नुभो ।

"साधारण मान्छेको लागि त अचाक्लि नै बायस्ड भएर बनाएको थियो अरे नि त रुल्सहरु होईन ?" बुझी नबुझी सुनेका कुरा मैले नि भनी हालें ।


"कस्ले भन्यो र तिमीलाई ?"

"अफिसमाँ यस्तै कुरा भइराखेको थियो ।मैले पनि एकछिन सुनेकी थिएँ"

"सब वाहियात हो बुझ्यौ?तिम्रा अफिसका त मान्छे नै काम नलाग्ने छन् ,तिनीहरुलाई कर्मचारिलाई दिइने सुविधा के हो के थाहा?"

"टेलकम चलेको पनि त हामी जस्ताले फोन चलाइदिएर त हो नि ,फेरि अर्को कम्पिटेटर मार्केटमाँ आयो भने टेलकम डुब्न के बेर ?" मेरो अफिसलाई गाली गरेको सुने पछि कता कता झोंक चल्यो मलाई पनि !!


"यो पनि अफिसमैँ सुनेकि त हौलि नि ?" रिसले, तनावले रातो भएको उहाँको मुहार देखें मैले। "हेत्तेरिका, चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनें झैं भयो मलाई !! थोरै कुरा मात्र बुझेर, त्यसरी भन्नु नहुने हो मैले, बेकारमा तनावमा भाको मान्छेलाई झन् ...." आफैं देखि दिक्कलाग्यो मलाई । अनि कुरो अघि बढ्न नदिइ, चुप लागेर बसें ।


--------------------------------------------------------------------------

"सुन्नुहोस न , पेट्रोल को लाईन बस्नुभो?"खाना खाइसकेपछि अब त रिस साम्य भो होला भनेर सोधें मैले ।


"कहाँ ,अफिसबाट कसरि भ्याउने ?" झर्किँदै भन्नु भो!


"हाम्रो अफिसमाँ कोटामा मागेका रहेछन ,मैले पनि मेरो स्कुटरलाई भनेर माँगेकी छु ,तँपाईलाई चाहिन्छ भने!" मेरो त गौरिघाटबाट चाबेल नै हो पुग्नु पर्ने, हिंडेरैपनि जान सक्छु, तर उहाँको पुल्चोकसम्म जानुपर्छ, पेट्रोलको जरुरत मलाई भन्दा उहाँलाई छ, अरु दुनियाँ थरि तनावलाई कम गराउनमा केही गर्न नसकेपनि, यस कुरा मा त सहयोग गर्न सक्छु, भन्ने सोचेरै मैले यसो भनेकी थिएँ ।


"पर्दैन । चाहिएको छैन तिम्रो अफिसले देको ,तिम्रो अफिसको कुरै नगर ।" मेरै अफिसले उहाँलाई सारा टेन्सनहरु दिएको जस्तै गरेर भन्नु भो, उहाँले !! मलाई साह्रै नराम्रो लाग्यो, रिसपनि उठ्यो । आफ्नु रिसलाई मन भित्रै थुनेर, गरम बनिरहेको परिस्थितीलाई अझ गरम नबनाउन मैले राम्रै सित जानेकीछु, त्यसैले चुप लागेर बसें ।


भान्छाका सुसे धन्दा सकेर कोठामा पुग्दा उहाँ सुतिसक्नु भएको रहेछ । मलाई निकै नराम्रो लागि रहेको थियो, अर्कोपट्टि फर्केर ढल्किएँ म ओच्छ्यानमा, कति बेर सम्म निद्रा पनि लागेन, फेरि राम्रो सित कुरा गरेर फकाउनु पर्यो भनेर उहाँ पट्टि फर्किएं म । मस्त निदाइसक्नु भएको रैछ, निद्रामा मस्त भएको त्यो निर्दोष मुहार देखे पछि मेरो त सबै रिस त्यही बेला मर्यो । भोली बिहान कुरा गरुंला भन्ने सोचेर सुतें म पनि !

------------------------------------------------------------------------

राति सुत्न ढिलो भएको भएर होला, म उठ्दा त सात बजी सकेछ । सवा सातमा अफिस पुग्नु पर्ने थियो । चिया सिया बनाउन पनि भ्याइन, सुतेको मान्छेलाई उठाएर मैले चियापनि बनाउन भ्याइन भन्न पनि मनलागेन, उसै त रिसाइरहेको बेलामा!! पछि फोन गरेर कुरा गर्नु पर्ला भन्ने सोचेर, हतार हतार अफिसतिर लागें ।

उहाँ रिसाएकै कारणले होला शायद, मेरो मन पनि हाँसिरहेको थिएन । अझ राम्रो कुरा भन्दापनि रिसाएको देखेर मेरो चित्त साह्रै दुखेको थियो । त्यहीपनि कुनै पनि सम्बन्धमा एउटा आगो हुँदा अर्कोले पानी बन्न त जान्नै पर्छ, नत्र यी नाजुक सम्बन्धहरु मजबुत बनाउँदै लान नै कहाँ सकिन्छ र !!

अब त उठ्नुभो होला भन्ने सोचेर फोन गरें, पुरै रिङ्ग गइसकेपछि पनि उठाउनु भएन । उठ्नु भाकै छैन कि, अझै पनि रिस मरेको छैन, मैले केही भेउ पाउनै सकिन । हातगोडा फतक्क गले जस्ता भए ।

"अब आइन्दा आफूले नबुझेका विषय मा जान्ने भएर कहिले पनि बोल्दिन" सम्पूर्ण दोष आफैंमा खन्याएँ मैले । काममा पटक्कै जाँगर थिएन, किन किन, म उहाँलाई एकदम मिस गरिरहेकी थिएँ ।कति पल्ट उहाँको नम्बर डाइल गर्न खोजें, तर फेरि अझ रिसाउनु होला जस्तो लागेर, आँटै आएन ।

" मैले अघि फोन गरेको त पक्कै थाहपाउनु भो, कलब्याक नि नगर्ने " म भुट्भुटिइ रहेकी थिएँ, छट्पटिइ रहेकी थिएँ । काठमाडौंको अनियन्त्रित ट्राफिक, अनि हस्पिटलमा दिनहुँ देखिने एक्सिडेन्टका नयाँ नयाँ केसले गर्दा मलाई साह्रै डर लागिरहन्थ्यो ।मोबाइल छ र त , यस्तो हुन्छ, नभा भए म के गर्थें होला !!


" अफिस पुग्नु भो होला अहिले सम्म मा त, कमसे कम आइपुगें भनेर फोन गरे पनि ढुक्क त हुन्थ्यो । कस्तो छुच्चो मान्छे........"


उहाँकै बारेमा सोच्दै थिएँ फोनको घन्टी बज्यो । मेरो हर्षको कुनै सिमा रहेन ।

"सुन न तिमीले कल गरेकी रहिछ्यौ नि?"

उहाँको बोलीमा कुनै रिस थिएन, नरम स्वरमा बोल्नु भएको थियो उहाँ, मलाई फकाउन खोजे जस्तै गरी ।

फोन राखेपछि मलाई ढुक्क भयो, नयाँ स्फुर्ती शरीर भरी आए जस्तै भयो । काममा पनि जाँगर लाग्यो, अनि उहाँको एक फोनकल पछि म फेरि हिजोअस्तिकै सुधा भएँ । कति शक्ति हुँदोरहेछ मायामा एकैछिनमा मान्छेलाई बदल्दिन सक्ने !


बेलुका घर जाँदा गौरिघाट चोकमा तरकारि किन्दै थिएँ । अचानक एउटा विचार आयो । सोचें आज म उहाँलाई मीठो लाग्ने, कुखुराको मासु, रहडको दाल, टिम्मुर हालेको टमाटरको अचार र भात पकाउँछु, उहाँ पक्कै खुशी हुनुहुनेछ ।

   [ posted by cheli @ 09:23 AM ] | Viewed: 2274 times [ Feedback]


:

   
नेपालीको राष्ट्रिय खाना [cheli's blog]
Blog Type:: Blog
Friday, March 07, 2008 | [fix unicode]
 

( यस व्यंग्य कथाका सम्पूर्ण घटना तथा पात्रहरु पूर्णतया काल्पनिक हुन्)


"नेपालीको होमवर्क गर्नु छ, निबन्ध लेख्नु छ, सिकाइदे न है " मेरो कोठा भित्र छिर्दै भन्यो भाइले । "हुन्छ, ल बस् शिर्षक के हो?" आफूले पढ्दै गरेको किताब छेउ लाउँदै भनें मैले । "
"नेपालीको राष्ट्रिय खाना - चाउचाउ"
"के jpt भन्छ, नेपालको राष्ट्रिय खाना चाउचाउ नै होइन, तँलाई त्यति पनि थाह छैन?"
" अँ होइन होला खुबै, हाम्रो म्यामले त भन्नु भाको नेपालको राष्ट्रिय खाना चाउचाउ भनेर!"
" नेपालको राष्ट्रिय खाना ढिंडो र गुन्द्रुक हो, को म्याम को जे पायो त्यही सिकाउने ?"
"नकरा, आउँदैन भने आउँदैन भन् न, हाम्रो डली म्याम जान्ने कि तँ जान्ने? तँ साइन्स पढ्ने मान्छेलाई के थाह यस्तो कुरा !!! "
यसो भनेर उसले म प्रतिको अविश्वास आनि उसकी शिक्षिका प्रतिको गहिरो विश्वास देखायो । रिसले मुर्मुरिंदै मैले भने -" सब्जेक्ट को के कुरा, त्यति नि थाह हुँदैन कि क्याहो, आफ्नै देशको बारे मा?"
"भो भो। देशको खुब माया लागेर त वर्षैपिच्छे डि भी भर्छेस् !!"
अब चाहिं अति गर्यो उसले, एक झापड कस्न मनलागेको थियो तर कसिन ! दिउँसो उसको स्कुल गएर, जे पायो त्यही पढाउने म्यामकै झाँको झार्छु बरु भन्ने सोचेर म मेरो कोठाबाट निस्किएँ ।
"Excuse me! म डली म्यामलाई भेट्न आएकी, उहाँको विध्यार्थिकी दिदी हुँ ।" पाँचतारे होटलको जस्तो लाग्ने रिसेप्सनमा बसेकी सुन्दर रिसेप्सनिस्टलाई भनें मैले । " हजुर बस्दै गर्नुस म उहाँलाई बोलाइदिन्छु" उनले भनिन् ।
एकछिन पछि एकजना मोटी मोटी, चिम्रा आँखा गरेकी, बोइज् कट कपाल भएकी महिला त्यहाँ आइन् । तिनै रहिछन् डली म्याम । मैले जुरुक्क उठेर हात जोड्दै भनें " नमस्कार ! मेरो भाइ आरोग्य यहाँ Class eight मा पढ्छ ।"
"ओह! तपाईं आरोग्यको दिदी, he is my best student! Teachers' day ma पनि उसले कस्तो राम्रो राम्रो gift दिन्छ नि हौ , teachers लाई तेस्तो respect गर्ने student कहाँ पाइन्छ र आजभोलि , by the way, तपाईं चैं के गर्छ ?"
गुरुको उच्च ओहदामा बसेरपनि गुरु होइन केवल शिक्षिका बन्न सकेकी, नेपाली पढाउने शिक्षिकाको, नेपाली भाषा र मेरो भाइ उनको best student हुनाको कारण सुनेर म तिनछक्क परें ।
"हजुर, मेरो अहिले १२ को जाँच भर्खर सकिएको छ । खास आज हजुरलाई भेट्न आउनुको कारण चाहिं, हजुरले मेरो भाइहरुलाई, नेपालको राष्ट्रिय खाना चाउचाउ हो भनेर पढाउनु भएछ, नेपालको राष्ट्रिय खाना चाउचाउ होइन ढिंडो र गुन्द्रुक हो भन्ने कुरा त म्याडम लाई नि थाहै होला......"
"आम्मै !! गुन्द्रुक त सुन्या हो, but what is डिन्डो ? नेपालको national food चाउचाउ हि भनेर मलाई, मेरो Husband यो स्कुल को प्रिन्सिपल, मिस्टर आर.पी. ले सिकाउनु भाको । and I am sure, Chow chow is the national food of Nepal, yes!" वाक्यको अन्त्यमा "yes" ल्याइन उनले पनि, यो बानी मैले अरु शिक्षकहरु मा पनि देखेकी थिएँ तर नेपाली पढाउने शिक्षिकामा पहिलो पटक देखें । शायद प्रिन्सिपलकी श्रीमती भएकी हुनाले अरु केही पढाउने क्षमता नभएपछि, सबै भन्दा हेपिएको विषय "नेपाली" पढाउन पाएकी होलिन् उनले !
"हुन्छ त त्यसोभए म सरसँगै कुरा गर्छु ।" मैले शान्त हुँदै भनें ।
"OK fine" हल्का रिसाउँदै भनिन् उनले ।
मैले भनेपछि रिसेप्सनिस्टले प्रिन्सिपललाई फोन गरिन् , उनिसँग अहिले नै भेट्न सकिने जानकारी पाएपछि म उनका कोठातिर लागें । बाहिर निस्किंदै गर्दा मैले सुनें " आफूले जान्दै नजानेको Subject मा नि complain गर्न आउने, कस्तो कस्तो मान्छे हौ " शायद डलीले रिसेप्सनिस्टलाई भन्दै थिइन् ।
"Excuse me Sir, May I come in?" प्रिन्सिपलको कोठाको ढोकामा पुगेर भनें मैले । "
"Yes Please! And Be Seated! के कति कामले पाल्नुभो ।"
"मेरो भाइ आरोग्य हजुरको स्कुलमा Class Eight मा पढ्छ " नमस्कार गर्दै भनें मैले ।
" ए !! आरोग्य is a good student, Disciplined छ, अनि पढ्नमा पनि मिहिनेती छ " नमस्कार फर्काउँदै भने उनले ।
"खास कुरा के भने सर, डली म्यामले मेरो भाइको क्लासमा नेपालको राष्ट्रिय खाना चाउचाउ भनेर सिकाउनु भएछ, यस विषयमा उहाँ सँग कुरा गर्दा, हजुरले भनेको भन्नु भो, मैले त कुरै बुझ्न सकिन "
मैले यति भनि सक्न नपाई, कोठामा प्रिन्सिपलको अट्टहास गुन्जियो ।
" हा हा हा, तपाईं नेपालको राष्ट्रिय खाना ढिंडो त गुन्द्रुक पो हो भन्न खोज्नु भा होला होइन ? मलाई यति भन्नुस, अहिले नेपालमा ढिंडो कसले खान्छ ? अनि चाउचाउ नखाने को छ? राष्ट्रिय खाना भनेको त्यो हुनुपर्छ जुन् राष्ट्रमा सबैले खान्छन् अनि रुचाउँछन् पनि ! नेपालमा बच्चा देखि बुढासम्म, राजा देखि रङ्क सम्म सबैले खाने खाजा, खाना जे पनि चाउचाउ त हो, त्यसैले हामी प्रिन्सिपल्सको एउटा टिम मिलेर, चाउचाउलाई नेपालको राष्ट्रिय खाना घोषणा गरियोस् भनेर एउटा निवेदन दिएका छौं, त्यो छिटै आउँछ, मिडियामा ....."
झनै छक्क परें म । हुँदा हुँदा निवेदन नि दिइसकेका रे !! सोर्स फोर्स पुर्याए भने त पारित हुन नि बेर छैन, हाम्रो देशको सरकार त हो, त्यहाँ भन्ने केही कुरा पाइन मैले "हस् त सर त्यसो भए अहिले म जान्छु" यतिमात्र भनें आनि उठेर हिंडें ।
स्कुलको लञ्च ब्रेक भएको रहेछ त्यतिखेर, जाडो को बेला भएकोले होला, शिक्षक- विध्यार्थी सबै आफ्नो आफ्नो ग्रुपमा, घाम ताप्दै खाइरहेका थिए!
"Friends! मलाई चाउचाउमा खसी पर्यो...." खुशी ले गद् गद् हुँदै एकजना शिक्षक चिच्याए ! सबैजना उनलाई बधाई दिन थाले! म भनें भरे भाइलाई के जवाफ दिने भन्ने सोच्दै घरतिर लागें ।

   [ posted by cheli @ 01:52 PM ] | Viewed: 2343 times [ Feedback] (2 Comments)


: