:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Tuesday, July 15, 2008 | [fix unicode]
 

कोहि कोहि मानिसहरु निद्रामा हिंड्छन् भन्ने सुनेको हो तर मैले कहिले पनि प्रतक्ष्य आफ्नै आँखाले देखेको छैन। हिजो बेलुकीको मिस "००३" बाहेक। अनि निद्रामा हिंड्नेहरु बर्बराँउछन् भन्ने कुरा पनि मलाइ थाहा छैन। म जस्तो सोझो मान्छेलाइ जे भनिदिए पनि भयो नि। "अपरेसन ००३" त झन कतै न ठोकीइ, न लडी सुरक्षित रुपमा होटेल फर्केकी थी। म न निद्रामा हिंडेको मान्छे चाहिँ दश ठाँउमा हन्डर खाँदै लडेको थें। उसको कुरा नपत्याउनलाइ म सङ केहि आधार पनि थिएन। बरु हिजो त्यहि बेला उ सङ कुरा गर्नु पर्ने रैछ जस्तो लाग्यो अहिले। आज राति चाहि मैले रिसेप्सनमा ताल्चा लाइराख्नु र उ जबर्जस्ति बाहिर जान खोजि भनी मलाइ बोलाउनु भने। "च" सङ अझै मेरो फोन सम्पर्क हुन सकेन।
अर्को रात "अपरेसन ००३" बाहिर निस्किन। कुनि किन हो उसैलाइ थाहा होला। अर्को दिन पनि तालिम सफलता पुर्बक सकाइ। साँझमा फेरि बजार घुम्न गइ सासासङ। कुन्नि के के किनि रे? उसको रङूनको साथीहरुलाइ भनेर। म चाँही उनिहरुसङ गइन। "च" सङ फोन सम्पर्क गर्ने कोशिशमा समय त्यतिकै बित्यो। रितुले कहाँ कहाँ फोन गरी भनेर होटेलबाट पत्ता लगाएं। उसले एक कल बैंककमा गरेकी थी र अर्को चाहि उसको देशमा। भोलि पल्ट हाम्रो यात्रा १० घन्टाको थियो। अस्ति जुन बाटो आइयो त्यही बाटो फर्किनु पर्ने। त्यहि भएर हामी बिचमा एक रात बस्नु पर्ने भयो। "म्यो म्यो" भन्ने सहरमा बस्ने निर्णय गरियो। यो शहरमा दोस्रो बिस्व युद्ध ताका आएका गोर्खालीको सन्तानहरु ब्यापार र अन्य पेशा अपनाएर बसेका छन्। ब्रिटिश राजको बेलामा यो प्रख्यात "हिल स्टेसन" को रुपमा बिकाश भएको थ्यो। अझै पनि धेरै पर्यटकहरु यो ठाँउमा घुम्न आँउछन्। दोस्रो बिस्व युद्धको बेलामा धेरै सिपाहीहरु मरेको र उनिहरुको भड्किएको आत्मा देखिने कुराहरु पनि स्थानिय मानिसहरु बताँउछन्। बाटोभरी ड्राइबरले त्यस्तै अशान्त आत्माहरु देखिएको कथा सुनाउन थाल्यो। सासा रितुलाइ कथा उल्था गर्न थाली। "००३" को मुहारमा थरि थरि रङहरु देखिन थाले। घरि उ नपत्याएको जस्तो गर्थी, घरि अर्को पनि सुनाउन भन्दै अनुरोध गर्थी। कहिले जिब्रो निकाल्थी, कहिले निधार खुम्चाउथी।
"प्राय चाँही घाइते आत्माहरु राति देखिन्छ रे। उनिहरु हामीलाइ केहि गर्दैनन् रे। तर नजिकै बाट जान्छन्। उनिहरुको अनुहारबाट रगत बगेको धेरैले देखेका छन् रे। शायद घाउमा ब्यान्डेज गर्ने मान्छे खोजेका होलान्।" सासा भन्दै थी।
"म सङ छ ब्यान्डेज। म राति त्यो भुतको घाउ राम्ररी ड्रेस्सिङ गरि दिउँला।" रितु जिस्किन थाली।
"आज राति भएभरको भुत रितुका आउने भयो तेसो भये। मेरो कोठामा आयो भने पनि तिम्रै कोठामा पठाइदिन्छु है?" मैले उसलाइ अरु जिस्काएँ।
"भइ हाल्छ नि। बरु मलाइ एकजनाले "मद्दत" गर्नु पर्छ। उनिहरुलाइ लाइन राख्नु पर्यो, औसधी खोलिदिनु पर्यो, टेप लाइ दिनु पर्यो।" उसले सासालाइ हेर्दै भनी।
"म त सक्दिन तिमीलाइ राति पनि सघाउन।" सासाले गम्भिर भएर भनी।
म्यो म्यो भन्ने सहर आइपुग्दा राति ७ बजेको थ्यो। होटेल खोज्दा अलि अलि अध्याँरो भैसकेको थ्यो। ड्राइबरले अर्को कथा निकाल्यो। सासाले फेरि "००३" लाइ सुनाइ।
"कुनै भुतको अनुहारमा त आँखा, नाक, मुख केहि पनि हुंदैन रे। रोटी जस्तै समतल सतह हुन्छ रे बुझ्यौ?"
"प्लिज सासा ! अब भुतको कुरा नगर। राति हुन लाग्यो। मलाइ डर पनि लाग्न थाल्यो।" उसको अनुहारमा भय देखिन्थ्यो।
होटेल भएको ठाँउ अलि जङल जस्तो थ्यो। रुखहरु बाक्ला बाक्ला। मुख्य रिसेप्सन भएको घर बेग्लै र हामी सुत्ने कोठाहरु चौरको दक्षिण कुनातिर एकान्तमा थ्यो। "००३" को मुखमा डर प्रस्टै देखिन्थ्यो। उ त्यो अग्ला रुखहरुलाइ हेर्दै मलाइ हेर्दै थी। बतास चल्दा "सूँ............" जस्तो आवाज निस्किन्थ्यो। फिलिममा देखाउने साँचिक्कै भुत महल जस्तो। बत्ती गयेको थ्यो। त्यसैले मैनबत्ती बालेको थ्यो हरेक ठाँउमा। राति ९ बजे मात्र बत्ति आउने भनेपछि हामी "ताजा" भएर फेरि त्यहाँको बजार र मन्दिर घुम्न गयौं। खाना खाएर सबै आफ्नो आफ्नो कोठामा सुत्न गयौं।
राति बत्ति त आयो तर मलाइ पनि कस्तो कस्तो लागि रह्यो। निदाउनै सकिन। HBO मा म्याडोना को फिलिम आइरहेको थ्यो। मेरो कोठासङै टांसिएको "अपरेसन ००३" को कोठा थ्यो। उसको कोठाबाट पनि केहि आवाज हरु अैरहेको थ्यो। शायद उ पनि सुत्न सकेकि थिन। घरि टि. बि. को स्वर ठुलो गर्थी घरि बाथरुममा गएर "फ्लश" गरेको आवाज सुनिन्थ्यो। रात चकमन्न थियो र बाहिर कोहि आउन
लागेको जस्तै लाग्थ्यो। मलाइ पनि दिँउसो ड्राइबरले भनेको कुराहरु झल्झल्ती आँखामा आउन लाग्यो। मन चिसो भयो। छाती झन भारी हुन थाल्यो। सकेसम्म आँखा चिम्ले तैपनि निद्रा लागेन। मेरो मन न फिलिममा गएको थ्यो न त प्रतिबेदन लेख्ने काममा। बाहिर कुकुरहरु रुन थाले, मानौं साँचिक्कै हामीले प्रतिक्षा गरेको भुत आँउदैछ। अनुहारबाट तरर रातो रगत बगाँउदै कोहि आँउदैछ। यो कल्पनाले म जुरुक्क उठेर खाटमा बसें। कस्तो नराम्रो कुरा मात्र सोचेको? आफैलाइ भने र सकेसम्म दिमागलाइ अरुतिर मोड्ने प्रयास गर्न थाँले।
"ट्रिङ, ट्रिङ"। एकासी बजेको फोनको घन्टीले मलाइ झस्कायो। सास फुल्न थाल्यो। बिस्तारै उठाएर "हलो" भने।
"मलाइ डर लाग्यो। बाहिर कुकुरहरु रुन थाले, जरुर कोहि आँउदैछ जस्तो लाग्न थाल्यो। प्लिज मिन्जो, यहाँ आउन।" ००३ रुन्चे स्वरमा बोली।
"अघि दिउँसो त घाउ ड्रेसिङ गर्दिन्छु भन्दैथ्यौ त। किन डराउनु पर्यो? तिमीलाइ उनिहरुले "धन्यबाद" दिएर जान्छन्। केहि गर्दैनन्। बरु ब्यान्डेज र ड्रेस्सिङ् सेट चाँहि तयार गरेर राख।" आफुलाइ डर लागेको कुरा लुकाउदैं उसलाइ जिस्काउन थाले।
"अहिले नजिस्काउ न प्लिज। तिम्रो काम भनेको मेरो सुरक्षा पनि हो नि। अब मलाइ भुतबाट पनि बचाउ। मेरो "First Aid Kit"पनि तिमी नैं राख। तर एक चोटि मेरो कोठामा आउ न। मेरो मुटु हल्लिन थाल्यो। सासालाइ बोलाएको उ आँउदिन भनेर फोन राखि दी।" उसको बिन्तीलाइ कसरी नकार्ने। त्यो पनि रातको समयमा मलाइ उसकै कोठामा बोलाँउदैछे। म अलिकति अर्कै आशामा उठे र गएं। उसको कोठामा अर्को एउटा खाट थियो। म जानासाथ मेरो हातमा उसले चिटिक्क परेको First Aid Kit" राखी दी। अनि एकछिन ओहोरदोहोर गर्दै भनी।
"तिमी उ त्यो खाटमा सुत। तर गहिरो निद्रामा नसुत नि। फेरि तिमीले भुत आएको नदेख्लाउ।" उ सरासर आफ्नो खाटमा गएर पल्टी। मैले केहि भन्नै सकिन। एउटी जवान केटी मेरो सामु निर्धक्क सुत्छे, म चांहि कसरी उसलाइ हेरेर निदाउन सक्नु? सुसुप्त अबस्थामा लुकेका रहरहरु फेरि जाग्न थाले। म उसको अनुहार हेर्न चाहन्थे। तर उसले अनुहार अर्कै पट्टी पारेकि थी र उसको ढाड मात्र म तिर थ्यो। हे भगवान! कस्तो धर्मसंकट हो यो? त्यस्तै सोच्दै म पनि पल्टिन थाँले। निद्रा अब झन् के आँउथ्यो। रितु मेरो नजिकै थी, म उसको कोठामा एक्लै। अलिकति आँखा बन्द मात्र गर्न थालेको थें। उ फेरि जुरुक्क उठेर ढोका खोली र मलाइ भनी।
"कस्तो बुद्धी मेरो पनि! तिमी त केटा पो हौ त? तिमी यो ढोका बाहिर बस।" उसले ढोकातिर देखाइ।
"तिमीले मलाइ अहिलेसम्म केटी भन्ठानेको त?" झर्को मान्दै म ढोकाबाहिर निस्के।
"ल कहिं नजाउ नि। यहिँ बस। म बेला बेलामा "मिन्जो" भनेर बोलाँउछु। तिमी "हजुर" भन्नु मलाइ।" उसको आदेश मान्ने बाहेक मेरो केहि उपाए थिएन। मनमनमा चाहि उ चाहि त्यो खाटमा मस्त सुत्ने म चाहि यो चिसो रातमा उसको ढोके किन हुने भन्ने भइराको थ्यो। उसले ढोका लाउना साथ आफ्नै कोठामा गएर सुत्छु भन्ने बिचार थ्यो मेरो।
उसले मलाइ बाहिर राखेर भित्र चुकुल लाइ। म निरिह जस्तो बाहिर अध्यांरोमा रुख पछाडी हेर्न नसकेर बसें। पाँच मिनेट पछि लुसुक्क कोठामा जान खोजेको त "मिन्जो" भनेर बोलाइ, "हजुर" भन्नै पर्यो। होस पागल जस्ती छे, एकछिन मा सुते पछि जानु पर्ला भनेर सकेसम्म आँखालाइ त्यही भुँइमा गाडेर बसें। पर हेर्नै डर लाग्थ्यो। जिउभरी काँडा उम्रिरहेको थ्यो। पात खसे पनि झसङ भइन्थ्यो। फेरि २ चोटि "मिन्जो" भनेर बोलाइ, त्यसपछि चाहि केहि बेर सम्म बोलिन। उ सुती भनेर ढुक्क भए पछि म आफ्नो कोठामा गएँ। यसरी "अपरेसन ००३" ले मलाइ "पाले" पनि बनाइ।
जाबो भुत सङ डराउने "अपरेसन ००३" ले के नै गर्न सक्ली जस्तो लाग्यो। फेरि अस्ति आधारातमा कसरी बाहिर गइ त भन्ने शंका लाग्यो। के उसले भने जस्तै उ त्यो दिन निद्रामा हिंडेकी हो त? होइन भने यस्तो डराउने मान्छे कसरी त्यो अन्जान सहरमा एक्लै हिंड्न सकी। एउटा कुरा थाहा भयो, "००३" म सङ नडराए पनि "भुत" सङ डराँउदी रहेछ।
अर्को दिन बिहानै खाजा खाइसकेर हामी फेरि तेस्रो प्रोजेक्ट साइटको लागि हिंड्यौँ। अरु ६ घन्टा ड्राइब गरेपछि बल्ल तल्ल एयरपोर्ट पुगियो। यता उति गर्दै साँझ आठ बजे हामी "ताचिलेक" भन्ने सहरमा पुग्यौं। प्रोजेक्टको स्टाफले चौथो र पाँचौ साइटमा मौसमको कारण फ्लाइट एक हप्तादेखि अबरुद्ध भएको जानकारी दियो। त्यस्तो स्थितिमा रेलमा जान सम्भव थिएन, बसमा त झनै धेरै समय लाग्ने भयो। बाटोमा आँउदा आँउदै सासा, रितु र मैले ती साइटहरुमा अर्को पल्ट जाने निर्णय गर्यौं। अब यही साइट "००३" को अन्तिम तालिम हुने भयो यसपालिको लागि। लगातार २ दिन यात्रा गरिएकोले भोली एकदिन "आराम" गरेर पर्सि मात्र तालिम शुरु हुने भयो।
भोलिपल्ट पनि 'ताचिलेक' का ठाँउहरु बिदेशीलाइ घुमाउने भनेर प्रोजेक्टका स्टाफले कार्यक्रम बनाए। दिंउसो हामी "गोल्डेन ट्राङल" हेर्न गयौँ। यो ठाँउ बिस्वमा अफिम उत्पादन र तस्करीको लागि प्रख्यात छ। प्रोजेक्टको मेनेजरले सासालाइ, अनि सासाले रितुलाइ भन्दैथी। लाओस, थाइल्यान्ड र म्यान्मारका सीमाको बिचमा परेको यो "गोल्डेन ट्राङल" असाध्यै सुन्दर देखिन्थ्यो। जुन रिसोर्टबाट हामी हेर्दैंथ्यौ, त्यहाँबाट थाइल्यान्डको सीमामा रहेको बुद्धको मन्दिर र केहि जङल देखिएको थ्यो। मन्दिर अलि धेरै झिलिमिलि थ्यो। बाँयापट्टि नदी पारी लाओसका साना साना पहाडहरु देखिन्थे, आधुनिक परिबेशको असर नपरेको अबोध गाँउहरु देखिन्थ्यो। तिनै देशको सीमालाइ छुने "इन्द्राबति" नदी थ्यो, बर्माको भाषामा। "अपरेसन ००३" को मुहारमा अत्यन्तै चमक देखिएको थ्यो। उ खुशी थी। इन्द्राबतिको पानी छोएर आँउछु भनेर "औंला" चोपेर आइ।
"बुझ्यौ, मिन्जो! मैले यो ठाँउ को बारेमा किताबमा मात्र पढेकी थिए। आज त आफ्नै आँखाले हेर्न पाएं। कस्तो रमाइलो ठाँउ। मलाइ यहाँ आउने ठुलो रहर थ्यो।" उ मलाइ हेर्दै मुस्काइ।
"तिमी भाग्यमानी छौ नि त। त्यसैले चिताएको सबै पुग्यो तिम्रो।" मैले अरु खुशी थप्न कोशिस गरें।
"मैले चिताएको सबै कहाँ पुरा हुनु? छ नि कति कुरा बाँकि।" मलाइ हेरेर भनी।
"जस्तै?" मैले सोधें।
"त्यस्तो गोप्य कुरा पनि तिमीलाइ कसरी भन्नु?" उसले कुरा मोड्न थाली।
"किन र मेरो बिस्वास लाग्दैन तिमीलाइ?" मैले अरु कुरा खोतल्न कोशिश गरें।
"के थाहा ? तिमीले मलाइ बिस्वातघात गर्यौ भने?" भन्दै रहस्यमय तरिकाले खित्का छोडेर हाँसी। मेरो मुख रातो भयो। सबै जना उ सङै हाँसी। उसको अभिप्राय अरुले नबुझे पनि मैले बुझेको जस्तो लाग्यो। उ मेरो गतिबिधि बुझि रहेकि थी। के थाहा उस्लाइ मैले उसको निगरानि गरेको कुरा उसलाइ सबै थाहा थ्यो। म चुप लागे। उ सङ कुरा गरेर त्यहाँ लज्जित हुन चाहन्थिन म।
त्यसपछि हामी स्थानिय अस्पताल हेर्न गयौं। त्यहाँको निर्देशक "००३" लाइ बढी नै कुरा बताइ रहेको थ्यो र सबै वार्ड घुमाउदैं थ्यो। एक कोठामा फलामको डन्डी हरुको बार थ्यो र बाहिर बाट ताल्चा लगाइेको थ्यो। भित्र ३ वटा बेडहरु थे। ३ बेडमा नै दुब्ला रोगी जस्ता बिरामी हरु थे। त्यहिभित्र एउटा पातलो पर्दाले घेरेको "चर्पी" थ्यो उनिहरुको लागि। "००३" ले किन उनिहरुलाइ भिन्दै "चर्पी" भनेर सोधी। उनिहरु जेलका "कैदी" हुन् भने पछि उ निकै बेर मौन रही। उसको अनुहारमा प्रश्नहरु एक माथी अर्को आइरहेका थे। र उ थोरै दुखी पनि देखिन्थी।
अस्पताल हेरिसकेपछि सासा र रितु थाइल्यान्ड सङको सीमा हेर्न गये। म होटेलमा फर्किए। च सङ सम्पर्क नभएको केहि दिन भइसकेको थ्यो। धेरै बेर प्रयास गरे उसलाइ फोन गर्ने। लाइन लाग्दै लागेन। दिक्क लागेर म पनि बजार हेर्न गएं। सबै थाइ सामानहरु भएको सानो बजारमा १ घन्टा घुमिरहे। "अपरेसन ००३" ले चिताएको तर पुरा नभएको कुराहरु के के हुन सक्छ भनेर सोचें। साँझ भयो र हामीहरु सबैलाइ प्रोजेक्ट मेनेजरको घरमा खान निम्तो थ्यो। त्यहाँ खाइसकेर होटेल फर्किदाँ ९ बजेको थ्यो। म आफ्नो कोठाभित्र छिरेको मात्र थें, च को फोन आयो।
"कस्तो गार्हो लाइन लाग्नलाइ।" मैले शुरुमै भने च लाइ।
"नेटवर्कको कारण असाध्यै गार्हो छ यहाँ।" उ थाक्या जस्तो सुनिन्थ्यो।
"धेरै ब्यस्त भइस कि क्या हो?" मैले सोधें।
"त्यस्तै भन्नु पर्यो। यहाँ अर्को कान्ड मच्चियो।" उसले अर्को जानकारी द्यो छोटो।
"फेरि के कान्ड नि?" मलाइ उत्सुकता जाग्यो।
"के हुनु उहि त हो नि "अपरेसन ००३"।" उ दिक्क भाको जस्तो गर्यो।
"के कान्ड गरी र उसले? उ त हामी सङ यात्रा र काममा ब्यस्त छे।" मैले त्यस्तो ठुलो कुरा सोचिन।
"त्यो अस्तिको लेख छ नि? हो त्यसमा नाम पर्नेहरुमा "टाउके" जर्नेलको ज्वाँइको पनि नाम आएछ। अब यो मुद्दा झन् ठुलो भएको छ। जर्नेलको ज्वाँइको बाहिरको ब्यापारमा पनि असर पर्ने भयो रे। त्यसैले उनिहरु "अपरेसन ००३" लाइ कार्बाहि गर्नु पर्ने भनेर माग गर्दैछन्। माथिबाटै दबाब आको छ।" उसले अलि बिस्तार गर्ह्यो चुरो कुरा।
"के कार्बाही गर्ने रे ? उ हामीसङै छे त।" मैले उत्सुक्ताबस सोधें।
"आजको निर्णय अनुसार "बिशेष इन्वेस्टिगेसन" शुरु गर्ने "अपरेसन ००३" को लागि भन्ने छ।" च ले भन्यो।
"कस्तो बिशेष इन्वेस्टिगेसन?" मलाइ अझै सोध्न मन लाग्यो।
"पर्सि "अपरेसन ००३" लाइ रङून् एयरपोर्टबाटै सोधपुछको लागि भनेर "अरेस्ट" गरिन्छ अनि त्यसपछि के के हुन्छ त्यो त ठुलाबडाहरु नैं जानुन्।" उसले जे सुनेको त्यहि भन्यो।
"के रे?" मलाइ बिस्वास नैं लागेन च को कुरा र फेरि सोधें।
"कार्बाहीको लागि "अपरेसन ००३" आउनासाथ एयरपोर्टबाटै अरेस्ट हुन्छे। त्यसपछि उसलाइ फिर्ता पठाइन्छ वा जेल पठाइन्छ त्यो उनिहरुले निर्णय गर्छन्। अथवा उसलाइ बेपता पार्न पनि सक्छन्। यहाँ शक्ति भएकाहरुको लागि कसैलाइ बेपता पार्नु कुन ठुलो कुरा हो र?" च ले अरु प्रस्ट्यायो।
"मलाइ त बिस्वास् नैं लागेन।" भन्दै थें च सङ फोनको लाइन प्रस्ट आएन र एक्छिनपछि लाइन आफै काटियो। त्यतिखेर रातिको ९:३० भएको थ्यो।
कुरा यति छिटै बढ्छ भन्ने मैले सोचेको थिन। "अपरेसन ००३" एउटा लेखको कारण आफुलाइ जोखिममा पारेकि थी। यी सबै कुराबाट अनभिग्य उ आज दिँउसो सारै खुशी थी। के अब "००३" को जिबनको अन्त्य पनि नजिक आइसकेको हो? उसले तथ्य लेखेकै कारण सजाँय भोग्नु पर्ने हो? मेरो देशको राजनैतिक ब्यबस्थाले उसको जिबनमा साँचिकै पूर्णबिराम लाइदिने हो? प्रश्नहरुले एकचोटि फेरि मलाइ घेर्न थाले।

म "अपरेसन ००३" सङ हिंडेको एक हप्ता मात्र भाको छ। तर यो एक हप्तामा मैले उसलाइ कुनै कुनै बेला बाहेक अरु समयमा पारदर्शी देखेको छु। उ खुशी हुन्छे, त्यो उसको भावमा झल्कि हाल्छ। दुखि हुन्छे, मुखै फोरेर बताइ हाल्छे। कहिले रिसाँउछे, उसको रिस पनि कसैको आँखाबाट लुक्दैन। सबै कुरा छर्लङ जस्तो उसको अनुहारमा। पानी जस्तै निर्मल जस्तो देखिन्छे। उ नबोले पनि म उसको मुहारको भावबाट सबै पढ्न सक्छु जस्तो लाग्छ। उ आधारातमा हिंडेको कुरा अझै मेरो लागि रहस्य छ यदि मैले उसको निद्रामा हिंड्ने बानीलाइ पत्याइन भने। उसको लेखबारे मैले उ सङ सोधेको छैन। किनभने लेखमा रितुको नाम छैन, कोहि अरुको छ। उ बिषेश इन्वेस्टिगेसनमा आजिबन कारागरमा परी भने उसको जिबन प्रतिको त्यो उत्साह के होला? उ जिबन्त छे। मन फुकाएर हाँस्न सक्छे, धित मरुन्जेल रुन पनि। अहिले मलाइ यस्तो लाग्छ उ सङ केहि छैन, सबै उजागर हुन्छ जब उसको अनुहारमा आएको बिभिन्न रङहरुलाइ बुझ्न सकियो भने। यो मेरो देशको संकुचित बाताबरण हो, जसले मलाइ उ प्रति शँका धेरै गर्न बाध्य बनाँउछ। तर मेरो देशको परिबेश नैं यस्तै छ, म के गरुँ? त्यो रात म भित्र अर्को "म" ले "अपरेसन ००३" को बचाउ गर्ने प्रयाश गरिरह्यो। मैले त्यो अर्को "म" लाइ त्यस्तरी सजग भएको कहिले पाएको थिन। यसको मतलब म "रितु" लाइ मन पराउन थालेको छु? मैले आफ्नै मन सङ सोधें। मेरो मनले ठोस जवाफ दिन सकेन। म रातभरी रितुको टिठ लाग्दो भबिस्य कल्पिदैं बसे।
बिहानै "००३" को मुख हेर्न मन लाग्यो। एकदिन आरामको कारण होला, उसको मुहारमा तेज थ्यो। उ गित गुनाउदैं "ब्रेकफास्ट" खान आएकि थी। उसले सधैं भन्दा बढी कफी पिएकी थी। उस्को भावमा म त्यो "रहस्य" खोजिरहें, जसको लागि म उसको सुरक्षाको निहुँमा आएको थें। उ बिल्कुलै फरक लागि मलाइ अरु केटिहरु भन्दा। कस्तो स्वाभबिक ब्यक्तित्व, कतै क्रितिमता देखिदैंन। म उसको बारेमा जति सोच्दैथें, त्यति गहिरिदैं थे उ सङ।
"मिन्जो! तिम्रो आँखा कस्तो रातो? के भयो हँ" उसले पाउरोटिमा बटर दल्दै सोधी।
"राति अलि निद्रा परेन।" मैले झुठ बोल्ने प्रयास गरें।
"त्यस्तो निद्रा नलाग्ने गरी कसलाइ सम्झेर बसेको नि? कि याद आयो उसको?" उ जिस्काउन थाली मलाइ।
"होला, होला। भोली त भेट हुन्छ होला नि रङूनमा। आजैदेखी किन नसुतेको?" सासाले अरु थपी।
"ह्या, तिमीहरुको काम छैन जे पायो त्यही भनेर जिस्काउन मलाइ।" मैले संयमित भएर भने। मनमा त "अपरेसन ००३" ले जग हाल्न शुरु गरेकि थी। मैले अरु राम्री केटिहरुलाइ सम्झिन कोशिश गरें र मनलाइ सम्झाएं एकरति राम्री छैन यो रितु त। के अन्धो हुन लाग्या होला? म उठें।
"सुन न, मिन्जो! तिमी हिजो त्यो लोकल् मार्केट गाको हो?" रितुले सोधी फेरि।
"किन र? गाको हो म।" मलाइ त्याँबाट छिटो भन्दा छिटो भाग्न मन लागेको थ्यो।
"आज साँझमा मलाइ पनि लग न। सासा उसको फुपुका जाने रे। म एक्लै हुन्छु। मलाइ अङरेजी बोलेको देखेरे पैसा बढाइहाल्छन्। अलि अलि डी.वी.डी हरु किन्न मन छ क्या।" मुखमा राख्न लागेको मेवाको टुक्रालाइ प्लेटमा राख्दै भनी।
"म आज सीमातिर हेर्न जान्छु भनेको।" मैले सकेसम्म रितुसङ टाढिन खोजें।
"रितुले तिमीलाइ सीमा घुमाँउछे। तिमी उसलाइ बजार घुमाउन त। मेरो फुर्सद भए तिमीलाइ भन्दिन थें। उसलाइ शपिङ गर्न मन लाग्यो रे क्या।" सासाले अनुरोध गरी। परिस्थिति झन अनुकुल बन्दै आइरहेको थ्यो। मलाइ चाँही अरु पीर लाग्दै थ्यो।
"हुन्छ" भन्नै पर्यो। बेलुकी हामी पाँच बजे पहिला सीमा हेर्न गयौं। "००३" ले सीमा नजिकैको जङलबाट पनि मान्छेहरु ओहोरदोहोर गर्छन् रे भनी। साँच्चै सानो खोला तरेपछि थाइ जङल आँउथ्यो। त्यहाँ बाट केहि समय तर्यो भने सजिलै थाइल्यान्डको उत्तरी भागमा पुगिन्थ्यो। मैले त्यो चोर बाटो हेरें र "अपरेसन ००३" लाइ हेरें। मनले यही समयमा उसलाइ त्यो चोर बाटोबाट भाग भन्न मन लाग्यो। तर के कारण जाउ भन्नी? उ त जान्छे ? म त यहिँ बस्नु पर्छ। कसरी रङून फर्किने। उसलाइ सघाएको आरोपमा मैले सँजाए भोग्नु पर्छ। मेरो मनले धेरै कोशिस गर्यो "रितु, तिमी यो बाटोबाट जाउ। तिमी रङून नफर्क। त्यहाँ तिम्रो यात्रामा ठुलो तगारो छ।" घाँटी सम्म आएको शब्दहरु फेरि उहि बाटो फर्किन्थे। म कर्तब्य र भावनाको भुमरीमा घुमिरहें।
त्यसपछि मैले उसलाइ लोकल बजार लगे। उसले एउटा लुगा मन पराइ। गुलाबी शर्ट लाइ उठाएर ऐनामा हेर्दै सोधी।
"मिन्जो! यो कस्तो छ ? मलाइ सुहाँउछ ?" उ मेरो मनमा भइरहेको कुराहरुबाट बेखबर थी।
"तिमी लाउने मान्छे। मलाइ के थाहा ? मन पर्यो भने किन न।" मैले सिधा उत्तर दिंए। तर गुलाबी रङले उ अझै उज्याली देखिएकी थी। मेरो मुटु कमजोर हुन लागेको थ्यो। केहि बेर पैसा मोलतोल गरेपछि उसले त्यो शर्ट किनी। हामी त्यो पसलबाट अर्को पसलतिर लाग्दैथयौं। पसलेले पछाडिबाट बोलायो।
"सर!" मैले फर्केर हेरें।
"तपाइको श्रीमतीको लुगा यहीँ छुटेछ।" मैले केहि नभनी उसको शर्ट बोकेर आँए। "००३"को लोग्ने पनि भएँ म एकैछिनको लागि। अलिकति रमाइलो अलिकति कस्तो कस्तो लाग्यो मलाइ त्यो क्षण। उ DVD पसलमा पुगी र एक दर्जन अङरेजी फिलिमहरु किनी। पार्टी म्युजिक भनेर पसलेले बजायो, उ कुम र टाउको हल्लाउन थाली, त्यो पनि किनी। हिंड्न लाग्दा त्यो पसलेले "तपाइकी गर्ल्फ्रेन्ड त रमाइली रैछ" भन्यो। म फेरि एकै छिनको लागि उसको ब्वाइफ्रेन्ड बनें। फेरि मिस्रित भाबना आयो मनमा। उसले झुम्का किनी, ब्रासलेट, ब्याग के के किनी। उ रङूनमा भोली हुने घटनाबारे सजग भएकी भए यतिधेरै किनमेल गर्दिन थी। मेरो मन फेरि अमिलिन थाल्यो। हामी होटेल फर्क्यौं, मैले उसलाइ त्यो "बोर्डर" बाट भाग भन्नै सकिन। म मतलबी भएँ, स्वार्थी भएँ र उसलाइ भोलीको कालो रात बारे केहि भनिन।
खाना खान पनि मन लागेन, जुठो गरेर मात्र उठें। म भित्रको छटपटीले अस्याधै पोल्दैथ्यो। घरि अहिले गएर उसलाइ भोलीको कुरा भन्न मन लाग्थ्यो। घरि त्यस्तो गल्ती गर्न हुन्न जस्तो लाग्थ्यो। म दोसांधमा उभिएर उसको मुक्तिको कामना गरिरहेको थें। च ले त्यसैबेला फोन गर्यो।
"एउटा राम्रो समाचार छ।" उसको बोलीमा खुशी थ्यो।
"के "अपरेसन ००३" लाइ अरेस्ट नगर्ने भयो?" मेरो मुखबाट अचानक कुरा निस्कियो।
"के भन्छ यो? तलाइ जतिखेर पनि त्यो "अपरेसन ००३" किन याद आँउछ हँ? कि लब पर्यो?" उ छक्क पर्यो।
"त्यस्तो होइन। उसको बानी हेर्दा त्यती धेरै रहस्यमय लाग्दिन। त्यहि भएर सोधेको।" मैले आफुलाइ सकेसम्म लुकाउन थाले त्यो अर्को "म" देखि।
"त्यो त अब परीसकी इन्वेस्टिगेसनको दलदलमा। त्यसलाइ भगवानले पनि बचाउन सक्दैन।" मुटु झन पोल्न थाल्यो मेरो उसको कुरा सुनेर।
"के राम्रो समाचार सुनाउने भन्या त तैले?" मैले प्रसङ मोड्ने प्रयास गरें।
"न्वे र मेरो बिबाह यही मे मा हुने भयो। उसको अभिभावकले हामीलाइ अनुमति दिनु भयो।" उ बच्चा जस्तै खुशी थ्यो उता, यता मेरो अंकुरित प्रेम मर्न लागेको थ्यो।
"बधाइ छ तलाइँ"। भन्दै उसको प्रेमको बारे सम्झें। उसको र न्वेको २ बर्सदेखि प्रेम थियो तर न्वेको परिवारले उसलाइ मन पराएको थेन। अहिले सबै कुरा राम्रो भएछ।
"म भोली तलाइ एयरपोर्टमा लिन आँउछु अनि सबै योजना बताउला बिहेको बारेमा। तँ त्यो बिदेशीको चिन्ता गर्न छोड्दे। उसले जे गरी, त्यही भोग्दैछे। तैलें मेजर "कोसाइ" को घटना बिर्सिस। जापानिज केटीसङ उसको प्रेम भएको था पाएर उसको लाश कसरी बेपत्ता पारिएकोथ्यो २ बर्स अघि। तंलाइ पनि अरु बाँच्न मन छ भने त्यो "००३" लाइ मन बाट निकाल्दे।" उसले अर्को दुखद् घटना सम्झायो। इन्काउन्टरमा मर्यो भनेर मेजर "कोसाइ" लाइ बिदेशीसङ धेरै हेलेमेल गरेको कारण सरकारले मारेकोथ्यो। त्यसको आवाज उठाउने हिम्मत उसको परिवारले पनि गर्न सकेन।
"मलाइ निद्रा लाग्यो। ल भोली रङूनमा भेटेर कुरा गरौंला" भनेर मैले फोन राखें। यतिखेर मलाइ उसको खुशी भन्दा रितुको चिन्ता थ्यो। त्यो भोली यतिखेर के गर्छे होली? मैले किन उसलाइ सहयोग गर्न सकिन ? के यो सबै भाबनाहरु प्रेमकै कारण जन्मेका हुन् त? मलाइ त्यो रात पनि निद्रा परेन।

क्रमश:

   [ posted by crazy_love @ 07:55 PM ] | Viewed: 2467 times [ Feedback]


: