:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

झ्यालको डन्डीमा घोप्ट्याएको सलाइन पानीको बोतलको मुखबाट एउटा निश्चित अन्तरालमा पानीका थोपा तप् तप् गर्दै तल पाइपमा चुहिन्थे। कुम्ले एक टकले पानी चुहिएको हेर्दै थियो। उसको मुहारमा आज बिहान देखिको बदमाशी र क्रुरता सधैँलाई हराए जस्तो देखिन्थ्यो र अहिले यो क्षणमा उसको मुहारमा संसारभरिको निर्दोशता व्याप्त थियो। उसको मनले शायद भन्दै थियो, एउटा सानो बोतलमा भएको पानी सियोले घोचेर मान्छेको नशामा छिराउँदा मरेको मान्छे ब्युँतिने यथार्थ उसले बुझेर बुझिनसक्नुको छ।

मदनवा भर्खरै उसको कोठामा गएको थियो।

कुम्लेले बिरामी जाच्ने कोठा चारैतिर हेर्यो। सफा सुग्घर कोठा थियो। एउटा खाट थियो जसमा रिट्ठे सुतेको थियो। अलि पर एउटा काठको दराज भित्तामा टँसाएर राखिएको थियो; शायद औषधीहरु थिए त्यसभित्र। भुइँमा दुईवटा गुन्द्रीहरु थिए जसमा एक भन्दा बढि बिरामी आएमा राखिन्थ्यो शायद। उता दुई भित्ताको कुनामा केहि कागजका बन्द बाकसहरु थिए र त्यसभित्र यो बर्खालाई आइपुगेका औषधीहरु थिए जुन खुलेका थिएनन्।

रिट्ठे शान्त थियो र उसका आँखा बन्द थिए। गाला तथा च्यापुमा रौँहरु बढेका थिए र उसको अनुहार हल्का पँहेलो देखिन्थ्यो।

कुम्लेलाई कोठा भित्रको वातावरण खै किन हो भयावह लाग्यो। ऊ अलिकता खुम्चियो र एक पटक रिट्ठेलाई र धेरै पटक सलाइन पानीको थोपा चुहिएको हेर्दै उठेर बाहिर आयो।

बाहिर शीतल थियो। ठूलो आँगनमा कतै हिलो जमेका थिए त कतै झारहरु उम्रेका थिए। आँगनको डिलबाट तल चौतारी देखिन्थ्यो र अझै तल दोभानेमा खोला टल्किराखेको थियो। पारिपट्टिको बजार तुवाँलोले हो कि कुहिरोले हो ढाकेको थियो र त्यसमाथिको डाँडा तलपट्टि आधि मात्र देखिन्थ्यो, डाँडाको माथिल्लो भाग र आकाश, बादलले गर्दा एउटै भान हुन्थ्यो।

कुम्लेलाई अलिकता हल्का अनुभव भयो। भित्तामा अडेर लाएर टुक्रुक्क बस्यो र खल्तिबाट खैनीको पाउच निकाल्यो। बायाँ हत्केलामा केहि खैनि दायाँ हातले झार्यो र खैनीको पाउच दायाँ हात्केलामा गुजुमुजु पारेर च्याप्दै औँलाले खैनी च्यापेर मुखमा हुल्यो र पिच्च थुक्यो। खैनीको पाउच पहिलो पटक देखेको जसरी त्यसमा भएको चित्र हेर्न थाल्यो।

"खेनि खाइरहनु भएछ?"

काँधमा राखेको तौलियामा हात पुछ्दै मदनवा बाहिर निस्किएर भन्यो।

कुम्लेले पुलुक्क मदनवालाई हेर्यो र केहि नबोलि खैनीको पाउच मदनवातिर बढायो।

हमि यो खान्देन कुम्ले दाजु, हमि हमरो बिरान्डके खान्छ, उ चुनाको साथमा खाने!

खल्तिबाट एउटा प्लास्टिकको लाम्चो सानो डिब्बा निकाल्दै मदनवाले भन्यो र कुम्ले संगै उसैगरि टुक्रुक्क बस्यो।

कुम्लेले मदनवाले निकालेको सेतो डिब्बा निकै उत्सुकतापूर्वक हेर्यो र हँसिलो मुख बनाउँदै भन्यो-

एल्ले त रिंगाउला के रे नि? अस्तिन माछा मार्न जाँदा हर्केले कताडि ल्या रेछ कुन्नि, खोला बगरमा बसेर च्याप्या थेँ, त्याँटि भनननननन रिंगा'र भुतुक्कै बनायो मलाई त! अन्खेरुन फालेँ, त्याँसि तीनदिन भात खान नहुने गरेर चहर्यायो!

कुम्लेको कुरा सुनेर मदनवालाई अलिकता हाँसो उठ्यो, हाँस्दै डिब्बाको एक छेऊबाट सुर्ती र अर्को छेउबाट डिब्बाको बिर्कोले अलिकता चुना कोट्ट्याएर हत्लेकामा राख्यो र डिब्बा बन्द गरेर खल्तिमा राख्दै, खैनि हत्केलामा मल्दै भन्न थाल्यो-

खेँ खेँ खेँ कुम्ले दाजु, उ मुहको छाला जो छ उ मरनेको पर्छ पहले, उसको बादमा चुनावाला खेनि जो छ, बहुते आनन्द् दिन्छ।

मेरो चाइँ केइ लाग्दैन डाउडर चुनावाला खइनिसित!

कुम्लेले मदनवाले खैनी माडेको हेर्दै हार खायो।

मदनवाको देब्रे हत्केलामा दाहिने हातको बुढि औँला कुशलतापूर्वक घुमाउरो पारामा चल्मलाउँदै थिए। बेला बेलामा माड्न छाडेर दाहिने हातको चोर औँलाले हत्केलाको छेउ छेउमा पुगेका खैनि सोहोरेर बिचमा ल्याइपुर्याउँथ्यो र फेरि बुढि औँला घुमाउँदै मल्न थाल्दथ्यो। मदनवाले एक पटक दाहिने हत्केलामा देब्रे हत्केलाको थपडि हानेर खैनीको धुलो उडायो र नाक बिगार्यो। कुम्लेले जोडले हाच्छिउँ गर्यो र मुख बिगार्यो।

खार लाएर छिउँ नइँ आयो मेरो त!

अझै मुख बिगार्दै कुम्लेले भन्यो।

खेँ खेँ खेँकुम्ले दाजु तपाइँ बानि परेछेन त छिँकेछ, हमि बानि परेछु हमि छिँकदेन ऐसन खारसे!

हाँस्दै यति भन्दै मदनवाले फेरि एक पटक थपडि बजायो। अघिको भन्दा बढि धुलोहरु उडे र मदनवाले नचाहँदा नचाहँदै जोडले हाच्छिउँ गर्यो!

कुम्ले वाल्ल परेर मदनवालाई हेर्न थाल्यो र जोडले हाँस्यो।

मदनवा पनि मरि मरि हाँस्न थाल्यो!

सला पहलिबार जिन्द्गिमे खेनिके खारसे छिँक आयो!

मदनवाले भर्खरै गरेको गफ झूटो साबित होला भनेर आफैँलाई जोगाउने कोशिस गर्दै भन्यो र औँलामा खैनी च्यापेर मुखमा हुल्यो।

कुम्ले मदनवाको अनुहारमा अझै वाल्ल परेर हेर्दै थियो मानौ मदनवा कुनै अर्कै ग्रहबाट आएको प्राणी हो!

मदनवा केहि सम्झे जस्तो गरेर जुरुक्क उठ्यो र कुम्लेतिर हेरेर भन्यो-

दाल रखेथिएँ चुल्होमे देइखके आवँछु, तपाइँ रिठे दाजुको देख्न जानुहोस!

कुम्लेलाई भित्र जान मन थिएन। भित्र रिट्ठे बेहोश थियो र संसारकै सवैभन्दा नरमाइको दृष्य सलाइनपानिको थोपा चुहिँदै बेहोश रिट्ठेको हातमा छिरेको दृष्य थियो। उसले मदनवाले भनेको सुने नसुन्यै गर्यो। मदनवा उत्तरको प्रतिक्षामा कुम्लेलाई हेर्न थाल्यो।

कुम्लेले मदनवालाई हेर्यो। ऊ मदनवालाई दिने जवाफ खोजिरहेको थियो शायद, त्यहिबेला भित्र रिट्ठेले बिस्तारै कनेको जस्तो,कराएको जस्तो, रोएको जस्तो आवाज आयो। कुम्ले जुरुक्क उठ्यो। मदनवा रिट्ठेलाई राखेको कोठातिर लम्कियो, कुम्ले पछि पछि लाग्यो।

रिट्ठेका आँखा आधि खुलेका थिए र सुकेर पाप्रा जस्तो देखिने ओठमा बेला बेलामा जिब्रो फिराउँदै थियो।

झन्डै मर्या थिस तँ बजिया!

कुम्लेले ठूलो स्वरमा रिट्ठेको नजिक जाँदै सलाइनपानीको बोतल हेर्दै भन्यो।

केहि भए थिएन रिठे दाजु, उ डिहइडरेसन भए थियो कुम्ले दाजु तपाइँको हियाँ लियायो, हमि सैलन चढायो अब सब ठिकठाक हुन्छ सैलान सकनेको बादमा!

रिट्ठेले के भएको याद गर्ने कोशीस गर्यो। उसलाई ऊ बेहोश हुनुभन्दा पहिला कुम्लेले झुकेर हेरेको याद आयो। केहि नबोलि फेरि आँखा चिम्लियो; शायद जिउँदै छु भनेर ढुक्क भएको थियो।

तपाइँ आरामसे सुत्नुस रिठे दाजु सैलान सकनेको टेम लाग्छ उठनेको हुन्देन! हमि उधर खाना बनावँदे छ, सैलान सकनेको बादमा तीनजने मिलके खना खाने तपाइँ तग्डा हुन्छ!

मदनवाले सलाइनपानीको मात्रा हेर्दै मनमनै समय लाग्ने अनुमान गरेर भन्यो र ढोकातिर लम्कियो।

रिट्ठेले सहमतीमा अलिकता टाउको हल्लायो।

कुम्लेले केहि नबोली एकपटक रिट्ठेलाई हेर्यो र मदनवाको पछि लाग्यो।

बाहिर निस्केर एक पटक लामो सास तान्यो कुम्लेले र भित्तामा अडेस लाएर उभियो। मदनवा आफ्नो कोठाभित्र छिर्यो।

खै किन हो कुम्ले अब ढुक्क देखिन्थ्यो। कुम्ले सोच्न थाल्यो। अचानक उसलाई डोको र त्यसभित्र राखेको भाले याद आयो।

रिट्ठेलाई होश आइसकेको थियो र कुम्लेले भाले राखेको डोको उसैको थियो। शायद रिट्ठेले बेहोश हुनु भन्दा अगाडि कुखुरा पनि देखेको थियो। यहाँ कुरा लुकाउनु उसलाई ठिक लागेन। भित्र बाट मदनवाले बनाएको दालको बास्ना आईरहेको थियो। उसलाई भोक लागेको अनुभव भयो। उसको दिमाग चल्न थाल्यो। मनवालाई भालेको बारेमा जस्तो कुरा पनि ऊ बनाएर भन्न सक्थ्यो र रिट्ठे बिरामी थियो, उसले यहाँ नल्याएको भए बाटोमै मर्न सक्थ्यो। यस अर्थमा रिट्ठेले उसको उपकारको बदलामा भालेको कुरा थाहा पाइहाले पनि लुकाउनु पर्दथ्यो। बिहानै देखि धपेडि परेको थियो उसलाई र उसको भोक बढ्दै थियो। आधा दिन भैसकेको थियो र यहाँबाट घर पुगेर भाले पकाएर खान दिन पुरै बित्न पनि सक्थ्यो। ऊ डोको तिर लम्कियो र घुम हटायो। भित्र भालेको मुख सुरुवालबाट फुत्किएको थियो तर भाले चुपचाप थियो। उसलाई भाले मर्यो भन्ने लाग्यो र हात बढायो। उसको हातले भालेलाई स्पर्ष गर्नासाथ भालेले आवाज निकाल्यो। भाले जिउँदै थियो र शायद छोपेदेखि गिजलेको भएर हो थाकेको थियो। उसके केहि बेर केहि सोच्यो। उसले भालेको दुबै खुट्टा समातेर हातमा झुन्ड्यायो। भाले एक पटक फट्याक फुटुक गर्यो र चुप लाग्यो। भाले झुन्ड्याउँदै ऊ मदनवाको कोठातिर गयो।

भित्र मदनवा कसौँडिमा दाल घोट्दै थियो।

डाउडर!

कुम्लेले ढोकामा उभिएर बोलायो।

मदनवाले फर्किएर ढोकातिर हेर्यो। कुम्लेको हातमा झक्किको रातो भाले देखेर अवाक भयो।

ल यो बेच्न निस्क्या थेँ, रिट्ठे बजिया मर्न लागो बनेर यतै ल्या को, भोक नि लागो, काटकुट पारेर बनाम्न मिल्ने भ बनाम के रे, खार बाँकि भा मासु चाइँ मलाई चाइँछ नि फेरि?!

दाँत देखाउँदै मदनवातिर हेरेर कुम्लेले भन्यो।

मदनवाको मुहारमा खुसि र तीव्र मासुको भोक देखियो! अत्यन्त उत्साहित भएर जुरुक्क उठ्यो र भन्यो-

जायकेदार भाले लियावनुभएछ तपाइँ, हमि काइटके मसाला वसाला डाइलके बनावँछ!

मदनवा कुम्ले तिर आयो र पहिले भन्दा झन उत्साहित हुँदै भालेतिर हेर्दै भन्यो-

बडावाला भाले छ, हमि तीनजने भरपेट खाइके भि बहुते मासु बचनेको छ तपाइँके घइर लानेको लागि!

अचानक कुम्लेले मन परीवर्तन गर्ला भन्ने डरले मदनवाले भन्यो।

ल खाम खाम भोक लागेर आन्द्रा छुत्ति खेल्न थालिसको मेरो त!

कुम्लेले भित्र पस्दै भन्यो।

भइहाल्छ कुम्ले दाजु, तपाइँ बस मारनेको काम गरिदिनुहोस, काटने वाटने पिस बनावने काम हमि करिहाल्छु!

मदनवाले भाले मार्न डराएर भन्यो र कुनामा राखिएको खुल्ला दराज जस्तो ठाउँबाट एउटा खुकुरि निका्दै कुम्लेलाई दियो।

कुम्लेले बायाँ हातले खुकुरी लियो र दायाँ हातले भाले झुन्ड्याउँदै बाहिर गयो। मदनवाले चुल्हो बाट दालको भाँडो निकालेर एकातिर राख्यो र एउटा डेक्चिमा गाग्रिबाट पानी सारेर चुल्होमा बसाल्यो, एउटा प्लास्टिकको बोरा लियो र बाहिर आयो।

आँगनमा अलि पर कुम्ले मदनवालाई कुरिराखेको थियो। मदनवा पुग्यो र आँगनमा बोरा ओछ्छ्यायो।

अचानो छइन डाउडर?

कुम्लेले खुकुरी बोरामा राख्दै सोद्धयो।

अभि लियावँछु कुम्ले दाजु!

मदनवाले केहि सम्झे जस्तो गर्यो र लगभग दौडेर भित्र छिर्यो र एउटा डल्लो अग्राखको अचानो लिएर आयो र बोरामा खुकुरि संगै राख्यो।

कुम्ले टुक्रुक्क बस्यो र भालेको दुवै खुट्टा आफ्नो दायाँ खुट्टाले थिच्यो। भाले अलिकता छट्पटायो। पखेटा पहिलेदेखि नै खप्टिएका थिए त्यसैले फडफडाउन पाएन।

मदनवा निकै उत्सुकता पूर्वक हेरिराखेको थियो।

कुम्लेले अचानो अलिकता अगाडि सार्यो। दायाँ खुट्टाले भालेको खुट्टा थिचेकै स्थितीमा देब्रे हातले भालेको मुख च्याप्प समात्यो र अचानोमाथि लगभग टाँसेर तन्काएर राख्यो । भाले हल्लिन सकेन।

खुकुरी दाबबाट झिक्नुस त डाउडर?

उसले त्यहि स्थितीमा मदनवालाई भन्यो।

मदनवाले उस्तै उत्सुकताका साथ दाबबाट खुकुरी झिक्यो, अगाडि राखिदियो र आँखा झिमिक्क नगरि हेर्न थाल्यो।

कुम्लेले दायाँ हातले भालेको गर्धनको प्वाँख केलायो र माथिपट्टिका केहि प्वाँख जोडका साथ लुछ्यो। साना साना मसिना भुवाहरु एकछिन यता उता उडे। उसले दाहिने हातले खुकुरी समात्यो। देब्रे हातले भालेको टाउको देब्रेतिर अचानोमा टाँस्दै तन्कायो र दाहिने खुट्टाले भालेको खुट्टा थिचेर केहि दायाँ तर्फ तन्कायो। दाहीने हातमा खुकुरी केहि माथि उचालेर भालेको गर्धनमा जोडले हान्यो, हात र खुट्टामा उसले लगाएको बल छाडिदियो। भाले दुई टुक्रा भयो र भालेको शरीर बोरामा केहि बेर फड्फडाउन थाल्यो। अचानोमा अलिकता रगत पोखियो र सेतो प्लास्टिकको बोरामा धेरै रगत पोखिए।

हँसिलो मुख लिएर कुम्लेले मदनवा तिर हेर्यो। मदनवाले अझ हँसिलो मुख लिएर कुम्ले तिर हेर्यो।

केहि बेर मै भाले फड्फडाउन बन्द भयो र मासुमा परीवर्तन भयो।

कुम्लेले खुकुरीमा लागेको रगत भालेको पेटको प्वाँखमा पुछ्यो र खुकुरी दाबभित्र हुल्यो।

ss! पानी त उमाल्या छ?

कुम्लेले केहि सम्झे जस्तो गरेर मदनवातिर हेर्दै भन्यो।

बाहिर आवनेको टेममा चुल्होमा रइखके आएको , तात्दे छ!

हँसिलो मुख लगाउँदै उत्सुकतापूर्वक मदनवाले उत्तर दियो र यता उता हेर्न थाल्यो।

आँगनको डिलको बाटोतिर हेर्दै मदनवाले झन हँसिलो मुख बनायो र अझ रमाएको जस्तो देखियो। कुम्लेले मदनवालाई हेर्यो र मदनवाको आँखा बाटोतिर लागेको देखेर बाटोतिरै नजर घुमायो। कुम्लेलाई आफ्नो मुटुको धडकन अचानक बढे जस्तो लाग्यो। ऊ किर्कर्तव्यविमूढ देखियो र बेचैन देखियो। आँगनको डिलको बाटोबाट पुन्टे बुढा यतैतिर आउँदै थिए!

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:34 PM ] | Viewed: 2399 times [ Feedback]


: