चन्द्र अनि सूर्यले सु-सज्जित मेरो झण्डा,
जब सिरेटोको बहावमा बहन थाल्छ ।
सुन, चाँदि, हिरा झै टल्कन थाल्छ ।
अनि मेरो छाति गर्वले फुल्न थाल्छ ।
म बिर्सन्छु आफुलाई,
कुनै डर छैन् मलाई,
किनभने आकाश झै झण्डा म माथि छ ।
मलाई बेरेको छ ।
मैले ओढेको छु ।
आहा,
मैले रमाएका ती दिनहरू,
बितेका न्यानो रातहरू,
मानस पटलको कुना कुना सम्म,
दौडिएका छन् सम्झनाहरू ।
कहिल्यै नमिट्ने गरि ।
तर कहाली लाग्छ, अध्यारो छाउँछ ।
मात्र एउटा कालो वादल कहाँबाट आयो ।
जीवनलाई कहाँ पुर्यायो ।
बोक्न पनि कति सकेको पानी ।
अम्लिय पन पनि कति बढेको ।
रूझाएर मात्र पुगेन उसलाई ।
खियाउन पनि थाल्यो ।
मलाई के थाहा,
मेरो झण्डा भिज्छ भनेर,
भिजेर रगत निकाल्छ भनेर ।
बिचरा चन्द्र रातिएको छ, सूर्य आत्तिएको छ ।
रक्ताम्य भएको छ, आफ्नै रगतको झरीले गर्दा ।
उफ ! हिजो सम्म उज्यालो दिने सूर्य,
अनि छायाँ दिने चन्द्र ।
आज यहाँ, टाउँको फुटेको छ ।
हात उछिट्टिएको छ ।
पेट चिरिएको छ ।
खुट्टा भाँचिएकै छ ।
सोलुखुम्बु नै किन नहोस् ।
रोल्पा रुकुम नै किन नहोस् ।
पूर्व मेचि अनि पश्चिम महाकाली,
जहाँ हेर्यो लडाएकै छ, लडेकै छ ।
चढेकै हागाँ काट्ने कालिदास पो थियो रे ।
तर यहाँ,
रामे जति रावणे भएछ ।
देवता जति सबै भागेछ ।
मलाई के थाहा सबै सहनु पर्छ भनेर ।
आफ्नै रगतले आफै पोतिन्छु भनेर ।
अव,
पोतिएको चन्द्रलाई औंसी कटाउनु छ ।
पोतिएको सूर्यलाई रात बिताउनु छ ।
सायद,
पूर्णीमा उदाउछ कि ।
दिन आउँछ कि ।
हे वादल,
विन्ती छ गई दिऊ,
बरु मेरो प्राण लिऊ,
तर, रातो पानि चाहि नपठाऊ ।
अनि, मेरो झण्डा बचाऊ ।
२०५८।०८।२७ © 2008, P. Gurung