:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

होटलवाला निशान्त र झिल्केलाई होटलबाट निस्केको वाल्ल परेर हेर्दै थियो। उनिहरु निस्कनासाथ होटलवालाले निकै राहत महशुस गरेको थियो र एउटा ठूलो बोझ हटेको जस्तो हल्का अनुभव गर्दै थियो।

विगत ३ दिन देखि उसले टाढा काठमान्डुदेखि आएका यि दुई अचम्मका ठिटाहरुको कुरा सुन्ने, भनेको कुरा पुर्याइदिने र धम्कि सुन्ने बाहेक अरु कुरा सोच्ने फुर्सद सम्म पाएको थिएन। काठमान्डु बाट दुई दिन पुरा यात्रा गरेपछि पुगिने यस बजारमा पनि निशान्त र झिल्के काठमान्डौको आफ्नै टोल हाँडिगाउँकै रवाफ देखाउन सफल भएका थिए। आफू भन्दा निकै कम उमेरका केटाहरु, त्यसमाथि टाढा बाट आएका र साथसाथै होटलवालाको आफ्नै गाउँमा समेत उनिहरुले जे भन्यो त्यहि गर्नुपरेकोमा होटलवालालाई आफैँदेखि रिस उठिराखेको थियो। बिगत ३ दिन देखि उ एक्लै भएको बेलामा सोच्ने गर्थ्यो कि अब यि गुन्डा जस्ता देखिने परदेशीले केहि भने भने उसले मुखभरिको जवाफ दिनेछ र होटलबाट निकाल्ने छ, तर जब उसले निशान्तको आँखा देख्थ्यो भन्नु पर्ने सबैकुरा बिर्सन्थ्यो। उसमा एक किसिमको डर व्याप्त हुन्थ्यो र रिसलाई दबाएर दाँत देखाउँदै सेवा गर्न तत्पर देखिन्थ्यो।

भरिया लगाएर १ दिनको बाटो हिँडाएर ल्याएको बियर तथा चिसो पेय पदार्थ केवल दुईजना ठिटाहरुले अनवरत रूपमा खाएर लगभग सकाइदिएका थिए र बर्खा अझै बाँकि थियो। यो भन्दा पनि दुखको कुरा ठिटाहरुले यी सबै पेय पदार्थहरुको काठमान्डौकै मूल्य मात्र चुकाएका थिए र उसले बिरोधको झिनो स्वर पनि निकाल्न सफल भएको थिएन।  सुरुमा त होटलवालाले यहाँसम्म आइपुग्दा यि चिजबिजहरु कसरि महंगा हुन्छन भन्ने कुरा बुझाउन खोजेको थियो, तर पछि केटाहरुको नराम्रो बोलि र डरलाग्दो हेराइ देखेपछि, उ सुपथ मूल्यमा यि सेवाहरु प्रदान गर्न बाध्य भएको थियो।

" फर्कन त फर्केलान नि ज्यानमारा गुन्डाहरु!!"

होटलवालाले रुखस्याक बोक्दै टाढा पुग्दै गरेका निशान्त त झिल्केलाई हेर्दै मनमनै भन्यो, र कागजमा केहि लेखेर हिसाब गर्न थाल्यो।

सस्तोमा घिचे पनि घिच्न चाहिँ घिचेकै हुन बजियाहरुले!

बर्बराउँदै ऊ हिसाब गर्नमा व्यस्त देखिन्थ्यो।

खोला बढ्या होला हिजोको झरिले, दुबैजनालाई बगाएर सोत्तर बनएर लगिदिए नि हुन्थ्यो!

उसले पाप चितायो र पारी दोभानेमाथिको डाँडा हेर्न थाल्यो। डाँडामा हुस्सु लागेको थियो र कतै कतै हुस्सु फाटेर हरियो देखिन्थ्यो। माथी भन्ज्याङको चौतारी पनि हुस्सुले छोपेको थियो।

कसका पाउना होलान यिनेरु? गाममा त सपै राम्रै मान्छे छन्!

ऊ सोच्न थाल्यो।

पक्कै पनि पुन्टे बुढाका होलान्!

उसले रक्सिको खपत बिचार गर्दै निशान्त र झिल्केलाई पुन्टे बुढाको पाहुना भएको अनुमान गर्यो।

उतै मरेर गाडिए आनन्दै हुन्थ्यो!

हिसाब गर्न लागेको कलम बेसरी कागजमा थिच्दै फेरि फर्केर होटलमा आउलान् भन्ने डर र रिस मिश्रीत स्वरमा बर्बरायो र उठेर कोठातिर लाग्यो।

 

*****

 

खोलाको बगरै बगर हिँड्दै थिए निशान्त र झिल्के।

ओ झिल्के लास्टै थाकियो यार, एकछिन बसौँ ल!

निशान्तले रूकस्याख ढाडबाट झिक्दै हिँड्दै गरेको झिल्केतिर हेरेर भन्यो।

हो यार एक राउन्ड स्टिक पनि तान्नु पर्छ सोम, म त सिक हुन थालिसकेँ!

झिल्केले सहमतीमा आफ्नो रुखस्याख झिक्यो र बगरको एउटा बिशाल ढुङ्गा तिर लाग्यो।

दुबैजना ढुङ्गामा जिऊ ढल्काएर बसे।

पानी पर्दिएर र्याग भयोन्त, नत्र त हिजै पुगिसक्थ्यो हौ माथि गाउँमा!

निशान्तेले रुखस्याखको सानो गोजिभित्र दाहिने हत्केला छिराउँदै बोल्यो।

झिल्केले निशान्तले रुखस्याकको खल्तिमा हात छिराएको देख्यो र उत्सुक स्वरमा सोध्यो-

माल झिक्न लाग्या हो ब्रो?

निशान्तले खल्तिबाट सुर्य चुरोटको दुईवटा नयाँ प्याकेट निकाल्दै एउटा अगाडिपट्टि फुटेको दाँत देखाउँदै भन्यो-

खितखितखित्होटलवाला सुड्डा कोठामा गएको बेला पारि वरि मैले दुइ प्याक सुर्य झ्याप हान्देकोन्त!

हाहाहाहाहहाहा सुड्डालाई मुर्गा हान्देछ फेरि सोमले कोइ नपाएर!

झिल्केले हात बढाउँदै सूर्य चुरोटको एउटा प्याकेट समाउँदै हाँस्दै बोल्यो।

सुड्डाको फेस फेरि अत्ति के! कन्सटिपेसन भएको बेलामा ट्वाइलेट बसेको जस्तो फेस के खितखित्खित!

निशान्तले होटलवालालाई याद गर्दै उडायो।

झिल्केले सहमतीमा ठूलो हाँसो निकाल्यो।

ओइ झिल्के तँ माल बनाउँदै गर् ल, कन्सटिपेसनको कुरा आयो कि मलाई त बबाल ट्वाइलेट लाग्यो हौ!

निशान्तले पेट समाउँदै ढुङ्गाबाट तल ओर्लेर भन्यो।

घिच्ने बेलामा देकोsss छ देकोsss छ सोमले अन्त लागिहाल्छन्त!

झिल्केले बोकेदारि हल्लाउँदै हाँसेर भन्यो।

निशान्त तन्किएर उभिँदै फेरि पेट समातेर बोल्यो।

होइन हौ, राम्रो संग बस्न नि पाएको छैनन्त, मुला होटलको ट्वाइलेट कस्तो रड्डिज??!

झिल्केले दायाँ औँलाले बायाँ हत्केलामा कलात्मक तरिकाले चुरोटको सुर्ती  झार्दै भन्यो-

निस ब्रो, म हरिप आइडिया दिन्छु ल, खोलाहुँदि शिट बस्ने बेलामा कि तीनवटा ढुङ्गालाई टक्क ला'र मिलाएर राख् कि चुल्हो जस्तो, अन्त माथि टक्क बसेर दे न ब्रो! हरिप कमोडमा बसेको जस्तो हुन्छन्त!

ठिक भनिस यार, म त्यसै गर्छु, आइडिया चाहिँ हरिप आउने हो ल ब्रो लाई जे होस!

निशान्तले पुलुक्क प्रभावित भएको अनुहार बनाउँदै झिल्केलाई हेर्यो र हिँड्दै ठूलो ढुङ्गा पछाडि छेकियो।

झिल्केले चुरोटको सबै सुर्ति हत्केलामा झार्यो र खालि चुरोटको खोललाई ढुङ्गामा जतनसाथ राख्यो।

हत्केलाको सुर्तिलाई केहि सुर्ति मात्र च्यापिने गरेर औँलाले थिच्यो र हात हुत्तत्यायो। केहि सुर्ति उसका औँलाले चेपिएका थिए, बाँकि तल खसे। खल्तिमा हात हालेर एउटा प्लास्टिकको प्याकेट निकाल्यो। त्यसबाट अलिकता हरियो सुख्खा घाँस जस्तो चिज निकाल्यो र सुर्ती भएको हत्केलामा सुर्ती संग मिसायो र दायाँ हातले बायाँ हत्लेकामा मल्न थाल्यो। केहिबेर मलेपछि चुरोटको खालि खोल फिल्टरपट्टि मुखमा च्याप्यो र केहि झुकेर बायाँ हत्केलामा भएको सुर्ति र घाँसको मिश्रणलाई मुखले तानेर खालि खोलमा भर्न थाल्यो। कहिले मुखले तान्थ्यो र फेरि चुरोट हातमा लिएर औँलाले घुमाउँदै जान्थ्यो। यसैगरि चुरोट भरिन लागेको थियो, त्यहिबेला निशान्त हाँस्दै आइपुग्यो।

तेरो आइडिया हरिप हो यार!

झिल्केको आइडिया राम्रो भन्दै ढुङ्गामा आएर बस्यो र झिल्केले चुरोट भर्न सकाएर सल्काउने प्रतिक्षा गर्न थाल्यो।

झिल्केले रुखस्याखबाट लाइटर झिक्यो र चुरोट सल्कायो। निशान्त भोको बाघले जसरि झिल्केले धुवाँ उडाएको हेर्दै थियो र उसका हात अनायासै चुरोटतिर तन्केका थिए। झिल्केले आकाशतिर टाउको ठड्याएर दुई तिन सर्को तान्यो र धुँवाँ माथि छोड्यो! निशान्त अधैर्य देखियो र उसको हातले लगभग खोसेको जसरि झिल्केको हातबाट चुरोट तान्यो। निशान्त पनि टाउको ठाडो गरेर सर्को तान्न थाल्यो।

दुवैका आँखा भिजेका जस्ता देखिन थाले।

केहि बेर चुपचाप पालै पालो दुबैजना सर्को लगाउन थाले। चुरोट लगभग फिल्टर सम्म सकिँदा पनि उनिहरु सर्को लगाइरहेका थिए!

चुरोट सकिएपछि दुवैजना त्यहि ढुङ्गामा लम्पसार परे केहि बेर!

निस ब्रो अब जानु पर्छ यार! खोला तरिवरि गाउँ पुग्दा राति हुन्छ हौ फेरि!

झिल्के अल्छि मान्दै उठेर रखस्याख बोक्दै बोल्यो।

निशान्त झन अल्छि मान्दै उठ्यो र रुखस्याक भिर्यो।

दुवैजना चुपचाप बगरमा खोला तिर हिँड्न थाले। उनिहरुको चाल अघिको भन्दा ढिलो थियो।

उनिहरु खोलाको किनारमा पुगे। खोला पारि पट्टि हेरे। खोलाको माथिपट्टि उनिहरु भन्दा निकै पर पारि पट्टि दुइजना देखिए; शायद पारिबाट खोला तरेर यता आउन खोज्दै थिए।

जङ्घार त्यतै थियो।

निशान्तले आँखा आधि खोलेर एक पटक पारि पट्टिका दुईजना गाउँलेलाई हेर्यो र झिल्केलाई हेर्दै भन्यो-

ट्रिपको सुरमा यता आएछ सोम हामि, तर्ने ठाउँ ऊ उता छ जस्तो छ!

झिल्केले पारि हेर्यो। ती दुईजना खोला तर्नलाई कपडा खोल्दै थिए।

हो यार, हिन उतै जुम!

झिल्केले भन्दै खोलाको तिर तिरै माथितिर लाग्यो। निशान्त पछि पछि लाग्यो।

उनिहरु खोला तर्न लागेका गाउँलेको नजिक आउँदै थिए।

पारी दुईजना गाउँलेले एक अर्काको हात समातेको देखियो। उनिहरु अझ नजिक पुग्दै थिए।

हात समातेर दुवैजना गाउँले खोलामा पसे। निशान्तले उनिहरु हल्लिएको देख्यो;शायद खोला बलियो वेग संग बग्दै थियो। उनिहरु अझ नजिक पुगे।

पारिपट्टि बिस्टेबुढालाई खोलाको माथि पारेर भउतेले हात समाउँदै तार्दै थियो।

दुवैजना कम्मर सम्म डुबेका थिए।

खोलाको वेगले उनिहरु जति वारि तर्थे त्यो भन्दा पनि बढि तल तिर हुत्तिन्थे। यसरि उनिहरु निशान्त र झिल्केको झन झन नजिक आउँदै थिए।

निशान्त र झिल्के एकठाउँमा टक्क अडिए। उनिहरु एकटकले बिस्टे बुढा र भउते खोला तरेको हेर्दै थिए।

हात छोडिदियो त!!

झिल्केले बिस्टे बुढा र भउतेलाई हेर्दै निशान्त संग भन्यो।

निशान्तले नियालेर हेर्यो।

भउतेले समात्दा सामत्दै बिस्टे बुढाको हात फुस्किएको देख्यो।

बिस्टे बुढालाई बलियो भलले धकेल्यो। बुढा ढलमलाउँदै तेर्सिए र भउतेको जिऊमा ठोक्किए। भउते सम्हालिन खोज्दै थियो र बुढालाई समात्न खोज्दै थियो। बिस्टे बुढा अडिन जोड लाउँदै थिए। बुढाको खुट्टाले  भुइँ छाड्यो। भउते जसोतसो अडिएको थियो उर्लँदो भेलमा। बुढालाई भलले भउतेको अगाडि ल्याइपुर्यायो। भउते

ले फेरि लम्केर बुढालाई समात्न खोज्यो। भउतेको हातले बुढाको हात छोयो, तत्कालै हात फुस्कियो। भउतेले फेरि हात लम्कायो। बुढालाई भलले भित्र लग्यो। भउते किर्कर्तव्यबिमूढ भयो, ऊ आफैँ पनि भल संग जुझ्न संघर्ष गर्दै थियो र बिस्टे बुढा तिव्र वेगका साथ कहिले सतहमा देखिँदै कहिले पानी भित्र हराउदै तल जाँदै थिए!

निशान्त र झिल्केका आँखा झिम्किएका पनि थिएनन्!

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:12 PM ] | Viewed: 2203 times [ Feedback]


: