:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Sunday, May 25, 2008 | [fix unicode]
 

त्यो रात निलुलाइ निद्रा पटक्कै लागेन। लागोस् पनि कसरी? भोलि उ येतिखेर सजलको घरमा भित्रिसकेकी हुन्छे उसको दुलही बनेर। तल माथि सबैतिर मान्छेहरुको खैलाबैला छ। घरभित्र, घरबाहिर। कोहि के गर्दैछन् कोहि के। उसलाइ यो मान्छेहरुको हुलदेखि झिंजो लागिसक्यो। दुइ जनाको बिहेमा कति धेरै मानिसहरुको संलग्नता। नयाँ सम्बन्धको सुरुवात, नयाँ परिबेश र नयाँ जिवन। सजलको प्रभावशाली ब्यक्तिव र उसको आर्थिक सम्पन्नताको कारण निलुको बुबाले सजलको मुमा आफैले लिएर आउनु भएको बिहेको प्रस्ताब नकार्न सक्नु भएन।

निलु २२, सजल २८ बर्सको थ्यो। ६ बर्सको फरक सामान्य नै थ्यो। अरु भन्दापनि सजलले पढाइ सकेर स्वदेश र बिदेशको ब्यापर आफै हेरिरहेको थ्यो। शालीन स्वभाव र मिलनसार सजललाइ कसैले मन नपराउने कारण थिएन। उ सङ बाहिर जाँदा निलुले अरु युबतीहरुको नजर सजललाइ टाढाबाट नियालिरहेको पाँउथी। उसलाइ अलि अलि डाहा लाग्थ्यो अनि अलिकति गर्ब। सुन्दर, आकर्स्क र सम्पन्न पति पाउनु उसको भाग्यको कुरा थ्यो। घरमा उसको सानो बुबाको छोरीहरु त्यसै भन्थे। निलु प्रति इर्स्या पनि देखाँउथे। बिहे अघि उ सजलसङ बाहिर जाँदा बैनीहरुलाइ पनि सङै लग्थी। एक्लै जाने मन भए पनि बैनिहरु पछि लागि हाल्थे। उनिहरु सजललाइ "ह्यान्ड्सम भिनाजु" भन्थे। सजल उ भन्दा बैनीहरुको प्रस्नको उत्तर दिदाँ ब्यस्त हुन्थ्यो। आधा समय त उसको मोबाइलमा बित्थ्यो, आधा बैनीहरुसङ र केहि औपचारिक कुरा उ सङ। निलु सजलसङ कुरा गर्नु भन्दा पनि उसलाइ हेरेर बस्थी। कहिं केइ खोट थिएन उसको रुपमा। अभिनय गरेमा पक्कै पनि नायक हुने मान्छे जस्तो। अग्लो, गोरो र हसिंलो उसको अनुहार देखेर बाटो हिड्ने कुन केटी एकछिन नरोकिदो हो उसलाइ अघाउन्जेल हेर्नलाइ। निलु सजलको नजरलाइ पनि पछ्याँउथी, तर कुनै केटीप्रति पनि रुचि नदेखाएको कारण मनमनै ढुक्क पनि हुन्थी।

बिहेको कुरा चलेको एक बर्स भएपनि तयारी चाही केही महिना अघि मात्र शुरु भएको थ्यो निलुको घरमा, ४ महिना कति छिटो बितेर बिहेको दिन पनि आइसकेछ। उसलाइ हिजोसम्म यही घरमा भाइबैनीहरुसङ लुकामारी खेलेको जस्तो लाग्थ्यो। आधा दर्जन केटाकेटीहरुको हुलमा उ नै नेत्रीत्व गर्थी। उ जेठो छोरोकी जेठी छोरी थी, उसकी एक बैनी, त्यसपछि, माइलो बुबाको २ छोरा र कान्छो बुबाको चाही १ छोरा १ छोरी थिए। उनिहरु सबै संयुक्त परिबारमा बस्थे। अरुको घरको आरु चोर्ने काम होस् वा आफ्नै बङैचाको काँचो अम्बा। बुबाले था पाउनासाथ नराम्रो सजाँय पाँउथी। तर भाइबैनीहरु पनि उ सङै सजाँय बाँडेर खान्थे। उसको बचपना त कति छिटो सकिएछ निलुले सोचि।

"मेहेन्दि धुने बेला भयो होला", सानो मुमा कोठा भित्र छिर्नु भयो। भित्ते घडीमा भर्खर ११ बजेको रहेछ। कत्रो लामो रात जस्तो लाग्यो निलुलाइ। उसले हातमा सुकिसकेको मेहेन्दिको बुटा हेरि अनि धुन गै। ढोका बाहिर उसकै उमेरकी सानी उसलाइ हेर्दै अर्थपुर्ण हाँसो हाँस्दै थी। सानी धेरै पहिलेदेखि घर धन्दामा मामुलाइ सघाउने गर्थी। परिवारकै एक सदस्य जस्तै थी उ।
"के हेरेकी त्यसरी?" निलुले रिसाएर सोधी।

"भोली हजुरले था पाइसेला नि।" झन् खित्का छोडेर हाँसी सानी।

"लाज लाग्दैन जे पायो तेइ कुरा गर्न?" ऐनामा केश नियाल्दै निलुले भनी।

"हजुरलाइ डर लाग्या छैन?" सानी हाँस्दै तल लागी।

निलु झस्की। उसभित्र थरि थरि कल्पनाहरु आउन थाले। भोली आफु जन्मेको घर छोडेर जानुको पीडा त छ्दैछ। अरुको घरमा गयेर अरुको सन्तानलाइ आफ्नो झैं माया देखाउनु छ। हिन्दु धर्म अनुसार उ सजलको आधा अङ्ग बन्छे। सजल उसको कोठामा, रातमा, दिनमा संधै सङै हुनेछ। भोली उसको पहिलो रात अर्थात सुहाग रात। निलुले हिन्दी सिनेमाको सुहागरात सम्झी। उसको मुटु फुल्यो, हात खुट्टाहरु तात्तिन थाले, पसिना आउला जस्तो भयो। सानीले जिस्काएको सम्झी। १ बर्स अघि सानीको बिहे भैसकेको थ्यो। उसलाइ सानीलाइ बोलाएर सोध्न मन लाग्यो। सानीसङ कुरा गर्दा झन् के के डर देखाउली भन्ने पनि पर्यो। यस्तो बिषयमा मामुलाइ सोध्ने कुरा नेपाली समाजमा हुँदैनथ्यो। साथीहरुको कसैको बिहे भएको थिएन। धेरै प्रश्नहरु मनमा भएपनि निलु चुप लागेर सुत्ने प्रयास गर्न लागि।
भोली यति खेर शायद उ सजलको घरमा हुन्छे। उ सजलसङ एक्लै हुन्छे। उनिहरुको बिचमा कोहि हुँदैनन्। सजलको स्पर्शको सुखद अनुभुति महसुस गर्छे। उ सजलको आँखा हेरिरहन चाहन्छे। उसलाइ नबोलेर नै प्रेम गर्न चाहन्छे। संकोचले उ लज्जाउछे वा प्रथम रातमा उ डराँउछे पनि। सजलसङ प्रेमपुर्बक समर्पित हुन्छे उ। उस्को अनुहारमा मिठो मुस्कान फैलियो, आफै सङ लाज मान्दै निलु फेरि निदाउने तर्खर गर्न लागी।
बिहान उठ्दा ८ बजिसकेकोथ्यो। नुहाइवरि उ चिया खान भनेर भान्छाकोठामा गइ। बुबा उसलाइ कुरेर बस्नु भएको थियो। त्यसदिन उसलाइ बुबाले ढिलो उठी भनेर गाली गर्नु भएन। निलु आफ्नो लागि आफै चिया बनाँउथी। अरुले बनाएको चिया उसलाइ मन पर्दैनथ्यो।
"निलु, तिमी अब चिया खाएर तयार हुन जानु पर्छ। जन्ति ११ बजे नै आँउछन्, दिँउसोको लगन छ। जग्गेमा ५/६ घन्टाको काम त भइ हाल्छ।"
"म एक्छिनमैं चिया खाएर जान्छु।"
"तिमीलाइ नयाँ घरमा शुरु शुरुमा केहि समस्या होला। नौलो मान्छेहरुको भिन्दै सोचाइ हुन सक्छ, जुन तिम्रो बिचारसङ नमिल्न सक्छ। हाम्रो घरको बाताबरण भन्दा बेग्लै हुन सक्छ त्यहाँको परिबेश। कुरा नमिल्यो भन्दैमा, कसैले चित्त दुखाँउदैमा तिमी नआत्तिनु र "के गर्ने?" भनेर एकैचोटि तिम्रो घरको कुराहरु हामीसङ नगर्नु। त्यस्तो भएमा हामी बिचपनि तिम्रो घरप्रतिको सम्मान घट्न सक्छ। तिमी अब ठुली भैसक्यौ। आफ्नो समस्या सङ आफै सामना प्रयास गर्नु। समाधानको उपायहरु खोज्नु। मानिसलाइ बुझ्न गार्हो हुँदैन, प्रेम र आदरले मन जित्न सक्यौ भने तिम्रो जिबनमा चुनौतीहरु धेरै हुँदैनन्।"
बुबाको कुरा सुनेर निलुलाइ अलिकति नमिठो अनुभव भयो। अब त यो घर पनि उसको घर भएन। बुबाले उसलाइ सम्झाएको कुराहरुलाइ ध्यान दिएर सुन्दै उस्ले चिया पिउन थाली।
"जति कोशिस गरेपनि कहिले कहि मानिस थाक्न सक्छ, दुखसुखको कुरा गर्ने साथी खोज्न सक्छ। त्यस्तो बेलामा यदि तिमीलाइ केहि भन्न मन लाग्यो भने यी यो तिम्रो नयाँ साथीलाइ भन्नु।" रातो मखमलको खोल भएको राम्रो डायरी अगाडी बडाउनु भयो बुबाले। डायरीको बाहिर लेखिएको थियो "निलुको साथी"।
"बुबा, धन्यबाद! "
"तिमीलाइ धेरै नै दुख महसुस भयो भने तिमी यो डायरी खोलेर मनभरीको पीडालाइ यसरी लेख्नु कि तिम्रो कोही साथी तिम्रो कुरा ध्यानपुर्बक सुनिरहेको छ। त्यसले तिम्रो मनको बोझ हलुको पनि हुन्छ। तिमी धेरै तनाबमा हुँदैनौ। तर त्यसबाट पनि तिम्रो समस्या समाधान भएन भने मात्र मलाइ अथवा तिम्रो मामुसङ कुरा गर्न सक्छौ।"
निलु डायरीको वल्टाइ पल्टाइ हेर्न थाली। तुरुन्तै त्यो लिएर उसले लुगाहरु भएको सुटकेसमा राखी।

निलुलाइ ब्युटी पार्लरबाट आएका दुइ महिलाहरुले सिङार्न थाले। उसकी नजिका साथीहरु पनि बेला बेलामा कुन टिका सुहायो कुन सुहाएन भनेर सुझाब दिन्थे। बैनीहरु पनि सारी लगाउन त्यही कोठामा घरि कसलाइ घरि कसलाइ गुहार्दै थे। दुइ घन्टा जति पछि निलु दुलही बनी। रातो सारी, गहना, भर्खर बनाएको केश सज्जामा निलु ताजा गुलाफको फुल जस्तै देखिन्थी। ऐनामा हेर्दै निलुले मनमनै सोची, सजललाइ उसको यो रुप मन पर्छ कि पर्दैन होला? सजल कस्तो देखिएको होला अहिले?
"पहिला खाना खाउ निलु। भरै सम्म तिमीलाइ भोक लाग्छ" मामुले खाना अगाडी ड्रेसिङ टबुलको अगादी राखिदिनु भयो। खाना खाँदा उसले फेरि सोचि। सजलको घरमा पनि उसलाइ यसरी कसैले खानाको लागि सम्झाँउछ कि सम्झाँउदैन होला। मामु उसलाइ आँखाभरी आँसु लिएर हेरि मात्र रहनु भयो, केहि बोल्नु भएन। उसको मनमा पनि गाँठो पर्यो तर उसले मामु रुनुहुन्छ भनेर जबर्जस्ति रुन्चे हाँसो हाँस्दै सोधी।
"मामु , म कस्ति देखिन्छु?"
"ल जन्ति आउने बेला भयो, सबै स्वागतको लागि तयारी गर केटी हो। उता जग्गेमा बाजेलाइ के के सामान पुगेको छैन, गएर बुझ।" मामु आँसु पुछ्दै उसले खाइसकेको प्लेट लिएर बाहिर निस्किनु भयो।
जन्ति आयो, जग्गेमा सबै बिधिहरु भए, सजलले उसको सिँउदो सिन्दूरले सजायो, लगनको पोते पनि गलामा लाइदियो। अब उ सजलको पत्नी भइ। धर्मले, कर्मले र मनले निलु सजलको जिबनको अभिन्न अङ्ग बनी। बुबा र मामुले उस्लाइ सजललाइ मारे पाप पाले पुण्य भनेर जिम्मा लगाइदिनु भयो। अनि निलुको बिदाइ पनि भयो। आफ्नो जन्मघर छोड्दा "माइतीघर तिम्रो होइन भन्ने" बाजाले झन सबै भाव बिव्हल भएका थे। निलु रुँदै आफुले खेलेको आँगनलाइ छोडेर कुपन्डोलबाट सजलको घर कमलादी पुगी।

उसको घर यानि कि सजलको घरमा पनि आफन्तहरुको भिंड थियो। नजिकका नातेदारहरुसङ त्यहाँ गएको केहिछिनपछि परिचय गराउन शुरु भयो। कसैलाइ ढोग्नुपर्ने (टाउको निहुराएर मात्र), कसैलाइ नमस्ते गरे पुग्ने। सजलको मुमा अब उसको सासुले जे जे भन्नु भन्नु हुन्थ्यो उ त्यही गर्थी। त्यत्रो मानिसहरुको अनुहार उसले भोली कसरी सम्झिने भनेर पीर लाग्यो। त्यसपछि खान खुवाउन लगियो उसलाइ। त्यो दिनको भोक तिर्खा त हराइसकेको थ्यो, तै पनि मुख जुठो गरि टोपली। राति १० बजेपछि उसको सासुले उसलाइ उसको कोठामा लानु भयो। एउटै कम्पाउन्डमा दुइटा घर थिए, सजल र उसको सासुको। एउटा अलि पुरानो र ठुलो जहाँ सासु र केहि कामदारहरु बस्थे, अर्को चाहि अलिकति पर सुनसान ठाँउमा जहाँ सजल एक्लै बस्न रुचाँउथ्यो। उनिहरु बस्ने घर सानो एकतल्लाको थ्यो, तलको तलामा बैठक र सजलको घर-अफिसको कोठा, माथी चाहि ठुलो सुत्ने कोठा र त्यो सङै जोडिएको सानो अर्को कोठा।
"ल अब तिमी आराम गर। यो तिम्रो घर हो जसरी मन लाग्छ सजाउ। केही चाहियो भने सजललाइ वा मलाइ निर्धक्क भन्नु। तिम्रो लुगाको सुट्केस लिएर गीता आँउदैछे …"

नभन्दै उसको आबस्यक लुगा र गहना भएको सुटकेस बोकेर एउटी जवान केटी कोठामा प्रबेश गरी। सुटकेस भुइँमा राखेर उसलाइ "दर्शन" गरी। सलक्क परेको मिलेको शरिर, रातो सिल्की कपाल, सफा अनुहार हेर्दा उ घरमा काम सघाउने केटी जस्ती देख्दिन थी। गुलाबी कुर्तामा गीता अझै राम्री खुलेकी थी।

"हजुरले मलाइ बोलाउनु परेमा यो त्यहाँ 'प्रेस'गरिस्योस।" उनिहरुको खाटको छेउनिरको घन्टीको स्विच देखाँउदै गीताले भनी। कोठाको कहाँ के के छ अबगत गराँउदै सासु र गीता उसलाइ छोडेर गए।

शायद सजल साथीहरुसङ कुरा गरिरहेको होला भन्दै निलु खाटमा पल्टी। खाट निकै ठुलो र फराकिलो थियो, ६ जना सुत्न मिल्ने जस्तो। राम्रै भयो, राती निलुलाइ निद्रामा घुमी घुमी सुत्ने बानी थियो। राती उसको टाउको भएको ठाँउमा बिहान बिउँझिदा उसको खुट्टा हुन्थ्यो। ठुलो खाटमा उ सजललाइ नछोइकन मज्जाले सुत्न सक्छे। निलुलाइ सारीले कसेको जस्तै भयो। बल्ल उसले दिनभरिको थकाइ महसुस गरी। उसलाइ मुख धुन मन लाग्यो र लुगा फेर्न मन पनि। गहना र मुन्टो निँउराउदा निँउरादा उसको गला भारी भैसकेको थ्यो। सुत्ने बेलामा किन लाउनु पर्‍यो गहना। उ उठेर कोठासङ जोडिएको बाथरूम भित्र गइ। ऐनामा हेर्दा उ झस्की, उ त सजलकी दुलही हो। सजल नआइकन उ कसरी आफै लुगा फेर्न सक्छे। उसले लोग्नेलाइ कुर्नु पर्छ। प्रेममय पहिलो रात हो उसको जिवनको। पुरुष स्पर्श, प्रेम र सुखद यो रात हरेक नारीको जिवनको महत्वपुर्ण घडि हो।

निलुले मामु, बुबा, भाइ, बैनीहरु सम्झी। सबैले अहिले उसलाइ सम्झि रहेका होलान्। उसको कोठामा आज को सुत्यो होला? कति शुन्य भयो होला उ बिनाको उसको माइती? पर्सी त उ माइती जान पाँउछे, त्यो रात उ त्यहीँ बस्छे। फेरि भाइ बैनीहरु सङ बसेर गफ गर्छे, हाँस्छे, रातीसम्म फिलिम हेर्छे। के फरक फर्छ र त्यस्तो? उसको घर र माइती कति नैं टाढा छ र? तर, सासुले उसलाइ धेरै माइती नबस भन्नु भयो भने उ सजललाइ फकाँउछे। उ सजलले उसको कुरा सुन्छ भन्ने कुरामा निस्चिन्त भइ।

घन्टाघरको सुइले ११ बजायो। उसको कोठाबाट प्रस्ट सुनियो। उसलाइ निद्राले झुप्प पार्‍यो। सजल नआइकन कसरी सुत्नु? के भन्ला सजलले? निलु खाटमा पल्टी। निद्रा लागेपनि मनमा लुकेका भयहरु लाइ केलाँउदै बसी। सजल आएर उसलाइ जिस्कायो भने, उसको नजिकै आयो भने, उसको हात समातेर अङाल्यो भने। उ के गर्छे? उसको छातिभित्र मुटु ढुकढुक भयो। सजलको शरिरले उसको शरिरलाइ बेर्‍यो भने, उ के भन्छे? सजल त्यस्तो छैन, उ भलादमी छ। पहिला मिठा मिठा कुरा गर्ला अनि त्यसपछि माया। फेरि मन डरायो निलुको। सजलले उसको अनुहारलाइ तातो ओठंले छोयो भने, सजलको हातले उसको शरीरलाइ सुम्सुम्यायो भने। के उ रुन्छे ? कि सजललाइ भन्छे उसलाइ एक्दम डर लागेको छ भनेर। निलु बिन्ती गर्छे सजललाइ उ भित्रको लाजलाइ आजको रात प्रेमपुर्बक अङाल्नु भनेर। सजल उसको लोग्ने हो। त्यसैले उ चुपचाप समर्पित भइदिन्छे। यो मिलनको रात, यो क्षण, यो पललाइ उ जिन्दगीभरि आफ्नो मुटुभित्र सङाल्न चाहन्छे।

कोठाको ढोका " घर्‍याक्क" खोलियो। शायद सजल भित्र आयो। उसले आँखा चिम्लेर सुतेको जस्तै गरी कुरिरही। सजलले ढोकाको चुकुल लगायो। निलुको शरीर ज्वरो आएको जस्तै तात्तिन थाल्यो। सजल बाथरुम गयो। निलु अब के होला भन्दै बसी, तर आँखा खोलिन। केहि बेरपछि सजलले बत्ति निभायो। निलुको शरीरमा काँडा उम्रियो। मनमनै भगवान पुकारी। सजल खाटमा आयो, निलुले आफ्नो शरीरलाइ खुम्चाउन मिल्ने जति खुम्चाइ, उसलाइ झन डर लाग्यो। सजल पल्टियो खाटमा, अलिकति चलमलायो, लामो स्वास फेर्यो। निलुले स्वास रोकेर बसी। उसको हातभरी पसिना आइसकेकोथ्यो। जिउ फुलेर भारी भै रहेको थ्यो। सजलले उसलाइ बोलाएन, न त सुतेको छ कि छैन भनेर हेर्‍यो। केहि बेरपछि निलुले सजल घुरेको सुनी।

सजल सुतेको भनेर थाहा पाए पछि निलु चिसो भइ । के पहिलो रात यस्तै हुन्छ ? त्यसो भए मान्छेहरु बिहेको रातलाइ किन बिशेस भन्छन्? सानीले किन त्यसै जिस्काइ उसलाइ ? सजल कोठामा आउनासाथ कसरी सुत्यो? जबकी उसलाइ सुत्न मन लागे पनि सजललाइ कुरेर बसी। उसको शरीर गल्यो, निलुको निद्रा सबै भाग्यो। घन्टाघरको घडीले १ बजायो, २ बजायो, निलु सुत्न सकिन। उ कारण जान्न चाही सजलले किन उसलाइ हेरेन। दिँउसो जग्गेमा उसले लुकि लुकि सजललाइ हेरेकी थी। सजल अरुतिर मात्र हेरिरहेको हुन्थ्यो। के सजलले उसलाइ मन पराँउदैन? त्यसो भए किन बिहे गर्‍यो त ? कि उसको अर्कै केटी छ? छ भने भन्नु पर्थ्यो पहिले नैं। अब समय बितिसक्यो। दुनियाको अगाडी उसले निलुलाइ बिहे गरेर ल्याएको छ। नानाभाँती कुराहरुले निलुलाइ शंकित बनायो। उसलाइ बिहे अगाडी किन सजलसङ एक्लै कुरा गरिन भन्ने पछुतो लाग्यो। उसको जिबन भर्खर शुरु मात्र भएको छ। उसले कहिले पनि अरु केटालाइ त्यस्तो नजरले हेरिन। उसलाइ मन पराउनेहरु नभएका होइनन्। तर बुबाले प्रेम बिबाह घरमा बर्जित गर्नु भएकोथ्यो। त्यसैले उसले कसैलाइ पनि आश देखाइन। मनमा अंकुरित प्रेमलाइ मौलाउनै दिन। सजल नैं उसको जिबनको पहिलो पुरुष थियो जसको लागी निलुको मनमा प्रेम पलाएकोथ्यो। सजल त्यति राम्रो र सफल छ, प्रतिस्ठा र सम्पति भएको केटाको कोहि प्रेमिका नहुनु असम्भव ! झन उ देश बिदेश घुम्ने मान्छे, उसको पछि कति केटीहरु लाग्छन होला? कतिसङ उसको प्रेम पनि भयो होला, निलुले यो कुरा किन सोचिन? उसको बुबाले यो सबै कुरा किन खोज्नु भएन? के अब निलुको जिवन आँशुमा डुब्ने भयो? के सजल ले नाटक जस्तो बिहे गर्‍यो? निलु छटपट्टाइ। कस्तो नराम्रो कुरा मात्र सोचेकि? अर्को सकारात्मक मनबाट निलु बोली। सजल थाकेको हुन सक्छ र निलु सुतिसकी भनेर उ पनि सुतेको हुन सक्छ। के यो पहिलो रात मात्र छ र उनिहरुको जिन्दगीमा? भोलीको रात पनि छ नि। जिबनभरीका अनगिन्ती रातहरु कुरेर बसेका छन् निलुको पबित्र बैंशलाइ प्रेमपुर्बक त्रिप्त बनाउन। घन्टाघरको सुइले बिहानको ४ बजाँउदा निलुको बोझिल आँखाहरु बिस्तारै निदाउन थाले।


मुखैमा घाम टलक्क परेपछि निलु ब्युँझि, ९ बजिसकेकोथ्यो। पहिले त उसलाइ यो कस्को कोठा हो जस्तो लाग्यो। त्यो उसको माइतीको जस्तो थिएन। नौलो कोठामा आफुलाइ पाएर पहिले त सपना हो कि बिपना उसलाइ छुट्याउन गार्हो भयो। तर भारी गहना र रातो सारीले फेरि उ सजलको बिहे गरेकि नयाँ दुलही भनेर झस्की। खाटको छेउमा सजल थिएन। शायद बिहानै उठेको हुनु पर्छ। कोठाको सामानहरु, भित्ता र सजावट यथावत थिए। हिजो जस्तै, उसको कुमारी रात जस्तै। बिहेको भोलिपल्ट नैं उ उठ्न अबेर भएकी थी। मनमा सासु र अरुले के भन्ला भन्ने डर पनि लाग्यो र सुट्केसबाट बाथरोब झिकेर उ बाथरुममा नुहाउन गइ। चिसो पानीले शरीरलाइ छुँदा उ आनन्दित भइ। उ पानीको फोहोरामा हिजोको थकाइ बिसाएर ताजा महसुस गर्न थाली। उसले एक्छिनलाइ बिहे भइसकेको कुरा पनि बिर्सी।
चिसो कपाललाइ रुमालले बेरेर बाथरोब लाएर उ कोठामा आइ। सजल दराजमा केहि खोजिरहेकोथ्यो। उसलाइ देखनासाथ एकछिन टक्क अडियो र हेरिरह्यो। निलुलाइ कहाँ हेर्ने कहाँ हेर्ने भयो। सजलको आँखामा केहि थिएन, न त आफन्तको न्यानोपन न त परायाको चिसो भाव। शुन्य थियो केबल शुन्य भाव। निलु बाथरोबभित्र निर्बस्त्र थी। घुँडा भन्दा मुनि सजलले हेरेकोथ्यो। सजल लोग्ने, उ स्वास्नी। खै त्यस्तो चुम्बकिय आकर्षन जुन जवान नारी र पुरुषमा हुन्छ।
उनिहरु कोठामा त्यो
एक्लै थिए। एकछिन पछि केहि सम्झे झैं गरी सजलले सोध्यो।

"तिमीले चिया खायौ?" कस्तो प्रस्न हो उसको लोग्नेको। निलुलाइ मनमनै हाँस्न मन लाग्यो।

"छैन ।" सजललाइ हेर्दै उसले सोधी।"हजुरले नि?"

"मलाइ हजुर भनेको मन पर्दैन। "तिमी" भने पुग्छ। मैले बिहानै "बेड टी" खाइसके। गीताको हातको बेड टी नखाइकन म बिहान उठ्नै सक्दिन। एक्दम मिठो चिया बनाँउछे गीता।"

निलुको मनमा चिसो पस्यो । एकाबिहानै उसको लोग्ने "गीता"को तारीफ गर्दैछ। चिया पकाउन जान्दैमा के भो त? सजलको स्वास्नी त निलु नैं हो नि।

"म गीतालाइ तिम्रो लागी चिया बनाउ भन्छु।" सजल कोठाबाट बाहिर निस्क्यो।

त्यति हो उसको लोग्नेसङको कुराकानि निलुको। त्यो पनि बिहेको भोलीपल्ट। कपाल सुकाउन भनेर निलु "ड्रायर" खोज्दै थी। गीता चिया लिएर आइ।

"दर्शन ! महारानी।" अलि धेरै झुकी गीता।

"किचेनमा को को छ?" निलुलाइ गीताको मुख हेर्नै मन परेन।

"किन र हजुर?" गीता छक्क परी।

"मलाइ अरुले पकाको चिया मन पर्दैन। आफै पकाएर खाने बानी छ।" फेरि सोचेर निलुले भनी।"भैगो आजलाइ। म तिमीले ल्याएको चिया खान्छु।"

गीता गएपछि सासु आउनुभयो र त्यो दिनभरीको कार्यक्रमको सुची बताउनु भयो। पुजाको लागि मन्दिर जानु पर्ने रैछ बिहेको भोलिपल्ट। त्यहि साँझ होटेलमा बिहेको पार्टी पनि। त्यो दिन पनि निलु सासु र बाहुनले जे भन्यो त्यही गर्दै बसी। बिहान ११ बजे सुरु भएको पुजा दिँउसो २ बजे सकियो। त्यसपछि खाना खाएर निलुलाइ आराम गर्न लगाइयो। सजल कोठामा आएन। निलु धेरै थाकेकी थी। रातको निद्रा पनि पुर्याउनु थ्यो र ४ बजेदेखी फेरि उसको साज श्रीङार गर्न ब्युटिसिअनहरु आँउदैथे।
सजल ५ बजे कोठाभित्र हतार हतार आयो र दराजबाट के के लुगा लाउने भनेर झिकेर लग्यो। त्यतिखेर निलु फेरि पार्टीको लागी सज्जिदैंथी। कुरा गर्ने समय पनि थिएन। सबै तयार भएपछि घरका सबै सदस्यहरु निलु र सजलसङ होटेल पुगेर पाहुनाहरुको स्वागत सत्कार गर्न थाले। सजल अलि तनाबमा देखिन्थ्यो। घरि घरि उसको मोबाइल भाइब्रेट भइरहेको निलुले सुन्थी। त्यो ब्यस्ततामा सजलले मोबाइल उठाएन, तर उसको अनुहार अरु चिन्तित देखिन थालेकोथ्यो। पार्टीमा निलुको परिवारहरु पनि आउनुभयो। मामुले "कस्ती राम्री देखिएकी" भनेर अङाल्नु भयो। बैनीहरुले सजललाइ जिस्काए। सजल उनिहरुसङ उस्तै तरिकाले कुरा गर्दै थ्यो। जस्तो उ बिहे अघी गर्थ्यो। पार्टी सकेर घर पुग्दा रातको १२ बजिसकेको थ्यो। त्यसैले सासुले अब तिमीहरु सुत्न जाउ भनेर पठाउनु भयो। सजल तल उसको अफिस कोठामा गयो। निलु सुत्ने तर्खरमा लागी। दोस्रो रात पहिलो रात जस्तो धेरै उत्सुक रहिन निलु। तन्ना कस्दै गर्दा सजल भित्र आयो। कोठाअगाडिको कौसीमा गयो उ। अनि एकछिनपछि फेरि आएर भन्यो।

"निलु, म धेरै टेन्सनमा छु।"

निलु टुलुटुलु सजलको अनुहार हेरि रही । मनभित्र अनेक शंका आशंकाहरुले घेर्न थाले। सजल केहि भन्न लाग्दैछ। उसको शंका सत्य हुन लागेको हो? यो उसको बिहे पछिको दोस्रो रात मात्र हो। स्वास रोकेर बसी निलु। डरले निलुको मुटु काँप्यो। भित्र भित्र भगवानको नाम जप्न लागी।
"मेरो बैंककको बिजिनेसमा ठुलो समस्या आएको छ।" सजलको भनाइमा गम्भिरता देखियो।
निलुको आँखा रसाए। बेकारमा पाप सोच्छे, यो सबै त्यो हिन्दी सिरिअलहरुको हेरेको परिणाम हो। मन ढुक्क भएपछि सजलप्रति अझ धेरै माया पलायो उसको।
"तिमी चिन्ता नगर। ब्यापारमा यस्तो भैरहन्छ। मैले अलि बढी समय मेरो कामलाइ दिनु पर्छ। तल अफिसमा थुप्रै रिपोर्टहरु तयार गर्नु छ। शायद बैंककको मेनेजरसङ फोनमा कुरा पनि गर्नु पर्छ होला। तिमी सुते हुन्छ।" सजल निलुले केहि भन्न नपाँउदै कोठाबाट बाहिरियो। कस्तो मान्छे रैछ, त्यस्तो समस्या भाको बेलामा किन बिहे गर्या होला। अलिक पछि बिहे सारे पनि त हुन्थ्यो नि। घरमा सबै कुरा मिलिसकेकोथ्यो। सजल स्वार्थी पनि लाग्यो उसलाइ। आफ्नो कुरा चाहिँ सुनाउने, उ के भन्न चाहन्छे, त्यो चाहि नसुन्ने। हुन त निलुले आफैलाइ दोष दी। किन बोलिन उ सजलको सामु? उसको शब्दहरु कहाँ अडके त ? केहि भन्नु पर्थ्यो निलुले सजललाइ ? तर के भन्नु पर्थ्यो उसले सोच्न सकिन। दोस्रो रात पहिलो रात जस्तो नकारात्मक कुराहरु आएन उसको मनमा। उसले कारण थाहा पाइसकि, सजलको काममा ठुलो टेन्सन छ। उसले सुनेकी थी बैंककमा सजलको ठुलो गहना शोरुम छ। त्यो रात उसले भोली माइत जाने कुरा कल्पिदैं एक्लै सुती।
बिहेको तेस्रो बिहान पनि निलु कुमारी ब्युँझी र जन्मघर जाने खुशीमा सबेरै उठी। सजल कोठामा थिएन, शायद कामको टेन्सनमा उ तल सुत्यो। त्यस दिन आफै किचेनमा गएर चिया पकाइ। सासुले उसलाइ माइती जाँदा कुन गहना र सारी लाउने भनेर सुझाब दिनु भयो। त्यो एक रात निलु माइतीमा बस्ने र अर्को साँझ घर फर्किने भन्ने कुरा भयो। उ बिहानभरी मन पर्ने गीत गुनगुनाइ। सजल उनिहरु निस्कनु भन्दा १५ मिनेट अघि मात्र कोठामा आयो, नुहाउन गयो र ११ बजेतिर सजल र उ कुपोन्डल पुगे। त्यति थोरै समयभित्र निलुले सजललाइ केहि भन्न रुचाइन। सजलले पनि केहि सोधेन अथवा भनेन पनि। माइती जाँदा उ दुखी देख्न चाहन्नथी। बाटोमा सजलको मोबाइल बजिरह्यो। सजलले खाली "यस" र " नो" मात्र भनेको सुनी उसले।
कुपोन्डलमा पुग्नासाथ भाइ बैनीहरु सजलसङ झ्याम्मिन थाले। उ हाँसी हाँसी सबैसङ कुरा गर्न थाल्यो। बुबा मामुलाइ पनि अति नै नरम मिजासले सम्मान दिन्थ्यो। घरको सबै मान्छेहरु उसङ धेरै नजिक भए झैं देखिन्थे। निलु जो उसको सबभन्दा नजिकको मान्छे, उसकी स्वास्नी, बिहे गरेको तेस्रो दिनसम्म पनि उसङ सामान्य कुराकानी गर्ने हिम्मत राख्न सक्दिनथी। टाढाबाट निलुले सजलको ब्यबहार नियाली रही र आफैलाइ सोधी। उ किन सजल सङ नजिकिन सक्दिन?
खानपिन भयो, सजलले मोबाइलमा बेला बेलामा चेक पनि गर्दैथ्यो। २ घन्टापछि सजलले उसको एउटा पुतलीसडकमा उसको नयाँ क्लाइन्टसङ जरुरी मिटिङ छ भनेर उठ्यो। बुबाले ब्यापारमा यस्तै हुन्छ भनेर उसलाइ बिदा गर्नु भयो। जाने बेलामा निलुले सजलको अनुहारमा उसको लागी केहि कुरा खोजीरही। उसले केही पाइन। ढोकाबाट निस्किदाँ पनि सजलले एकचोटि उसलाइ फर्केर हेरेन। मानौं निलु उसको स्वास्नी होइन, उसले निलुलाइ चिनेकै छैन। निलुलाइ चसक्क छाती पोल्यो। के सजल उसलाइ सधैको लागी छोडेर गएको हो? जाने बेला त एकचोटी उसलाइ हेर्नु पर्थ्यो। केही भन्नु पर्थ्यो। उ सजल गएको बाटो हेर्दै थी, उ फर्केर उसलाइ लिन आँउछ कि आँउदैन भनेर सोच्दै थी.......
"निलु मैयाँ, हजुर त बिहे पछि पनि उस्तै।" सानीले झस्काइ उसलाइ।
"हो त नि सानी, म अहिले पनि उस्तै छु, जस्तो बिहे नगर्दा थिएँ।"
"खोइ हजुरको निधारको रातो टिका?" सानीले आफ्नै टिका झिकेर उसलाइ लगाइदी।
साँच्चै उसको टिका कहिँ खसी सकेको थियो।

निलुलाइ टिका निधारमा हुनु र नहुनुमा केहि फरक लागेन। बिहे भएको र नभएकोमा पनि केहि फरक लागेन। उ त उही छे। अबोध, अन्जान र सरल केटी, जस्तो उ पहिला थी। त्यो साँझ भाइबैनीहरुले बिशेस कार्यक्रम बनाए निलुको लागि। सबैजना मिलेर निलुको मनपर्ने फिलिम हेर्ने। त्यो सङै उनिहरुले निलुलाइ "सरप्राइज" दिने योजना बनाए। निलुको मन सजललाइ खोजिरहेको हुन्थ्यो। अहिले उ के गर्दै होला? कहाँ होला? निलुलाइ सम्झिदैं होला वा नहोला? आदी, इत्यादी।
बेलुकीको खाना खाएर भाइबैनी सबै निलुको कोठामा जम्मा भए। उनिहरुको उमेर धेरै भनेको १ बर्सको फरक थियो। सबैभन्दा कान्छी बैनी १९ भैसकेकी थी, त्यसैले उनिहरु निलुको साथी जस्तै थे। सानी पनि उनिहरुको कार्यक्रममा सधैं सरिक हुन्थी। उ त्यहीँ क्वार्टरमा बस्थी। उसको लोग्ने नेपाली सेनामा सुबेदार थ्यो। कहिलेकहिं सानी लोग्ने बाहिर हुँदा निलुकै कोठामा सुत्थी।
ठुलो भाइले सुनिल दत्तको पुरानो "पडोसन" भन्ने फिलिम डेकमा सुरु गर्यो। सबैजना पहिलो चोटि हेर्न बस्या जस्तै गरेर चुपचाप भए। निलुको मनको फिलिममा सजल नाच्न थाल्यो, र सङसङै अर्को धुमिल छाँया पनि देखियो। चिन्या चिन्या जस्तो कोहि केटी। गीता आइ सजल सङै अनि उनिहरु त्यही खाटमा बसेर कुरा गर्न थाले। सजल हाँस्न थाल्यो, गीता मस्किन थाली। सजलले गीताको हात समातेर तान्यो। गीत लाज माने झैं गरी। निलु सुत्ने खाटमा सजल र गीता प्रेमालाप सुरु गर्न थाले। कोठामा ठुलो हाँसोको फोहरा छुट्यो, निलु झसङ भइ। सबै जना फिलिम हेरेर हाँसेका थे।
निलु नहाँसेको सुनेर सबै छक्क परे र निलुको अनुहारमा हेर्न थाले। निलु अकमक्क परी।

"दिज्यु, तिमीलाइ के भयो?" सानो भाइले सोध्यो।

"किन ? के भयो र?" निलुले उल्टो सोधी।

"यो तिम्रो मनपर्ने द्रिश्य होइन?" ठुलो भाइले फिलिम "पज" गर्यो।

"तिमी मुर्छा पर्थ्यौ हाँसेर, यो सीन हेर्दा जहिले पनि।" ठुली बैनीले भनी।

"कुन सीन?" निलु झनै अल्मल्लि।

"सुनिल दत्तलाइ गीत गाउन सिकाँउदा, ढोकामा गधा आएर "ढेँचु, ढेँचु" गर्ने सिन के त?" सानीले स्पस्ट पारी।

"हो त" बल्ल सम्झी निलुले।

निलुको मन फिलिममा नभएको देखेपछि सबैले अर्को पार्टी सुरु गरे। सानीले उसको लोग्नेले शान्ति सेनामा जाँदा लेबनानबाट ल्याएको "बैली" भन्ने आइरिश् रक्सी ल्याइ। आलु चिप्स्, बदम र काँक्रा काटेर ल्याए भाइ र बैनीले।

"निलु मैंयाँको लागि यो है?" सानीले अरुलाइ सचेत गराइ।

"हामी त साथ दिने मात्र त हो नि।" ठुली बैनी पनि खुशी भइ। सबैले निलुको खुशीको लागि 'चियर्स' गरे र निलुले पहिलो घुट्को मुखमा राख्नासाथ 'आइसक्रिम'को स्वाद महसुस गरी। घाँटीबाट पेटमा जाँदा पोलेको अनुभव भयो। तर यो पोलाइ सजलको ब्यबहार भन्दा त्यती पोल्ने थिएन। १ पेग सकिन लाग्दा, निलुको गाला तात्तिएर खुट्टाहरुमा रम रम गर्दैथ्यो। निलुको बोली फुट्न थाल्यो। उसले बैलीको स्वादको प्रसंशा गरी। सानीको प्रशंशा गरी र भाइ बैनीहरुको मायाको लागि धन्यबाद दी। निलु खुशी भएको देखेर सबै रमाए।

"निलु दिज्यु, हजुरलाइ राजेश हमालले किन बिहे नगरेको थाहा छ?" कान्छी बैनीले सोधी।

"अँह..!" बैनीलाइ हेरि उसले।" किन रे?"

"राजेश हमालको त्यो छैन रे नि क्या।" बैनीले भनी।

"हो र???" आशर्यचकित स्वरमा सोधी निलुले।

"सबै त्यस्तै भन्छन् राजेश हमालको त्यो छैन रे।" बैनीले फेरि दोहोर्याइ।

"अँ होला खुब। कसले थाहा पाको नि त्यस्तो कुरा?" निलुलाइ बिस्वास लागेन।

"हो क्या दिज्यु, राजेश हमालको बिहे गर्ने मन छैन रे।"

निलुको हाँसो फुट्यो। तीन पेग त सकिसक्या थ्यो चौथो पेगमा उसलाइ हाँसो बिना अरु केहि आँउदैनथ्यो। निलु "राजेश हमालको त्यो छैन।" भन्दै सोफाबाट लडिबुडि गर्दै हाँसेर भुइँमा खसी। एक्छिन चुप लागी अनि फेरि "राजेश हमालको ....।" भन्दै हाँस्न थाली। भाइ बैनीहरु एक अर्काको मुख हेर्न थाले।

सानीले सानो स्वरमा भनी। "निलु मैंयालाइ लागेछ।"

"अब के गर्ने?" सानो भाइ डरायो।

"तिमी त हो नि दादा, आज निलुको मुड अफ छ आज ड्रिन्क नगरौं भन्दा नमान्ने।" ठुलो बहिनिले ठुलो भाइलाइ भनी।

"मलाइ मात्र के दोश? हामी सबैले आज निलुलाइ खुशी बनाउने भन्या होइन? ठुलो भाइ पनि रिसायो।

"चुप लाग तिमीहरु।" निलुले लागेको सुरमा बोली।
"मलाइ रक्सी खाएर लाग्या होइन।" स्पस्टिकरन दी।

"ए, तेसो भए कसरी लाग्या त?" सानीले जिस्काइ।

"रक्सी खानु भन्दा पहिले नै लागेको।" निलुको कुरा सुनेर सबैजना मरुन्जेल हाँस्न थाले।
तुरुन्त किचेनमा गएर कोहि दही लिएर आए। कोहि कागति लिएर आए निलुको नशा उतार्न। निलु लगातार "राजेश हमालको......" भनी रहन्थी। अचानक उसले "सजलको त्यो छैन" भन्न थाली। लौ भएन भनेर भाइहरु आफ्नो कोठातिर लागे। सानी क्वार्टरमा गइ। दुइ बैनीहरुले निलुलाइ मुख् धोइ दिए, दहि खुवाए अनि १ घन्टा पछि निलु आफै सुती।
बिहान फोनको घन्टी बज्दा निलुको टाउको फुट्ला जस्तो भएर दुखिरहेकोथ्यो। मनमनै अब कहिले पिउदिन भनेर कसम खाइ र फोन उठाइ।

"हेल्लो,"

"निलु म बोलेको।" सजलको स्वर सजिलै चिनि उसले।

"भन,"

"मेरो अर्जेन्ट मीटिङ पर्यो बैंककमा म आज दिंउसोको फ्लाइटमा जाँदैछु।" ह्याङओवर हरायो निलुको।

"कहिले फर्किने?" हतार हतार सोधी निलुले।

"म सकेसम्म छिट्टै आँउछु।" सजलले सामान्य तवरमा बतायो। निलु मौन रही। सजलले पछि फोन गर्छु भनेर राखिदियो।
फोनको रिसिवर कानमा राखेर निलु सोच्न थाली। बिहे भाको चौथो दिन उ एक्लै हुने भइ। सजल हुँदा पनि त उ एक्लै नै त थी। सजल हुनु र नहुनुको फरक छुट्याउन सकिन निलुले। अर्थात् लोग्ने हुनु र नुहुनुमा केहि भिन्नता देखिन। सजललाइ झन् बलियो बहाना मिल्यो निलुसङ टाढा हुने। निलु सजलसङ नजिकिने उपायहरु खोज्न थाली।
"निलु मैयाँ, कस्को फोन?" सानी देखेर निलु झस्कि। फोन हत्तपत्त राखी।

"सजल बैंकक जाँदैछ आज। उसको एकदम जरुरी मीटिङ छ रे।"

"कस्तो अचम्म!" सानी छक्क परी।

"किन र सानी?"

"किन पनि होइन। हुन त ठुलाबडाको कुरा अर्कै हुन्छ होला।"

"किन भन्न?" निलुले अलिकति आशा राखेर सोधी।

"हिजो राती त हजुर खुबै के के भन्दै हुनु हुन्थ्यो नि। सजल राजाको के छैन भनेर। बिहे गरेपछि निलु मैंयाँ कस्तो मात्तिएको बाइ? त्यस्तो कुरा पनि जोक गर्ने हो त?" सानीले आँखा घुमाँउदै भनी।

"मैले जोक गरेको होइन।" निलु अन्जान पारामा बोली।

"आफ्नो लोग्नेको त्यस्तो कुरा पनि थाहा हुन्न त?"

"मलाइ के थाहा नि? सजलले मलाइ अझैसम्म छोएकै छैन त। मलाइ उसको हात नरम, कडा कस्तो छ पनि थाहा छैन" निलुले कसैलाइ भन्दिन भनेको कुरा फुस्क्यो।

"झुठ नबोल्स्यो त निलु मैंयाँ। त्यस्तो पनि कहिं हुन्छ?"

क्रमश:

   [ posted by crazy_love @ 10:46 AM ] | Viewed: 3327 times [ Feedback]


: