:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

आज बिहानै देखि चेलिमायाको मन हलुका थिएन। मंसिरमा बिहे गरेर यो गाउँमा आएदेखि नै उसको मन कहिले रमाउने र कहिले दुख्ने भैरहेको थियो। छ महिना भन्दा बढि भैसकेको थियो बिहेको, तर पनि उनलाई कहिले आफ्नो लोग्ने अत्यन्त मायालु र उनको हेरचाह गर्ने मरिमेट्ने लाग्दथ्यो त कहिले नितान्त अपरिचीत तथा कडा। उनि सकेसम्म पति र घरका अरु सदस्यलाई खुसि बनाउने भरमग्दूर कोशीस गर्दथिन तर निकै पटक उसलाई कसैले नबुझिदिँदा उनको मन रुने गर्दथ्यो र सात डाँडापारिको आफ्नो माइती सम्झेर एक्लै धुरुधुरु रुन्थिन्।

उनको आँखा खुल्यो। बाहिर झलमल्ल घाम लागिसकेको रहेछ। उनि झस्केर जर्याकजुरुक्क उठिन्। खाटको छेऊमा हेरिन्, श्रीमान अघि नै उठेर बाहिर गइसकेका रहेछन्। उनि धेरै नै डराइन्। हिजो राति अबेर सम्म पनि घरधन्धा सकिएको थिएन। पाहुनाहरु आएका  थिए र सबैलाई पकाएर खुवाउँदा भात सकिएको थियो। फेरि दोश्रो पटक पकाएर खाँदा र लोटउँदा र भाँडा माझ्दा धेरै नै राति भैसकेको थियो र थकाईले उनको शरीरको जोर्नी जोर्नी दुखेको थियो। कोठामा सुत्न आइपुग्दा उनका श्रीमान अघि नै निदाइसकेका थिए र उनि यसो पल्टेकी मात्र के थिइन, बस् अहिले मात्र निद्रा खुलेछ।

 

बाहिर घाम नै लागिसकेको थियो र श्रीमान उनि भन्दा पहिला उठेर बाहिर गएका थिए। सासुको कटाक्ष, श्रीमानको रिसपूर्ण हेराई र नातेदार पाहुनाहरुले कुनै अर्कै ग्रहबाट आएको प्राणीलाई हेर्ने जस्तो हेराइ अवश्यंभावी थियो!

हतार हतार लुगा मिलाउँदै ऊनि लिस्नोबाट तल ओर्लिइन्।

अँगेनामा केहि तात्दै थियो, धुँवाँले सम्पूर्ण घर ढाकेको थियो। सबै पाहुना वरिपरी झुम्मिएका  थिए र उनकि सासु अँगेनामा तेल तताउँदै आफ्नो पुरानो बाथमा मालिश गर्दै थिइन्।

"ऊ महारानी उठिबउसिओ!"

सासुको तिखो बोलिले उनको मुटु घोच्यो। उनका पाइला लिस्नोको आखिरी खुट्किलो सकिँदा हल्का लड्खडायो। उनले कसैको अनुहार हेर्न सकिनन्। उनलाई लाग्यो सबै उनिलाई हेर्दै मनमनै हाँसिरहेका छन्।

उनि बाहिर निसक्न ढोकातिर बढिन्।

ब्यान देखुन भैँसि करा'र कुँडो म बुडिले बल्ल बल्ल तताम्न परो! ब्वारी नभा घर जस्तो आँगन नि मै रोगि बुडिले बडार्नु परो। कलिजुग लाग्या भन्या एइ रेछ, एस्तो भो भने छिमेकीले नि सराप्छन्! यो बुडेसकालमा एत्रो दुख त बाँझि आइमाइलाई नि पर्दैन, घरमा ब्वारी भा नभा कुनै फरक नाई!

सासु फत्फताउन थालिन्। सासुको फत्फताईमा उनको उमेर, उनको जीवन भोगाई र उनको सामाजीक मान्यता अनुसार बुहारी प्रतीको रिस केहि र सासु र बुहारीको कर्तव्य प्रतीको कटाक्ष बढि थियो। तर चेलिमायाको निर्दोष र नयाँ अनुभवमा यसले कुनै तिखो विषालु शूलको काम गरेको थियो। उनि केहि बोलिनन्। बाहिर निसक्ने बेलामा अनायाशै उनि पुलुक्क आफ्नो पतीलाई हेर्न पुगिन्। पतीको आँखामा उनले प्रेम भेटिनन्। उनलाई सधैँ झैँ नरमाईलो लाग्यो।

बाहिर तीनवटा खालि गाग्रिहरु थिए। नजिकैको डोकोमा एउटा गाग्री हालिन्। डोको बोकिन्। अर्को गाग्री दाहिने हातले उचालेर डोकोमा गाग्री माथि राखिन् र गाग्रिको मुख दाहिने हातले समातेर अड्याइन्। देब्रा हातले तेश्रो गाग्री उचालेर देब्रे कम्मरमा अड्याएर तीनवटै गाग्री बोक्दै पँधेरातिर लागिन्।

सासु, ससुरा र घरका अरु सदस्यहरुलाई जति खुसि बनाए पनि त्यो खुसि सदैव कायम राख्न गाह्रो थियो; उनले बुझेकि थिइन्। उनलाई सबै भन्दा पिडा उनको पतीको उनी प्रतिको व्यवहारमा पर्दथ्यो। प्राय: राति सुत्ने बेलामा पतीको व्यवहार र बोली सधैँ उस्तै भए हुन्थ्यो भनेर उनको मनले भन्दथ्यो र त्यो समयमा उनलाई उनि पतीको प्यारि लाग्दथ्यो र उनको आत्तिएको मनले केहि शन्ती पाउँथ्यो। तर लगत्तै बिहान उनको पतीको व्यवहार उनिलाई फरक लाग्दथ्यो र उनि आहत बन्न पुग्थिन्।

यो जीवन न त उनले कल्पना नै गरेकी थिइन् न त उनि यसको लागि तयार नै थिइन्। उनलाई बस् यति याद छ मिठा मसिना सपना बुन्दै गरेको उनको जिवनमा उनको बुबाले एकदिन हँसिलो मुहार लिएर वैवाहीक जीवनको परिचय दिनु भन्दा पनि पहिला, बिहामा होमिदिएका थिए र फगत स्विकार्नु बाहेक उनिसंग अरु कुनै विकल्प थिएन।

कुनै दिन सबैकुरा ठिक हुने आशामा उनि दिन गुजार्दै थिइन। आजकल उनको मनमा कुराहरु धेरै खेल्न थालेका थिए। यस्तै मनमा कुरा खेलाउँदा खेलाउँदै उनि कतिबेला पँधेरा आइपुगिन उनलाई पत्तै भएन। पँधेरामा सबु नुहाइराखेकि थिइन्; आफ्नै किसिमले स्वच्छन्द किसिमले। उनि पँधेरातिर बढ्दै थिइन र कुनै समयमा आफू पनि शबु जस्तै चंचल र स्वतन्त्र थिएँ भन्ने कुरा सोच्दै त्यो गुमेको समय अब फर्केर आउँदैन भन्ने तितो सोचाईका साथ पँधेरा पुगेकि मात्र के थिइन् कुनै चट्टान जस्तो बलियो जिऊमा उनि एक्कासि ठोक्किन पुगिन्। उनले बोकेका दुवै गाग्रि उछिट्टिएर यताउता बजारिन पुगे र उनि बोकेको डोको र गाग्रि सहित कसैसंग अल्झेर नराम्रोसंग लड्न पुगिन पँधेराकै छेऊमा।

उनको मुखबाट एक चीत्कार निस्कियो। दीप उनि माथि लडेको रहेछ। उनलाई पिडा, सास्ती र लाज र डर एकैपटक आयो। उनले बल गरेर दीपलाई आफूबाट हटाइन् र हतारिएर उठ्न खोजिन् तर सकिनन्। उठ्न खोज्दा उनको दाहीने खुट्टामा पिडाको तीव्र लहर दौडियो र उनि थुचुक्क बसिन्।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:08 PM ] | Viewed: 2109 times [ Feedback]


: