:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Monday, June 30, 2008 | [fix unicode]
 

"बिदेशीहरु कहिले पनि एउटै उदेश्यले हाम्रो देशमा काम गर्न आँउदैनन्। उनिहरुको पहिलो कौतुहुलता हुन्छ "हाम्रो देशको राजनैतिक अबस्था" र दोस्रो आफ्नो कार्यक्रम मार्फत अप्रत्यक्ष रुपमा सोझो साझा जनताहरु बिच प्रजातन्त्रको भाषा सिकाउनु। त्यसैले "अपरेसन ००३" को लक्ष्य पनि त्यो दायरा भन्दा परको हुन सक्दैन। अपरेसन ००३ को सबै गतिबिधिमा निगरानि राखी समयमा नैं प्रतिबेदन बुझाउन मेजर मिन्जोलाइ यो जिम्मेबारी सुम्पिएको छ।"कर्नल आङ्जोले एउटा गोप्य फाइलमा मलाइ सुम्पिदैं भन्नु भयो।

"अपरेसन ००३" एसियाबाट आउन लागेकि बिदेशी बिशेसग्य थी। उसको अफिस र सरकारको संयोजक्त्वमा एउटा ठुलो प्रोजेक्ट शुरु हुन लागेको थ्यो। राजधानी बाहिर ५ साइटमा "अपरेसन ००३" यानि "मिस रितु" सङै म सुरक्षाको लागि खटिएको थें। "अपरेसन ००३" मेरो लागि चुनौतीको बिषय थ्यो। कारण उ जवान थी, कुनै कार्यको लागि आएकी थी अथवा कुनै अरु देशको गुप्तचर हुन सक्थी। सबैभन्दा अचम्मको कुरा उ अमेरिका बर्सको २ चोटी आउने/ जाने गर्थी भन्ने कुरा उसको पासपोर्टमा देखिएकोथ्यो। मैले उसको सबै कुरा पत्ता लाउनु थ्यो। उ आएको १ महिना भैसकेको थ्यो। यो १ महिना भित्र उसले ३ अन्तर्रास्ट्रिय कल गरेकी थी। ४ सनिबार नैं उ आफ्ना साथीहरुसङ सहरको प्रख्यात २ वटा नाइट क्लबमा गएकी थी। १ चोटी उसकै होटेल नजिकैको बिउटीपार्लरमा फेसियल गरेकी थी र हप्ताको २/३ वटा ब्यक्तिगत मेल लेखेकी थी। यो सबै कुराको जानकारी मैले मेरो कर्मचारीहरुबाट प्राप्त गरिसकेको थें। मैले आफैले "अपरेसन ००३" लाइ देखेको थिन। उसको फोटो हेर्दा ठिकै जस्ती थी। आखिर म उ सङ अर्को हप्ता प्रोजेक्ट साइट मा सङै जांदै थें। मेरो लागि उ रहस्य मात्र थी।

"अपरेसन ००३ जवान छे, आकर्षक हुन सक्छे तर काम भन्दा बढी बिदेशी सङ त्यति हेलमेल राख्नु हाम्रो पदिय दायित्वले दिदैन। भावना र प्रेम जस्ता कुरा हाम्रो लागि देशको जिम्मेदारी भन्दा ठुलो हुँदैन।" कर्नेल आङ जो ले "जिम्मेदारी" र "पदिय दायित्व" मा धेरै जोड दिनु भयो।
"यस सर।"भन्दै मैले टाउको मात्र हल्लाए। मलाइ आफ्नो हर शब्दलाइ केलाउनु पर्थ्यो हाकिम सङ कुरा गर्दा। तेइ पनि यो आर्मीको जागिरमा हाकिमसङ हत्त्पत्ति दोहोरो कुरा गर्न मिल्दैन। कर्नेल आङ जो को टेलिफोनको घन्टी बज्यो। बाहिर "अपरेसन ००३" हामीलाइ भेट्न आएकि रैछ, पिएले खबर गर्यो। त्यसको एकैछिनपछि ३ जना खैरेसङै एउटी एसिअन केटी कोठाभित्र पसी। मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्यो।

"क्लिक-क्लिक- क्लिक" (३६-२४-३६), ए होइन रैछ, त्यस्तो बनावट नभए पनि अर्कै किसिमको मादकता रैछ उसको शरीरमा। खुइलिएको जिन्स प्यान्ट र साधारन कटनको कमीज लगाएकी, सफा अनुहारमा अलिकति गुलाबी लिप्स्टिक, हलुका मस्करा लगाएकी, धेरै दिन देखि कोर्न नभ्याएको कपाल। मतलब आजकालको फेसन जस्तो सिल्की कपाल नभयेर कर्ली रहेछ। येसो सर्सर्ती हेर्दा अलिकति अग्ली, गहुँगोरी र मसिनो स्वरले कुरा गर्ने उ मैले मन पराउने टाइपकी केटी थीन।

"नमस्ते" गर्दा अलिकति मुस्काइ, मुस्काँउदा अलि उज्याली देख्दी रैछ, अनि परिचय दिन थाली। कर्नेल आङ्जो ले पनि मेरो परिचय गराइदिनु भयो। उठेर मैले सबै सङ हात मिलाए। उसको हात मलाइ एकदमै चिसो लाग्यो। हिँउ जस्तै चिसो। यस्तो चिसो हात हुनेको मुटु कस्तो चिसो होला। उ भितामा राखेको फोटोहरुलाइ नियाल्दै थी बेला बेलामा। केहि बेरको कुरा पछि उ आफ्नो अफिसको साथीहरु सङै बिदा भइ।
उ किन आएकी ? उसको खास उद्देश्य के होला? उसको हरेक कुरा मैले कसरी थाहा पाउने? "अपरेसन ००३" कोठाबाट निस्केपनि मेरो मस्तिस्कमा छाइ रही प्रश्न बनेर।

दुश्मनलाइ चिन्न सजिलो हुँदैन। त्यसमा पनि अर्कै मुकुन्डो लाएर देशको गोप्य कुरा खोतल्न आउने एजेन्ट त झन साधारण देखिन्छन्। मैले तालिममा सुनेको कुरा सम्झें। अँ, "अपरेसन ००३" एउटी सामान्य केटी जस्तै देखिन्थी। उसको बोलीचाली, हिडाइ, हेराइ र हंसाइ समेत एक्दम साधारण देखिन्थ्यो। गुप्तचरहरु त्यस्तै हुन्छन्, कर्नेल "ते ला" ले गुप्तचरबारेको लेक्चरमा देखाएको महिला गुप्तचरहरुको फोटो पनि सम्झें। सरल र निर्दोष देखिने ती महिलाहरुले कसरी गहिरो गहिरो राजको कुराहरु हात पार्छन् भनेर फिलिम पनि देखाइेको थ्यो त्यो कक्षामा। यो मेरो पहिलो अनुभव थ्यो, कसैको सुरक्षाको बहानामा उसको ब्यक्तिगत बिबरण पत्ता लगाउनु र उ बाट हुन सक्ने हानिबाट मेरो देश र जनतालाइ बचाउनु मेरो कर्तब्य थ्यो। "अपरेसन ००३" उसको देशको केहि दैनिक पत्रिकाहरुमा लेखहरु पनि लेख्थी। उसको लेखाइको केन्द्रबिन्दु प्रायजसो मानब अधिकार र जोखिममा रहेका समुहहरु हुन्थे। सामान्यता उ सडक बालक, महिला र जिबन उपयोगी सीपबारे कलमहरु चलाँउथी। खासै राजनैतिक प्रिस्ठभुमि नभए पनि कलेज जीबनमा उ कुनै बिध्यार्थी सङठनको नेत्रित्व गर्थी। उ मानब अधिकारको बारेमा पनि उसको लेखहरुमा खुलेर वकालत गर्थी। यो भन्दा अघि उ बैंककको एउटा संस्थामा काम गर्थी। कुन संस्था र कस्तो काम भने फाइलमा उल्लेख गरेको थिएन।
मैले आफ्नो मातहतका कर्मचारीहरुलाइ रितु को ("अपरेसन ००३")निगरानी नियमित राख्न निर्देशन देको थें। त्यस हप्ता पनि उसको बारेमा त्यस्तो महत्वपुर्ण सुत्र भेट्टाउन सकिएन। उ अफिस र होटेल अनि साथीभाइ देखि अरु कतै जान्नथी। १ चोटी शपिङ मलको साइबर क्याफेमा १० मिनेटको लागि याहु अकाउन्ट चलाएकी थी। उसको मेलहरुमा ब्यक्तिगत कुरा बाहेक अरु चासो लाग्ने बिषय थिएन।
मैले फिल्ड जानु अघि उसलाइ एकचोटी फोन गरें र बिहानै ६ बजेको फ्लाइट भएकोले उसको होटेलबाटै४ बजे हिंड्नु पर्ने कुरा बतांए। त्यति बिहानै उठ्नु गार्हो हुन्छ होला भन्दै थी। नभन्दै उसको होटेलमा "पिक अप" गर्न जाँदा उ सुतीरहेकीथी। होटेल लबीबाट दुइचोटी फोन गरेपछि बल्ल उठी। १५ मिनेट पछि एउटा सुटकेस घिसार्दै जिङ्रिङ कपाल सहित बाहिर निस्की। मलाइ "सरी" भनी र कारमा बस्ना साथ फेरि निदाइ। यस्तो मान्छेले के हानि गर्ली र जस्तो लाग्यो मलाइ। तै पनि के भन्न सकिन्छ र? हेर्दा पो त्यस्तो देखिन्छे। भित्र भित्र कस्तो बाठी छे कि के थाहा?

प्लेन १ घन्टा पछि अर्को सहरमा ल्यान्ड गर्यो। त्यहाँबाट अर्को १० घन्टा कारबाट प्रोजेक्ट साइट मा यात्रा गर्नुथ्यो। रितु बाटोभरीको द्रिश्य हेरेर रमाइ। त्यो रातो फुललाइ के भन्छ? त्यो रुखलाइ के भन्छ? भनेर प्रश्न सोधेर हैरान गर्न थाली। अत्ति भएपछि म निद्रा लागेको जस्तै गरी आँखा चिम्लेर बसें। त्यसपछि उसको सहकर्मीसङ कुरा गर्न थाली। उसकी साथी हाम्रो भाषा पनि सिकाँउदैथी। बिचबिचमा "धन्यबाद" "सन्चै" "खुशी लाग्यो" जस्ता शब्दहरुलाइ जस्ताको तस्तै उच्चारण गर्ने प्रयाश गरी रहेकी थी उ। उसकी सहकर्मीले "मन पर्छ" र मन पर्दैन कसरी भन्ने भनेर सिकाउन थाली। उसकी साथीको नाम सासा थ्यो। मैले हाम्रो भाषाबाट सासालाइ "त्यसलाइ धेरै नसिका, भरै हामीलाइ बेच्ली फेरि" भनेर जिस्काँए। सासा मरी मरी हाँस्न थाली। रितु मलाइ प्रश्नबाचक द्रिस्टीले हेर्दै बसी। म केहि नभाको जस्तै गरेर बसें। एकछिन पछि रितु ले "मन पर्दैन" (हाम्रो भाषामा-मचाइबु) भनी। सासाले "के मन पर्दैन? " भनेर सोधी। रितुले कान्छी औंला बिस्तार उठाएर मलाइ देखाइ। मैले साइडबाट देखें "अपरेसन ००३" मलाइ मन पराँउदिन।


"००३" ले मलाइ मन पराओस वा नपराओस् मलाइ मतलब नैं थिएन। मलाइ आफ्नो जिम्मेदारीप्रति बिशेष चिन्ता थ्यो। म उ सङ् धेरै नजिक पनि हुनु हुन्थेन न र धेरै टाढा भएर पनि काम गर्न सकिदैनथ्यो। मैले जहिले पनि एउटा दुरी तय गर्नुथ्यो उ सङ कुरा गर्दा। उसको मुख्य उद्देश्य भन्दा पनि मलाइ उसको ब्यक्तिगत जिवनको बारेमा चासो नलागेको भने चाहि होइन। यसरी अरु देशमा काम गर्न आउने मान्छेहरुको अस्थायी रुपमा स्थानिय साथी हुन्छन्। मैले धेरै त्यस्तो कथाहरु सुनेको र केहिलाइ आफ्नै आँखाले देखेको छु। यहाँ बस्दा ढुकुरका जोडी जस्ता मायामा मख्ख देखिन्छन् तर गयेपछि "सन्चोबिसन्चो" को कुरा पनि सोध्दैनन् यी स्वार्थी मान्छे हरु। यीनीहरुको शायद मुटु हुँदैन। प्राय बिदेशी पुरुषहरु बसुन्जेल डलर कमाउछन्, एउटा राम्री केटी राख्छन्, मोज गर्छन् र आफ्नो देश फर्केपछि सबै बिर्सिन्छन्। ००३ को अहिले सम्म त्यस्तो कोही पनि पुरुष मित्र देखिएको थिएन। उ प्राय समुहमा हुन्थी र यदाकदा एउटी जापानिज केटी जो भाषा सिकाँउथी उ सङ बाहिर जान्थी। मेरो मनमा प्रष्न उठ्थ्यो। के यो ००३ को कोहि प्रेमि छैन? यो उमेरमा पनि सबै कुरा त्यागेर के खान यस्तो जोखिम उठाउन मन लागेको होला यो केटीलाइ? कसले मन पराउला यस्ती रङ न ढङ को लुगा लाउने केटीलाइ। खुइलेको जिन्स र त्यो उजाड रङको कमीज बाहेक अरु लुगा नैं छैन जस्तो। यात्राको दिन पनि उसले त्यहि लगाएकी थी। अलि उज्यालो रङहरु लाए पो मान्छेले पनि हेर्छन्। येस्तै सोच्दै थें, कार उकालो उकालो लाग्न थाल्यो, घुम्ती हरु देखा पर्न थाले। हामी तल सतहबाट माथी उचाइमा जाँदै थ्यौं। त्यसैले हामी त्यो सहर छोडेर अर्को जिल्ला पुग्न तल झरेर फेरि उकालो लाग्नु थ्यो। ००३ अघि भदा अलि कम बोल्दैथी। बाटोमा पहाड देखे पनि " कस्तो राम्रो पहाड" भनेर उत्साहले कराँउथी। उसलाइ त भुश्याहा कुकुर पनि त्यसतै राम्रो लाग्दो हो। किन नलागोस? मज्जाले नयाँ नयाँ ठाँउ घुम्यो, पैसा टन्न कमायो र स्वतन्त्र जिबन बाँच्यो। त्यो भन्दा बढी खुशी अरु के मा होला? हामी जस्तो महिनाको १४ डलर तलब खाएर कसरे खर्च टार्ने भन्ने पीर छैन। आज शासन गर्ने जर्नेललाइ भोली कसैले कु गर्यो भने जागीर जाने डर त छँदैछ, जिन्दगीभरि जेलमा जाकिदियो भने बचेको जिबन पनि जान्छ। कर्नेल सम्म भएर एउटा थाइल्यान्ड अथवा चाइनाको बोर्डर नजिक केहि बर्स काम गर्न पाइयो भने पैसा राम्रो आम्दानी हुन्थ्यो। बिहे गर्ने उमेर भएपनि सबै तयारी गर्न सकिएको छैन। आर्थिक रुपमा सबल नभै के टेन्सन लिनु बिहेको। परिवारले त कर गर्दैछन् तर मलाइ भने रहर छैन बिहेको। मनले खाने जस्तो केटी पनि भेटिदैन त यो जागीरमा। बल्ल बल्ल भेटिएको पनि के मिल्दैन के मिल्दैन? आधा बाटो पुगेपछि खाना खान हामी रोकियौं। ००३ ले सबैतिर निरिक्षण गरी त्यो रेस्टुरेन्टको, ट्वाइलेट गै अनि अध्याँरो मुख पारी।

"मलाइ कफी खान मन लाग्यो।" खाना टेबलमा राखिसके पछि निन्याउरो स्वरमा भनी।

"खाना नखाने?" सासाले सोधी।

"भोक लागेको छैन। यता राम्रो कफी पाउने ठाँउ छैन?" यताउति नियाल्दै ००३ ले भनी।

"यो रङून जस्तो ठुलो सहर होइन। बेला न कुबेला कफी खाने राम्रो ठाँउ कहाँबाट खोज्ने अब?" मलाइ रिस उठ्यो उसको नखरा देखेर।

"तेसो भए म केहि पनि खाँदिन। ठिकै छ।" मलाइ नहेरी भनी।

"डायटिङ होला नि। अहिले नखाउ भरै बाटोमा भोक लाग्यो भने जहाँत्यही यस्तो होटेल पाइदैन।" मैले उसलाइ अग्रिम सुचना दिएं।

"केहि छैन म पानी मात्र पिंउछु।" उ पनि जिद्दी थी।

"बेलुकीको खाना खाँदा ८ बज्न सक्छ। त्यतिखेर सम्मै भोकै बस्ने?" मैले अझै उसलाइ सम्झाउने कोशिश गर्न थालें।

"म सङ केहि काजु र सुन्तला छ, त्यही खान्छु।" उ सङ रेडिमेड उत्तर थ्यो।

जे सुकै गरोस् जस्तो लाग्यो मलाइ। उसको शरीर उसको इछ्या। बिरामी भइ भने गारो हुन्छ भन्ने मात्र पीर हो। खाइ सकेर हामी फेरि यात्रा शुरु गर्न थाल्यौं। त्यतिखेरसम्म "००३" बोल्दै बोलीन, मैले ऐनाबाट उसलाइ हेरें। उस्को मुख पहेलो भएको थ्यो। थकित जस्तो देखिएकोले मैले सोधें।

"तिमीलाइ सन्चो भएन कि क्या हो?"

" अलि अलि टाउको दुख्न थाल्यो।" उसको स्वर झन मसिनो भयो।

"एकछिन आराम गर्ने हो गाडी रोकेर?"

उसले हुन्छ भनेपछि हामी कारबाट बाहिर निस्केर स्वछ हावा लिन थाल्यौं। उ एउटा कुनामा गएर उल्टी गर्न थाली। यस्ती त "अपरेसन ००३", मलाइ मन मनै हाँस उठ्यो। यस्तो संबेदनशिल शरीर हुने मान्छे किन यस्तो काम गर्न रुचाउने?

सासाले उसलाइ सफा गर्ने पानी दी। एकैछिन पछि उसलाइ हलुका भयो भनेर फेरि कारमा बस्यौं। उ चुपचाप आँखा बन्द गरेर सुती। पहिलो प्रोजेक्ट साइट पुग्दा झन्दै ८ बजिसकेको थ्यो।
हामी स्थानिय होटेलमा पुग्यौं र बेलुकीको खाना बारे बुझ्न के ब्यबस्था छ भनेर बुझ्न थाल्यौं।
"००३" लामो यात्रा र बिसन्चोले गर्दा लल्याक लुलुक भएकी थी। पेट अझै गडबड भएकोले उ खाना नखाने र आराम गर्छु भनेर उसको कोठामा सुत्न गइ। सासा र म होटेलको भान्छा घरतिर लाग्यौं। मलाइ ००३ को चिन्ता लाग्न थाल्यो। बल्ल शुरु भएको कार्यक्रम अझै २ हप्ता यात्रा र तालिम चलाउनुथ्यो उसले। भोली बिहानै ९ बजे पहिलो कार्यक्रम शुरु गर्नु थ्यो। दिनभरी केहि खाएकी छैन। अहिले पनि भोकै सुती बिहान उसलाइ के मन पर्छ त्यही खाजा तयारी गर भन्नु पर्ला होटेलको भान्छेलाइ भन्दै खान थाँले। सासा खानासाथ "शुभरात्री" भनेर आफ्नो कोठामा गइ। मैले भान्छेलाइ एउटी बिदेशी छे, भोली बिहान राम्रो कफी बनाउनु भने। लब्बीमा आएर बिहान उठ्नलाइ "वेक अप कल" ७ बजे गर्नु भने र साँचो लिएर आफ्नो कोठामा जाँदै थें। "सर" भनेर रिसेप्सनको केटीले बोलाइ।

"किन? के भयो?" मैले टाउको घुमाएर रिसेप्सनतिर हेर्दै २ खुड्किला चढ्दै सोधें।

" त्यो बिदेशी.." उस्को बाक्य पुरा नहुँदै सोधें।

"को ? मिस रितु! अँ, के भयो मिस रितुलाइ?" मनमा डर लाग्यो कतै बेहोश पो भइ कि भनेर।

"उहाँ भर्खरै बाहिर जानु भयो।"

मैले घडी हेर्दा पौने नौ भै सकेको थ्यो। बाहिर अध्याँरो थ्यो।

"कहाँ बाहिर? मलाइ केहि "म्यासेज" छोडेर गइ?" मैले आतिदैं सोधें।

"अहँ" भन्दै रिसेप्सनिस्ट अर्को मान्छेलाइ साँचो दिन थाली।

म आफ्नो कोठामा जाने कुरै भएन। ९ बज्न लागिसकेको थ्यो।
बाहिर निस्के, बाटो सुनसान थ्यो, अध्याँरोमा म "००३" लाइ खोज्न थाँले। कुन बाटो गइ भन्ने अड्कल गर्न सकिन। गेटको दाँयाबाट "हाइवे" तिर फर्किने चोकमा पुर्याँउथ्यो। दाँयाबाट हामी जाने दोस्रो प्रोजेक्ट साइट "मुसे" जुन चाइनाको बोर्डर नजिकै थ्यो, त्यहाँ जान्थ्यो। अब त्यो कालो अध्याँरोमा मैले "अपरेसन ००३" लाइ कसरी खोज्ने?


म जे पर्ला पर्ला त भनेर शुरु शुरु अगाडी लागे सीधा सडकबाट २ मिनेट हिंडेपछि चोकमा आइपुगे। यो लाशो सहर म १ बर्स अघि १ चोटि मात्र आको छु। त्यहि पनि धेरै दिन बसेर घुम्न पाको छैन। यो शहर हाम्रो देशको एउटा ठुलो अन्चल जस्तै हो, ब्रिटिशहरुको राज देखि नैं यो अलि अरु ठाँउ भन्दा बिकसित छ। कारण यो चाइनाको सीमासङ जोडिएको छ र यहां २ नम्बरको धन्दा पनि हुन्छ। त्यसमा पनि अफिमको उत्पादन र हतियारको बेचबिखनले गर्दा अलि पर पहाडतिर प्राय बेला बेलामा प्रहरी र माफियाको मुठभेट हुने गर्छ। लागु पदार्थ उत्पादन र "ट्राफ्फिकिङ" मा मेरो देश अफगानिस्तानपछि दोस्रो स्थानमा पर्छ भन्दा मलाइ गर्ब लाग्दैन। तर पैसाको आबस्यक्ता र थोरै समयमा यथेस्ट कमाइ हुने बाटो केहि मानिसहरु हिम्मत गर्छन् त्यसैलाइ पेशा बनाउन। माफियाको कुरा गर्दा मलाइ "००३" प्रति अलिकति शंका लाग्न थाल्यो। उ दिनभरि केहि नखाइ बस्न सकेकी थी। कतै उ लागुपदार्थ त प्रयोग गर्दिन? कि तेहि तलतलमा उ अफिम अथवा हिरोइन खोज्न हिंडेकि हो अहिले?
चोकमा एउटा शालिक छ, मलाइ त्यसको कथा था छैन। अहिले मेरो मस्तिस्कमा "००३" बाहेक अरु केहि छैन। अब कता मरी होली त्यो अहिले? झनक्क रिस उठ्यो फेरि मलाइ। शालिकको अगाडिको सिधा बाटो सजिलो छ, पक्कै पनि उ नयाँ ठाँउमा त्यस्तै बाटो रोज्छे होला। म त्यहाँबाट अघि बढें। अलिक पर पुगेपछि बुद्धको मन्दिर देखें, जहाँ झिलिमिलि बत्ति बलिरहेकोथ्यो। कुनै पनि बेला बिजुली जानु र लोडशेडिङ दिनहुँ हुनु पनि ठुलो कुरा होइन हाम्रो देशमा। मन्दिरतिर चाहि जेनेरेटर चलाएको हुनु पर्छ। मैले "००३" मन्दिरभित्र पो घन्टी बजाउदै छे कि भनेर बाहिरै बाट हेरें। मन्दिरमा त्यहीको कामदारहरु मात्र थिए। तैपनि भगवानलाइ नमस्ते गर्या जस्तो गरेर मन्दिर वरिपरि खोजें "००३" लाइ। उ त्यहाँ पनि थिन। अब कहाँ जाने होला भन्दै मन्दिर बाहिर निस्केर म फेरि त्यहि सिधा बाटो अघि बढी रहें। कोहि छैन बाटोमा केहि छिनपछि बाँयातिर लाग्ने सानो कुइनेटो जस्तो बाटो देखें, माथीबाट हेर्दा त्यो बाटो ओरालो गएर अर्को मुख्य बाटोलाइ भेट्ने रैछ। तल को मुख्य बाटोमा केहि मान्छेहरु हिंडेको देखियो। शायद यही बाटो गाकि हुनु पर्छ "००३"। म ओरालो लाग्न थाँले। केहि तल पुगेपछि एउटा जड्याँहा बाटो सबै उसको बाउको जस्तै गरी हल्लिदैं थियो। उसलाइ वास्ता नगरी म हिंडे मुल सडकतिर। तल्लो सडकमा फलफुल पसल, चिया पसल र "कराओके बार" पनि देखें। सहरको मुख्य भाग होला यो। "कराओके बार" निर एक हुल जवान युबतीहरु आधुनिक पहिरनमा देखें। तिनिहरुको बिचमा कतै "००३" लुकेकि छे कि भन्ने सोचेर उनिहरुसङ एकछिन कुरा गर्न थाँले र प्रत्येकको अनुहार राम्ररी नियाँले। उनिहरु राजधानीबाट आएको हाकिम भनेर दङ परेर कुरा गर्न थाले म सङ। शायद उनिहरु ग्राहकको प्रतिक्षामा थिए। अभाब, गरिबी र आबश्यक्ताले मान्छेलाइ कसरी बिबश बनाँउछ भनेर रङूनको नाइट क्लबमा काम गर्ने एउटी केटीले केहि बर्स अघि मलाइ भनेकी थी। उनिहरुसङ बिदा लिएर म जुन बाटो ओरालो लागेको थे, त्यहिबाट उकालो लाग्न थाँले। हेड क्वाटरमा खबर गर्नु भनेको मेरो आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तैथ्यो। किनभने "००३" म सङ थी, उ अचानक कसरी हराउन सक्छे? यदि उ हराइ भने पनि म प्रति उल्टो शंका गर्न सक्थे उनिहरुले। अब सार्है दुबिधा पो भयो। अघिको मन्दिर अगाडी पुगेर मैले बुद्धलाइ प्राथना गरें "हे भगवान! जसरी हुन्छ "००३" भेटाइदेउ।" त्यतिकैमा एउटा जीप अगाडी आएर रोकियो, एकजना मान्छे बाहिर निस्केर मलाइ सोध्यो।
"म इन्स्पेक्टर यिन्ते! लाशो इलाका प्रहरीको। हजुर्, रङूनबाट आउनु भएको मेजर मिन्जो हो?"

"हो त! म मेजर मिन्जो हुँ। म त को होला भनेर पो छक्क परेको। तपाइंसङ भेटेर मलाइ खुशी लाग्यो इन्स्पेक्टर यिन्ते" मैले उ सङ हात मिलाउदैं भने।

" हजुरलाइ भेट्न म "लाशो होटेल" पुगेकोथें। ढिलो भएं। एउटा "ड्रग पुशर" (who sells drugs in a small amount not a big dealer) लाइ समातेको थें दिँउसो। अनि त्यहि इन्वेस्टिगसनमा हजुरहरुलाइ स्वागत गर्न आउन पाइन।" यता उता हेर्दै इन्स्पेक्टर यिन्तेले सोध्यो "मिस रितु खोइ त?" जे नसोधोस भनेको त्यहि सोधेपछि जवाफ दिनै पर्यो नि। मदद लिने हो भने सबैतिर एकैछिनमा हल्ला हुन्छ। फेरि आफ्नै कमजोरी देखिन्छ। धर्मसंकटमा पो पारी त मलाइ "००३" ले। मैले भगवानको अघि बसेर झुठ बोले।
"यही मन्दिर सम्म आएर फेरि निद्रा लाग्यो भनेर होटेल फर्की। म चाहि एकैछिन खुट्टा तन्काउनु पर्यो भनेर त्यहीँ तल गएर आएको।"
"हजुर, कतिखेर होटेल फर्किने ? नत्रभए हामी पुर्याइदिन्छौ नि हजुरलाइ।" यिन्तेले भन्यो।
अरु बहाना बनाउन नमिलेपछि म उसको जीपमा बसें। बाटोमा यिन्तेले उसको इन्वेस्टिगेसनको कुरा गर्यो।

"के गर्नु हजुर? आज समातेको त्यो "ड्रग पुशर" को स्वास्नी पनि समात्नु पर्नेछ। तर लोग्ने र स्वास्नी दुबै समाते पछि उनिहरुको ३ जना बच्चाहरुको रेखदेख गर्ने कोहि छैन। फेरि ३ जनाइ बच्चाहरुको गम्भिर स्वास्थ्य समस्या रैछ। मुटुको बिरामी, दम र बेहोश हुने रोग। यो इन्वेस्टिगेसनमा हाम्रो १ बर्स बित्यो। अब स्वास्नीचाहिँलाइ समात्नु पर्ने अबस्थामा बच्चाहरुको पनि लागि पनि सोच्नु परेको छ। एकातिर कर्तब्य छ अर्कोतिर मानबिय संबेदना।"
म पनि त्यहि दोधारमा परेको छु अहिले। भन्न पो मिल्दैन। एकातिर मलाइ "००३" कहाँ हराइ भन्ने पीर परेको छ अर्कोतिर उसको रहस्यहरुलाइ खोतल्ने दायित्व छ। म चुपचाप छु। उपाय देख्दिन। कतै होटेलमा फर्की सकी कि भन्ने झिनो आशा पनि छ। "००३" ले मेरो यो जागीर पनि खाने भइ।

एक छिनपछि इन्स्पेक्टर यिन्तेको मोबाइल् बज्न थाल्यो।
"सर, हजुरको होटेलबाहिर एउटी जवान युबतीलाइ बेहोशी अबस्थामा फेला पारेको रहेछ केटाहरुले। उनिहरुले मलाइ यहि नजिकैको अस्पतालबाट फोन गरेका। युबतीको होश आइसकेको छैन रे। एकचोटी अस्पताल पो जानु पर्ने भो मलाइ त। हजुरलाइ "ड्रप" गरेर उता जान्छु म।"
मेरो मुटुको धड्कन झन जोडले बज्न थाल्यो। के "००३" बाटोम बेहोश भएर ढली? अब यो केटीले अरु के के चर्तिकला देखाउने हो? कति सताउने हो मलाइ? जे कुरा अरुले था नपाओस भन्या त्यही झन पो था हुने भो।
"म पनि जान्छु तपाइसङ इन्स्पेक्टर यिन्ते। त्यसपछि मलाइ होटेल पुर्याइदिए हुन्छ नि।"
मेरो कुरा यिन्तेले काट्न सकेन र हामी अस्पतालतिर लाग्यौँ। बाटोभरी मलाइ एउटै प्रश्न आइरह्यो।

पुर्ब जुनीमा उसको रिन खाइद्या रैछु की के हो? हे भगवान! कस्तो दुख देकि मलाइ यो "००३" ले???
पाँच मिनेटको ड्राइबपछि जीप एउटा कम्पाउन्ड भएको अस्पतालभित्र रोक्यो। अस्पतालको ढोकानिर फोहोर ढल बगिरहेकोथ्यो। इमर्जेन्सी डिपार्टमेन्टको छुट्टै घर रैछ, ढोकाको बायाँतर्फ। त्यो कपाउन्ड भित्र छिर्नासाथ मलाइ गर्मी हुन थाल्यो। चिट् चिट् पसीना आउन थाल्यो फेब्रुअरिको मध्य महिनामा पनि। मैले कसैले नदेख्ने गरी पसीना पुछे हातैले। उफ्, कस्तो क्षण हो यो? मनमनै आफैलाइ सोधें।

"बढ्दो आधुनिकता, आर्थिक अन्योल र अनिश्चित भबिस्यको कारण धेरै युबाहरु लागु पदार्थ सेवन गर्छन् यहाँ। जति कडा सजाँय राखे पनि यो समस्या अझै बढ्दो छ यो ठाँउमा।" इन्स्पेक्टर यिन्ते बताइ रहेकोथ्यो। मलाइ चाहि "००३" लाइ हेर्न हतार भइसकेको थ्यो। मरेकी त छैन होला भन्ने आशामा थें। मरी भने अर्को आपत। त्यसै त मेरो देशलाइ शक्ति सम्पन्न राष्ट्रहरु मानब अधिकारको दमन गरिएको देश भनेर आरोप लगाँउछन्, झन् उ मरी भनी के के मुद्दा खेप्नु पर्ने हो? मेरो जागीर त चट् हुन्छ हुन्छ, जिबन पनि चट पार्देली भन्ने डर। भित्र पस्नासाथ व्हास्स "औसधी" को तिखो गन्ध नाकमा पस्यो। यो गन्ध त म सहनै सक्दिन। तर के गर्ने? अहिले त मलाइ जे पनि सहनै पर्छ। यिन्तेलाइ देख्नासाथ दुइ पुलिस जवानले सलाम ठोक्यो। आर्मी र पुलिसको जिवनमा अरु खान नपाइेपनि "सलाम" जति नि खान पाइन्छ। तर "रिटायर्ड" भाको भोलिपल्टदेखि कुकुरले पनि पुच्छर हलाउदैन। भाग्यमानी रैछ भने पुलिसले जति पनि पैसा खाने ठाँउहरु बनाउन सक्छ, तर आर्मीलाइ अलि गार्हो हुन्छ राम्रो ठाँउमा नपरे सम्म।

"के भाको रैछ त?" यिन्तेले सोध्यो।

"ओवरडोज भएर ढलेकी रैछ, सर। अहिले होश आइसक्यो।"

"ओवरडोज?" मेरो मुखबाट अचानक फुस्कियो।

"उहाँ मेजर मिन्जो, रङूनबाट मिस रितु सङ आउनु भएको।" यिन्तेले चिनाउन नभ्याउदै दुबै जवानले मलाइ पनि सलाम ठोके।

"सर, उसको परिवार आइसके अहिले। भित्र डाक्टरसङ कुरा गर्दैछन्।" एउटाले भन्यो।

"राम्रो भयो। परिवार सङ "उपचार"को बारेमा पनि कुरा गर्नु पर्यो। स्थिति राम्रो हुनासाथ तुरुन्तै "रिह्याब" मा पठाउने।" यिन्तेले आदेश दियो।

मेरो मन ढुक्क भयो। त्यो "००३" रैनछ, यहीको स्थानिय युबती रैछ, जसको परिवार पनि आइसकेको छ। अब मलाइ उसलाइ हेर्ने जरुरत परेन। फेरि अर्को टेन्सन उही रुपमा आयो मेरो अगाडी। "००३" चाही कहाँ ढली राकि होली? अब म होटेल फर्किनु पर्यो चांडो भन्दा चाँडो।

"सर, भित्र एकचोटि बिरामी हेरेर आँउछु म" भनेर यिन्ते एउटा सानो सीसाको बार भएको कोठा भित्र छिर्यो।" मेरो चाहि मुटु फेरि भुट्भुटिन थाल्यो। घडी हेरें १०.३० pm भइसकेछ। एकचोटि होटेलमा फोन गरें कतै आइसकी कि भन्ने आशमा। अघिकै रिसेप्सनिस्टले फोन उठाइ। मैले "बिदेशी" कोठामा आइसकि कि?" भनेर सोधें। उसले "अहिलेसम्म मिस रितुको कोठाको साँचो यही छ" भन्ने चिसो उत्तर दी। मैले केहि नभनी फोन राखी दिएँ। अब मेरो निद्रा र थकाइ धेरै टाढा भागिसकेको थ्यो। इन्स्पेक्टर यिन्तेले भोलीबिहानको नास्ता सङै गरौं भन्ने प्रस्ताब राख्यो। कहाँ के को टेन्सन भैराको बेलामा "खानेकुरा" को कुरा कसरी गर्ने? मैले भोली दिउंसो सल्लाह गरेर रातीको खानाको लागि सङै समय मिलाउला भने। उनिहरुले मलाइ होटेलमा छोडिदिए।

लब्बीभित्र छिर्नासाथ उही रिसेप्सनिस्टले सोधी, "मिस रितुलाइ भेट्नु भएन, सर?"
"आँउछे होली एकैछिनमा। म त येसो सहर हेर्न मात्र गाको। उसलाइ खोज्न होइन नि।" मैले अर्को झुठ पनि बोलें। रिसेप्सनिस्टले एक नजर अचम्मले मलाइ हेरी अनि फेरि आफ्नै काममा लागि। अब चाहीँ के गर्ने हो मैले? दिक्क लाग्यो। एकचोटि रङूनमा मेरो साथीलाइ फोन गर्न मन लाग्यो। उ म सङै काम गर्ने तर मिल्ने साथी हो। उ पनि "अपरेसन ००३" को पुरानो कुराहरु खोज्ने काम गर्छ। उसलाइ भन्यो भने त केहि फरक पर्दैन। तर यो जागीरमा कसैको पनि भर हुँदैन। मनको सन्तोषको लागि फोन गरें। उ अझै सुतेको रहेनछ।

"कस्तो भयो त "अपरेसन ००३" सङको यात्रा?" उसले जिस्काउन थाल्यो।

"के हुन्थ्यो? मरुभुमी जस्तो जिवनमा क्याक्टस फुल्या जस्तो।" मैले आफ्नो समस्यालाइ लुकाउने चेस्टा गरें।

"हा..... हा....... हा" उ मेरो कानको जाली फुट्ने गरी हाँस्न थाल्यो उता।

"सुन्न, त्यो क्याक्टसको बारेमा केहि नयाँ कुरा पत्ता लाग्यो?" मैले गम्भिर भएर् सोधें।

"अँ, यो क्याक्टसको एउटा पुरानो तस्बीर फेला फर्यो आज। केहि बर्ष अघिको..."

"अनि के छ त त्यसमा......?" उसको बाक्यलाइ पुरा हुन नदिकन मैले सोधें।

"त्यस फोटोमा एसिया र पश्चिमी मुलुकका मान्छेहरु छन्, त्यसैमा रितु पनि छे।"

"त्यो कुन ठुलो कुरा हो र? उ सधैँ देश बिदेश घुम्ने मान्छे। उसको साथी हरु जुन देशको पनि हुन सक्छन्। अनि.......?" मलाइ उसको कुरा लामो गर्ने बानी मन पर्दैनथ्यो।

"फोटो ठुलो कुरा होइन, तर उ जो सङै टाँसिएर फोटोमा बसेकी छे, उ चाँही चाइना सरकारले "मोस्ट वान्टेड" लिस्टमा राखेको केटी हो।"

"रितुलाइ त्यो कुरा थाहा होला र ? त्यो चाइनिज केटी किन त्यो लिस्टमा रैछे त?" मैले येसै सबै कुरा सहज बनाउन कोशिश गरें।

"त्यो चाइनिज "हेरोइन युजर" हो र लागु पदार्थ बेचबिखनमा पनि धेरै सक्रिय देखिन्छे। उ बैंककमा बस्छे र त्यहाँबाट अरु मुलुकका माफिया सङ सम्पर्क गर्छे। फोटो कुनै समुद्री तटमा खिचिएको छ।"

"यो केटीलाइ किन म्यान्मार नै आउनु परेको होला कामको लागि? बेकारमा हामीलाइ टेन्सन माथी टेन्सन।" म झन् आतिएं मेरो साथीले दिएको जानकारीले।

" यहीँ त छ सबै भन्दा गाँठी कुरो। उ पनि त्यो चाइनिजसङ मिलेकी हुन सक्छे र हाम्रो देशको स्थानिय "तस्कर" हरु सङ मिलेर "हेरोइन" आफै लान सक्छे अथवा अरुको मार्फत सीमा पारी पुर्याउन सक्छे। तलाइ थाहै छ। त्यो "टाचिलेक", जहाँ उसको अन्तिम तालिम सकिनेछ, त्यहाँबाट थाइ बोर्डरसम्म जङलको बाटो हिंडेमा समातिने डर नै हुँदैन। त्यो मुला "बोर्डर" पार गर्न कुन ठुलो कुरा हो र यहाँबाट?" उ सङ कुरा गरेर केहि राहत होला भनेको त उसले त पुरै सिनेमा जस्तो कहानी आफै बनाइ दियो।

"अहिले काँ छे त "००३"?"साथीले फेरि मेरो मौनता तोड्दै उताबाट सोध्यो।

"सुत्न गइसकी। ल म पनि थाके। अब सुत्न जान्छु। भोलि फोन गर्छु तलाइं" भनेर फोन राखेँ।
अब एउटा कुरा गर्न सक्ने भनेको उसको कोठामा तलासी लिनु थ्यो। अब आउली जस्तो त पक्कै थिएन। मैले रिसेप्सनिस्टसङ मेरो परिचय पत्र देखाए पछि झन् छक्क पर्दै उसले मलाइ रितुको कोठाको चाबी दी।

म कोठामा जानासाथ पहिले उसको सुटकेस खोल्न थाले। त्यहाँ उसको लुगा र केहि किताबहरु थे। किताब उसको "ब्यबहार परिबर्तन शिक्षा" सङ सम्बन्धित थ्यो। उ किशोर किशोरी हरुलाइ त्यस सम्बन्धी तालिम दिन्थी। मलाइ त्यो सङ सरोकार नै थिएन। मलाइ केहि पाउनु थ्यो। "हेरोइन" को पुरिया अथवा त्यस्तै केहि सन्दिग्ध सुत्र जस्ले मेरो साथीले दिएको जानकारीलाइ पुस्टी गरोस। केहि सौन्दर्य सामाग्री, साबुन र श्याम्पुसङै उसको "हेयर ड्रायर" पनि थ्यो। नखोलिएको "स्यानिटरी प्याड" को एक पोका पनि। "लावेन्डर" लेखिएको "परफ्युम", उ नजिक आँउदा त्यस्तै बास्ना आँउथ्यो। एउटा ब्राजिलिएन लेखकको "पाचौँ पहाड" शिर्षकको उपन्यास पनि भेटियो। नयाँ जस्तो देखिन्थ्यो, पढेर कहिं पनि चिनो लगाएको भेटिएन। मैले उसको सुटकेसमा त्यस्तो केहि पाइन जसले मलाइ उ अहिले कहाँ हुन सक्छे भन्ने संकेत गरोस। त्यसपछि मैले उसको दराज, बाथरुम सब खोजे। उसले कहिँ केहि राखेकि थिन। मैले रिसेपसनिस्टलाइ यदि लब्बीमा आइपुगी भने मलाइ सुटुक्क खबर गर्नु भन्न बिर्सिएको थें। त्यही भन्छु भनेर फोन गर्न खोजेको त उसको खाटको सिरानीमा अर्को एउटा किताब देखेँ। किताबको शिर्षक थ्यो "प्रजान्त्रकी देवी, आङ साङ सुकी"। उसले किताबको मध्यतिर "पेज ब्रेकर" ले चिन्ह लगाएकी थी।
मेरो दिमाग अब झनै फनफनी घुम्न थाल्यो।
"अपरेसन ००३" हाम्रो देशमा प्रजातन्त्रको पाठ पढाउन आएकि हो कि लागु पदार्थ तस्कर गर्न? म झनै रनभुल्लमा परें।
क्रमश:

   [ posted by crazy_love @ 10:39 PM ] | Viewed: 2405 times [ Feedback]


: