|
|
| |
|
"झुठ नबोल्स्यो त निलु मैंयाँ। त्यस्तो पनि कहिं हुन्छ?" "धरोधर्म मैले झुठ बोल्या होइन।" "मेरो कसम?" "तेरो कसम!" "पशुपतिनाथको कसम?" "पशुपतिनाथको कसम!" बल्ल सानी गम्भिर भइ। केहि बेर सोचेर भनी। "निलु मैंयाँ हजुर पढेलेखेको मान्छे। यस्तो कुरामा बिस्वास गर्सिन्न होला।" "कस्तो कुरामा?" "कहिले कहिं टुनामुनाले पनि लोग्ने आफ्नो बनाउनु पर्छ क्या। कति मान्छे हरु अझै पनि त्यस्तै गर्छन्। अरुतिर लागेको लोग्ने आफैसङ फर्किन्छन् बाइ।" "लोग्नेको मन नै अरुसित छ भने लोग्ने मात्र फर्केर के काम। जे हुन्छ हुन्छ, हुने कुरालाइ कसले टार्न सक्छ।" निलु बेफिक्री भइ एकछिनको लागि। "त्यसो भनेर कहाँ हुन्छ। हजुरलाइ त बाजा बजाएर बिहे गरेको। सजल राजाप्रतिको पहिलो अधिकार नैं हजुरको हुन्छ।" "भैगो यो कुरा नगर्। मेरो टाउको त्यसै ह्याङओवरले दुखिराको छ।" "हजुर कहिले सम्म चुप लाग्सिन्छ?।" "ओहो! सानी अहिलेलाइ भैगो। प्लिज यो कुरा कसैलाइ नभन है?" सानी बोलीन। "मेरो कसम?" "हजुरको कसम!" भित्तातिर हेर्दै सानीले भनी। "पशुपतिनाथको कसम?" निलुलाइ बिस्वास लागेन। "पशुपतिनाथको कसम।" बल्ल निलु ढुक्क भै। फोनको घन्टी फेरि बज्यो। सानी बाहिर गइ। निलुको सासुले सजल बैंकक गए पनि तिन बास गर्नु हुँदैन, घर आजै फर्किनु भनेर बोलाउनु भयो। निलुलाइ जान मन नलागे पनि हुन्छ भन्न करै लाग्यो। साँझतिर निलु बेमनले त्यो घर गइ जहाँ उस्को लोग्ने थिएन। घर पुग्नासाथ सासुले बिहेको फोटोहरु हेर्न भनेर उहाँको कोठामा लानु भयो। कोठामा उसले कतै देखिसकेको एउटा अनुहार देखी। "नयनलाइ चिन्यौ निलु?" सासुले सोध्नु भयो। "कतै देखेको जस्तो लाग्यो।" निलुको उत्तर आयो। "तिम्रो बिहेमा फोटोग्राफर नैं उहि थ्यो नि। कुरा छिन्ने दिनमा पनि आको थ्यो नि हामीसङ तिम्रो माइतीमा। बिर्स्यौ?" सासुले सम्झादिनु भयो। बल्ल निलुले सम्झी हरेक कोणबाट नयनले निलु र सजलको फोटो खिचि रहेको हुन्थ्यो। नयन सजल कै उमेरको हुँदो हो, तर सजल जति आकर्सक होइन। सामान्य खालको ब्यक्तित्व। "म त भाउजु भन्दिन है, निलु? धेरै औपचारिकता आँउदैन मलाइ। म "तिमी" नैं भन्छु। सजल मेरो साथी, तिमी पनि मेरो साथी।" "नयनको यहि बानी मन पर्दैन मलाइ। मान सम्मान भन्ने कुरो बिर्सिनु हुन्न नि। निलुलाइ मन पर्छ कि पर्दैन उ चाहीं नामै काटेर बोलाउछु भन्छ।" सासुले आफ्नो कुरा राख्नु भयो। "सजलको साथी भए ठिकै छ नि त।" निलुले सजिलै उत्तर दी। "नयनको बोली रुखो भएपनि मन सफा छ। अत्ति मिलनसार छ। कसैको चित्त दुखाँउदैन र परेको बेला मद्दत गरिहाल्छ। त्यसैले उसको कुराहरुलाइ लिएर चित्त नदुखाउनु।" सासुले हांस्दै भन्नु भयो। "फोटोहरु राम्रो आएको छ। मैले त सबभन्दा राम्रो फोटोलाइ ठुलो बनाएर "फ्रेम" मा राखेर ल्याँए। तिमीलाइ मन पर्छ कि पर्दैन?" नयनले सामुन्ने रहेको फोटो अल्बमहरु देखायो र केहि फ्रेममा सजिएको फोटोहरु। निलु फोटो हेर्न थाली। सबै फोटोहरु राम्रा थिए। सजल र निलुको जोडि एकदम सुहाएको थ्यो। सुनौलो फ्रेमको फोटो झनै राम्रो थियो। उसले त्यो फ्रेमलाइ उठाएर नजिकैको टेबलमा राखी। फ्रेममा सजिएको फोटो टेबलमा राखनासाथ अकस्मात चिप्लिएर भुँइमा झर्याम झुर्रुम भयो। निलुको अनुहारमा थरिथरि रङहरु देखिन थाले। "अपशगुन"को भयले निलु डराइ। त्यसै त चिसो सजल र उसको सम्बन्ध अब फेरि के हुने होला भन्ने शंका आयो मनमा। उ मुर्ति जस्तै ठिङ उठि रहि। सासुको मुहारमा पनि चिन्ताको लहर देखा पर्यो। निलुलाइ हेर्दै भुँइमा फुटेको फोटो हेर्दै सासुको मन अमिलियो। "अर्को फोटो बनाउला नि। के को पीर?" नयनले बाताबरणलाइ सहज बनायो। "तेइ त, टबल नै चिप्लो थियो। मैले अघि नैं भन्नु पर्ने तिमीलाइ।" सासुले मन नलागी नलागी भन्नु भयो। "यो सिसा खुट्टामा बिझ्न सक्छ। म सफा गर्छु।" निलु कुचो खोज्न थाली। "गीताले सफा गरि हाल्छे नि। गीता बोलाइस्यो न मम्मी।" नयनले निलुलाइ बुझ्या जस्तो गर्यो। "गीता घर गाकी छ, उसको बुबा सिकिस्त बिरामी भएर।" "कहिले?" निलुको स्वर अलि ठुलो भयो। "आज बिहान। सजल हिँड्नुभन्दा १ घन्टा पहिले।" सजल जाने दिनमा गीताको पनि बुबा बिरामी हुनु। १ घन्टा अघि गीता निस्किनु अनि त्यसपछि सजल। यो संयोग पनि हुन सक्थ्यो। यदि निलु अप्ठ्यारो मानसिक अबस्थामा नहुँदी हो त। उसको लोग्नेले उसलाइ सामान्य ब्यबहार गरेको हुँदो हो त। यो जन्जाल नैं बुझ्न गार्हो भयो निलुलाइ। के सत्य र के असत्य छुट्याउन नसक्ने भइ उ। मनमा उठेको शंकाको बिउ झन झन् मौलाउन थाल्यो। के थाहा, सजल र गीता दुबै भागेको पनि हुन सक्छन् ? के सजल गीताको लागि यो सब सुखसयलको जिन्दगी त्याग्न सक्छ ? के गीता सजलकि "भित्रिनी" बन्छे? अनि निलुको भुमिका के हुन्छ त तेसोभए ? निलुको सानो मस्तिस्कमा सम्हाल्नै नसकिने प्रश्नहरु उब्जिन थाले। "भोली दिँउसो मेरो दिज्युका जानु पर्छ है निलु?" सासुको आवाजले निलुको सोचाइमा बिराम लगायो केहि बेरको लागि। "कति बजे, मम्मि?" निलुको कार्यतालिका नभए पनि सोधी। "जाँउला नि येसो ११/१२ बजे तिर सासु बुहारी। किन तिम्रो कहिँ जाने प्रोग्राम छ?" "छैन।" छोटो उत्तर दी निलुले। "साँझमा फुर्सद छ भने फोटो बनाउन जाँउला नि त उसोभए।" नयन अचानक सम्झे झै गरि बोल्यो। "हुन्छ नि। उताबाट फर्केपछि निलु र तिमी जाउ न त। निलुलाइ पनि तिम्रो फोटो स्टुडिओ देखाउ।" सासुले नयनलाइ भन्नु भयो। नयन र सासुसङ "शुभरात्रि" भन्दै निलु आफ्नो कोठामा गइ। भित्ताहरु मौन थिए, एक अर्कालाइ हेर्दै बसेका तर बोल्न नसकेका प्रेमिहरु जस्तो। कौसीपट्टिको ढोका खोली, चिसो बतासले उस्को अनुहारलाइ स्पर्श गर्यो। एकप्रकारको आनन्द महसुस गरी उसले। मनमा केहि बिझेको थ्यो, के भनेर सोच्न सकिन। आकाशबाट ताराहरुले उसलाइ नैं हेरेझैं देखिन्थ्यो। उसले सोची, ती ताराहरुले सजललाइ पनि देखिरहेको होला। अनि गीता? सुइरो जस्तो गीताको नामलाइ उसले सकेसम्म मनमा पस्नै दिन। निलुले आफुलाइ सकारात्मक बनाउने मनमनै बाचा गरी। सजल उसको लोग्ने हो र अबस्य पनि निलुलाइ माया गर्छ। खालि यो समयले उनिहरुको मिलनमा तगारो हालेको छ। शायद, बैंककबाट फर्किदा सजलले उसलाइ धेरै खुशीहरु मायामा उनेर ल्याउला। सजलको अङालोमा निदाउने सपना देख्दै निलुले त्यो रातलाइ पनि बिदा गरी। भोलीपल्ट बिहानै सजललाइ फोन गरी निलुले। ३ चोटी नैं भ्वाइस मेसेजमा मात्र गयो। "मलाइ फोन गर है।" भन्ने खबर छोडी। सजल मिटिङमा ब्यस्त भएर फोन नउठाएको हुन सक्छ भन्ने अनुमान गरी। उ राम्रो मात्र सोच्छे अबदेखि। सोचाइ नैं उसको मनको दुखको कारण हो। मनलाइ फकाउदैं फुलाउदै दिनभरी सजलको फोन कुरी। मोबाइल बज्नासाथ मनमा आशाको फुल फुल्थ्यो। ब्यागमा राख्दा नसुन्ला भनेर उसले मोबाइल हातैमा बोकेकि हुन्थी। दिँउसो अरुहरुको कुरामा मस्त भएपनि उसको ध्यान सजलमा नैं केन्द्रित भएकोथ्यो। बेला बेलामा सासु र उहाँको दिज्युले निलुलाइ जिस्काउनु पनि भयो 'सजललाइ कति धेरै मिस गरेको भनेर'। साँझमा नयन निलुलाइ लिन आयो। उनिहरु हिँड्दै दरबारमार्ग पुगे। जहाँ नयनको फोटो स्टुडिओ थ्यो। नयन र निलु भएर कुन फोटो ठुलो बनाउने र कस्तो फ्रेम राख्ने भनेर त्यहाँको कामदारलाइ बताए। ७.३० मात्र बजेको थ्यो। घर गएर पनि खासै केहि काम थिएन। निलुले केहि बेर येसो बजारतिर हेर्ने मात्र इछ्या देखाइ। त्यो भन्दा त "आइसक्रिम" खान जाँउ" भन्दै नयनले उसलाइ "हट ब्रेड" मा लग्यो। त्यहाँ त्यति धेरै मान्छे थिएन। निलुले झ्याल नजिकैको टेबुल रोजी र दुबै "आइसक्रिम" मगाएर खान थाले। "नयन, तिमी सजलको सबैभन्दा मिल्ने साथी हो?" निलुले अनायास प्रश्न गरेको देखेर नयन झस्क्यो। केहि बेर सोच्यो। "किन र? तिमीलाइ शंका लाग्यो? मनोबिग्यान पढ्नेहरु हरेक कुरालाइ जटिल बनाँउछन्।" हाँस्न थाल्यो नयन। "म मनोबिग्यानको साधाराण बिध्यार्थी मात्र हुँ। मनोरोग बिशेसग्य होइन। तिमीलाइ डर लाग्यो?" झन् जोड दी निलुले "डर" भन्ने शब्दमा। "मेरो मनको कुरा x-ray जस्तै पढ्यौ भने नि?" "म तिम्रो अनुहारबाट धेरै कुरा बुझ्छु।" तर्साइ निलुले पनि। "तेसो भए अहिले मेरो मनमा के छ त?" जिस्क्यो नयन। "अति गहिरो मानसिक पीडा। हुनु र नहुनुको पीडा।" आफ्नै मनको कुरा निकाली निलुले। नयन एकछिन अकमक्कियो। निलुलाइ नहेरी बाटोतिर हेर्न थाल्यो। केहिबेरपछि बल्ल बोल्यो। "हेर, म जस्तो सोझो मान्छेको मन पढेर के फाइदा तिमीलाइ ? बरु सजलको मनमा के छ मलाइ पनि सुनाउन।" "त्यहि त भनेको नि। सजलको मनभित्र पस्न मैले के गर्नु पर्छ ? तिमीलाइ थाहा होला नि।" निलु उदास देखी। "तिमी उसको स्वास्नी, म साथी मात्र। मलाइ कसरी थाहा हुन्छ?" नयन अप्ठ्यारोमा पर्यो। "सरी नयन! म त तिमी उसलाइ राम्ररी चिन्छौ कि भनेर मात्र सोधेकि। के म तिमीलाइ एउटा कुरा सोध्न सक्छु?" "मैले भन्न सक्ने भए सोध।" "के सजल कसैलाइ प्रेम गर्छ?" "...................................." एक्छिन त्यहाँको बाताबरण नैं मौन भयो। नयन बोलेन। हटब्रेड नैं शुन्य भयो। "मलाइ यस्तो लाग्छ, नयन। सजलले मलाइ उसको मनभित्र पस्ने ढोका बन्द गरेको छ र उसको दिलमा अरु कोहि छ।" "खोइ मलाइ त सजल त्यस्तो लाग्दैन। निलु, तिमी धेरै शंका गर्छौ। प्रेममा शंका राम्रो हुँदैन।" "सजल किन मसङ् बोल्न पनि मन पराँउदैन त ? के कारणले उ तेसो गर्छ?" निलुले भित्रको ज्वालामुखीलाइ लुकाउन सकिन। "तिमी पनि त उसलाइ उ जस्तो छ, त्यस्तो स्वीकार गर्न सक्दैनौ होला नि। मायामा स्वार्थी हुनुहुँदैन। त्यहि भएर त दुख हुन्छ नि मनलाइ।" नयन अलि दार्शनिक पारामा बोल्यो। "मैले उसलाइ पाउन के गर्नु पर्छ त?" निलु थकित भएर सोधी। "पाउनु त स्वार्थ होइन र ? मीराको प्रेममा पाउने कुरा कहाँथ्यो र? तै पनि उसले क्रिश्न भगवानलाइ मनभित्रै पाइ " आदर्श पारामा बोल्यो नयन। "म मीरा होइन नयन। म उसको बिहे गरेकि स्वास्नी हुँ।" निलुले कुरालाइ धेरै बढाउन चाहिन त्यसपछि। घर फर्किदाँ नयनले सजलको गुणहरुको मात्र बयान गर्यो। निलु आफै गलत हुनुपरेको कुरा महसुस गरी। मनमा कुरा राख्न नसकेकोमा निलुलाइ आफैसङ रिस उठ्यो। सजल फर्केसम्म कुरेको भए के बिग्रिन्थ्यो र ? भर्खर १ हप्ता पनि भाको छैन बिहेको। निलुको मनमा किन खाली शंका मात्र उब्जिन्छ। घर पुगेपछि निलुले सासुबाट थाहा पाइ, सजल पर्सी बैंककबाट फर्किदैंछ। निलुको मनको बादल फेरि हट्यो। अब उसको पर्खाइ सक्यो। उसको आफ्नै मनभित्रको द्वन्द सकियो। सजल उसकै हो र उसकै हुनेछ। त्यो रात निलु हलुका भएर सुती। सजल आउने क्षणसम्मको समय निलुलाइ जिन्दगीको सबै भन्दा लामो समय लाग्यो। धेरै चोटि उसले 'गीता'को नाम पनि पन्छ्याइ मनबाट। तर 'गीता' सजल सम्झिनेसाथ आइ पुग्थी निलुको मानसपटलमा। सजल आउनासाथ निलु ढुक्क भइ गीता सङै नदेखेर। उसले राहतको स्वास फेरि। सजल अलि ताजा देखिएको थ्यो। अस्ति जस्तो तनाब उसको मुहारमा देखिएको थिएन। निलुको शरीरमा सजलको आँखा एकैछिन अडिएको थियो। निलु अलि बढि सजिएकी थी त्यो दिन। सजल २ बजे आयो। एकछिन सासु सङ कुरा गर्यो र फेरि बाहिर निस्क्यो जरुरी मीटिङ छ भनेर। निलु अलिकति दुखी भइ। सजलको ब्यस्तता देखेर। साँझ सात बजेतिर सजल घर फर्क्यो। बेलुकिको खाना खाइसकेर निलु कोठामा गयेर सजलको प्रतिक्षा गर्न थाली। सजल तल अफिस कोठाभित्र गएकोथ्यो। आधा घन्टासम्म पनि सजल कोठामा नआएपछि निलु उसलाइ बोलाउन गइ। सजलको अफिस कोठाको ढोका खुला थियो। सजल भित्र कम्प्युटरमा केहि टाइप गर्दै थ्यो। येसो हेर्दा निलुलाइ सजल "च्याट" गरे झैं लाग्यो। तर निलु देख्नासाथ सजल ले कम्प्युटर बन्द गर्यो। "मलाइ केहि समय दिन सक्छौ, प्लिज?" निलु ले अनुरोध गरी। "म अहिले ब्यस्त छु।" सजलको जवाफ आयो। "५ मिनेट मात्र भए पुग्छ।" "के कुरा हो यहीँ भन।" "म यो कुरा माथी हाम्रो कोठामा गर्न चाहन्छु।" "यहाँ के हुन्छ र?" "यहाँ तिम्रो कामको बाताबरण छ। म हाम्रो निजी कुराहरुलाइ तिम्रो काम सङ मुछ्न चाहन्न।" "तिमी जाँदै गर, म आँउछु।" सजलको उत्तरले निलु माथी गइ। केहिबेरपछि सजल उनिहरुको कोठामा आइपुग्यो। ढोकाभित्र पस्ना साथ नबसिकन सजलले सोध्यो। "ल भन के कुरा हो तिम्रो?" "तिमीलाइ बस्न फुर्सद छैन?" निलुले सोधी। "म ब्यस्त छु। तिम्रो कुरा भन।" सजलले रुखो उत्तर दियो। "के तिमी मलाइ माया गर्छौ?" निलुको प्रश्नले सजल छक्क पर्यो। "कुन फिलिमको "बाक्य" हो यो?" निलुको प्रश्नलाइ सजलले हाँसोमा उडायो। "सजल, म तिमीलाइ "सिरियसली" सोध्दैछु। के तिमी मलाइ माया गर्छौ?" निलु झन् गम्भिर भइ। "म तिमीलाइ माया गर्छु भनेर फिलिमको नायकले जस्तो छातीमा लेखेर हिँड्नु पर्यो?" सजल रिसायो। "तिमीले मेरो प्रश्नको उत्तर अझै दिएनौ।" निलु निरास भइ। "म सङ यस्तो रङ न ढङको कुरा गर्ने फुर्सद छैन।" सजल ढोकातिर लम्क्यो। निलु दौडेर ढोका लाउन गइ र ढोका छेकेर बसी। "आज तिमीले मलाइ भन्नै पर्छ।" निलुले ढिपी गरी। "मलाइ धेरै रिस नउठाउ, निलु।" सजल रातो भयो रिसले। "तिमी मलाइ किन त्यस्तो माया गर्दैनौ, जस्तो एउटा लोग्नेले स्वास्नीलाइ गर्छ। एउटा पुरुषले नारीलाइ गर्ने माया। म भित्रको चाहनाहरुलाइ किन बुझ्दैनौ तिमी ? मेरो शरीरभित्रको आगोलाइ किन शीतल गर्न सक्दैनौ तिमी ?" निलुको मनमा दबिएर रहेको कुराहरु निस्क्यो। "निलु,तिमी बम्बैको बेश्यालयमा बस्ने केटिहरु जस्तो कुरा गर्दैछौ।" सजलको बोलीको बाणले निलुलाइ घाइते बनायो। "तिमी पनि त नपुंसक जस्तो चरित्र देखाँउदैछौ नि सजल।" निलुले आफ्नो चोटको पीडामा सजलको अँहमा प्रहार गरी। सजल रन्थनियो निलुको प्रहारले। उसले निलुको चुल्ठो समात्यो, निलुले आफ्नो बचाउको प्रयत्न गरी। त्यसपछि निलुलाइ धकेल्यो सजलले। निलु पर भुइँमा पछारिन पुगी। ढोका खोलेर सजल बाहिर निस्क्यो। निलुको टाउको झनन भयो, बेस्सरी भुँइमा ठोकिएकोथ्यो। एकछिनसम्म निलुले टाउको चलाइन। रगत आयो कि भनेर हातले छामी। रगत थिएन, बाहिर चोट थिएन। केहि बेर निलु उठ्न पनि सकिन। निलु त्यहीँ रुन थाली। उसले यसरी परिस्थीती अझ बिग्रिन्छ भनेर सोचेकि थिन। उ कुरा गर्न चाहन्थी, झगडा होइन। बल प्रयोग भएपछि सम्बन्ध झनै बिक्रित देखिन थाल्यो। उ बिस्तारै उठी। ढाड नराम्ररी दुख्यो। शरीरको दुखाइ भन्दा गार्हो मनको दुखाइथ्यो। त्यो दिनको घटना एकदम असोचनिय थियो निलुको लागि। कहाँनिर गल्ती भयो भनेर निलुले फेरि सम्झिन थाली अघीको बार्तालापमा। शायद उसले सजलसङ कुरा गरेको मिलेन। अथवा कुरागर्दाको भाब मिलेन। तर यसरी झगडा र उल्टो परिस्थितीले सम्बन्ध अघि कसरी बढ्छ र? अर्को दिन माइती जानु छ निलुलाइ सजलसङै। सोच्दा सोच्दै निलुले सजलसङ सम्झौता गर्नु बाहेक अरु बिकल्प देखिन। आखिर उसको लोग्ने हो सजल। लोग्नेस्वास्नीको झगडा परालको आगो भन्छन्। बाथरुममा गएर मुख धोइ निलुले। अनि एक्छिनलाइ उनिहरुको झगडा बिर्सिने कोशिश गर्न थाली। "गीता" सम्झी फेरि। शायद उनिहरुको झगडाले गीतालाइ फाइदा पुर्याउन सक्छ। गीता खुशी हुन्छे। सजलले निलुको कुरा काट्छ गीतासङ। त्यसरी कुरा बढ्नुभन्दा सजलसङ माफी माग्नु बेश हुन्छ। सम्बन्ध बनाउनु पर्छ निलु आफैले। एकछिन खाटमा पल्टेर निलु सबै कुरा बिर्सिने कोशिश गर्न लागी। रात अलि छिप्पेपछि निलुले सजल कहाँ गयो होला भनेर सम्झी। कतै रिसमा "ड्राइव" गर्यो कि भन्ने पिर लाग्यो। घर छोडेर गयो भने फेरि अर्को आपत हुन्छ? सासुले पनि उनिहरुको झगडा भएको कुरा थाहा पाउने भयो भने? बिहे भएको महिनादिन भाको छैन झगडा गर्ने कस्ती बुहारी भन्यो भने? अनेक प्रश्नले निलुलाइ बिथोल्यो। उ सजलसङ कुनै पनि हालतमा माफी माग्नेछे। १२ बजेसम्म सजल नफर्केपछि निलु तल ओर्ली। सजलको अफिस कोठाको बत्ती बलिरहेकोथ्यो। सजल बाहिर गाको रहेनछ भन्ने थाहा पाएर निलुलाइ ढुक्क लाग्यो। त्यो कोठाको ढोका लागेकोथ्यो। शायद सजल भित्र हुनुपर्छ भनेर निलुले ढोकालाइ हलुका धकेली। ढोका खुल्यो। भित्रपस्नासाथ निलुको आँखाहरु झस्के। सोफामा सजल र नयन निर्बस्त्र एक अर्कालाइ अङालेर चुमिरहेका थे। उनिहरुको लुगाहरु भुँइभरि छरिएको थ्यो। अचानक निलुको प्रबेशले नयन तर्स्यो, उ जुरुक्क उठेर लुगा लाउन थाल्यो। सजल उठ्ने प्रयत्न गरेन। भुइँबाट लुगा तानेर आफ्नो लाज लुकाँउदै सजलको शिर नुही रह्यो। एकछिनसम्म निलुको मस्तिस्क रोकियो। के देखेको भन्ने कुरालाइ बुझ्न गार्हो भयो। नयन बाहिरियो, सजलको आँखाहरु भुँइमा गाढियो। त्यहाँ निलु के गर्दैछे? मनबाट आएको प्रश्नले निलु फेरि झस्की। आफ्नो भुमिका नभएको ठाँउमा निलु किन आनो उपस्थिती जनाँउदैछे? निलु लामो सपनाबाट ब्युँझे जस्तै भइ। उ केहि बोलीन। केहि भन्नु पर्ने आबश्यक्ता देखिन। माथी गएर निलुले केहि खोजिन। बुबाले दिनु भएको डायरी झिकि र पल्टाउन थाली खाली पानाहरु। त्यहाँ केहि लेखिएको थिएन तर अद्द्रिश्य रुपमा धेरै कुराहरु कोरिएकोथ्यो। ती खाली पानाहरु निलुको नाटक जस्तो बिहेको साक्षी थिए। उसले त्यो नाटकमा दुलहीको भुमिका पाएकी थी र राम्ररी नैं आफ्नो भुमिका निभाउने प्रयत्न गरेकी थी। नाटक उसले थाहा नपाइकन शुरु भयो र नाटकको अन्त्य उसकै आँखा अगाडी भयो। अब उसको जिबनको अरु पानाहरु पनि छन्। उसलाइ कसैसङ गुनासो थिएन। उ त्यो खाली पाना भएको डायरी मात्र लिएर माइती गइ। समय क्रममा उसको जिबनमा अरु पानाहरु थपिदैँ गए, तर त्यो खाली पाना सधैं खाली रह्यो। समाप्त!
[ posted by
crazy_love @
10:52 AM ] | Viewed: 2767 times
[
Feedback]
|
|
|
| : |
|