:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Monday, December 22, 2008 | [fix unicode]
 

"ठिकै छ तेरो आफ्नो खुशी। के त "ब्लाइन्ड डेट" को लागि तयार छस् त?"
"मलाइ केहि समय दे। म तँलाइ त्यसपछि खबर गर्छु।" उ जिबनमा अगाडी बढ्न तयार भयो।
साक्षीको सम्झनालाइ छोपेर उ नयाँ गन्तब्यको लागि बढ्दैथ्यो। बागबजार र इन्द्रचोकको होटेलले उसलाइ बारम्बार तान्ने गर्थ्यो, उ अरु केहि बहाना गरेर ती बाटोहरुलाइ छल्दै हिड्थ्यो।
एक हप्ता पछि ठमेलको क्याफेमा उ कसैलाइ कुरि रहेकोथ्यो। बिबेकले उनिहरुको लागि बिशेष टेबल तयार गरेको थ्यो। कौसी नजिकैको त्यो टेबलबाट तल ठमेलमा हिँडीरहेका मायालु जोडीहरु देखिन्थे, पर्यटकहरु पसलहरु चाहार्दै गरेको देखिन्थ्यो, साना बच्चाहरु पोस्टकार्ड बेचिरहेका हुन्थे। साँझमा ठमेल कुनै "रात्रि बजार" जस्तो ब्यस्त देखिन्थ्यो। क्याफेको ढोका खोलेर निलो जिन्स् र कालो टी- शर्ट लगाएकी, छोटो कपाल भएकी एक युबती उनिहरु तर्फ आइ, बिबेक अघि बढ्यो र हात मिलायो। उसको मुटु तेज हुन थाल्यो, बिबेकले त्यो युबतीलाइ उसकै नजिक ल्याइसकेको थ्यो।
"उसको नाम................" बिबेकले युबतीको नाम भन्न लागेको थ्यो।
"कबिता" युबती आफैले हाँस्दै भनी।
क्रमश:
भाग-७
"उसको नाम................" बिबेकले युबतीको नाम भन्न लागेको थ्यो।
"कबिता" युबती आफैले हाँस्दै भनी।
नेपाली शब्दकोषमा खडेरी पर्न थालेछ, मान्छेको नाम पनि कबिता। मनमनै सोच्न थाल्यो उ। सुनिता, बिनिता, लता नभएर किन कबिता राख्नु पर्या होला नाम पनि। त्यसो भए कसैले लेखेको कबितालाइ चाहि के भन्ने नि? "अनिता"? आफ्नै बिचारमा जेलिन थाल्यो उ त्यहाँ।
बिबेकले कबिता बस्ने मेच पछाडी तानेर कबितालाइ बस्न सजिलो बनाइद्यो र एकचोटि उसलाइ घुरेर हेर्यो। उसले बिबेकको घुराइ बुझेन।
"तर मलाइ कबिता लेख्न आँउदैन।" कबिता आफैले उसको सोचाइमा अर्धबिराम लगाइदी।
"म पनि बुझ्दिन कबिता।" उसले कबितालाइ सजिलो बनाइदियो।
"कबिता लेख्न, बुझ्न र त्यसको गहिराइमा डुब्न अलिकति पागलपन चाहिन्छ रे।" बिबेक अझै उठिरहेको थ्यो।
"अलिकति होइन होला, पुरै पागल हुनु पर्छ होला।" कबिताले आफ्नो बिचार राखी।
"कसरी?" उसले कबितालाइ सोध्यो।
"किन भने म आधा पागल नैं छु नि, खोइ त अझै पनि मलाइ कबिता लेख्न आँउदैन।" कबिताको कुरा सुनेर सबैजना हाँसे एकछिनलाइ।
"त्यसो भये आज अर्ध पागलहरुको भेला हुने दिन रहेछ।" बिबेकले उसलाइ छड्के हेर्दै भन्यो।
"चिया, कफी के लिने?" बिबेकले दुबैलाइ सोध्यो। उसले कफी मगायो, कबिताले पनि "त्यही" भन्दै टाउको हल्लाइ। उ के कुरा गर्ने भनेर सोच्न थाल्यो। बिबेक गएपछि कबिता उसलाइ हेर्दै बाहिर हेर्दैथी।
" तिमी के गर्छौ?" उसले कबिताको काँधसम्म खसेका एकआपसमा अल्झेका कपाल हेर्दै भन्यो।
"मतलब?" कबिताले राम्ररी बुझिन क्यारे।
"काम गर्छौ कि पढ्दैछौ भनेर सोधेको। भन्न मिल्दैन भने भै हाल्यो।" उसलाइ अलिकति अप्ठ्यारो प्रश्न सोधेको हो कि जस्तो लाग्यो।
"म गफ गर्छु।" कबिता हाँसी।
"त्यो त सबैले गर्छन्।" उसले पनि तुरुन्तै जवाफ दियो।
"म गफ गर्ने काम गर्छु। भनेको मतलब "परामर्शदाता"(counsellor)।" कबिताले छर्लङ पारी।
"कसलाइ दिने परामर्श? के बिषयमा?" उसलाइ कबिताको काम अनौठो लाग्यो।
"जो परामर्श लिन आँउछन्, प्राय बैबाहिक सम्बन्धको बारेमा हुन्छ। हुन त म युबाहरुलाइ पनि जीबन उपयोगी सीपहरुबारे परामर्श दिन्छु। तर धेरै जसो बैबाहिक समस्या लिएर लोग्ने स्वास्नीहरु आउने क्रम बढेको छ आजकल।" आफ्नो पेशाबारे कुरा गर्दा कबिताको आँखामा सन्तुस्टी झल्किएको देखिन्थ्यो।
उ एकछिन चुप लाग्यो। कतै बिबेकले जानी जानी कबितासङ भेट गराइदेको त होइन? के कबितालाइ उसको र साक्षीको सम्बन्धको बारेमा पनि थाहा छ?
"बिबेकले तिमीलाइ मेरो बारेमा केहि भनेको त छैन?" उसले शंका लुकाउन सकेन।
"बिबेकलाइ मेरो कामको बारे केहि थाहा छैन। हामी एउटा साथीको पार्टीमा भेटेकाथ्यौं। त्यतिकै कुरै कुरामा म काठमान्डुमा एक्लो भएको छु भन्दा उसले तिमीसङ भेट भनेर मात्र सुझाब दिएको हो। खासै मेरो बारेमा पनि उसलाइ केहि थाहा छैन र तिम्रो बारेमा पनि मैले केहि सोधिन। कुनै दोस्रो ब्यक्तिसङ सोध्नु भन्दा हामी एक अर्कासङ कुरा गर्दै जाँदा सबै कुरा थाहा भैहाल्छ नि। तिमीलाइ केहि सोध्नु छ भने सोध मेरो ब्यक्तिगत जीबनबारे।" कबिताको कुरा सुने पछि उ ढुक्क भयो।
"जटिल सम्बन्ध लिएर आउने मान्छेहरुलाइ तिमी कसरी मद्दत गर्छौ त?" उसलाइ कबिताको काम नै मन पर्यो, अरुलाइ सहयोग गर्ने त्यो पनि सम्बन्ध जस्तो गम्भिर मामिलामा।
"समस्या र समाधान उनिहरुसङै हुन्छ। मैले त उपायहरु पहिल्याउन मद्दत गर्ने हो, बाटोहरु कोर्न सघाउने मात्र हो। निर्णय उनिहरुकै हुन्छ।
"के उनिहरुको सम्बन्ध सुध्रिन्छ त तिम्रो परामर्शपछि?" उ झन उहि बिषयमा जोड दिन थाल्यो।
"सुध्रिने र बिग्रिने भन्दा पनि उनिहरु स्पष्ट हुन्छन् सम्बन्धबारे। कुनै सकिन्छन्, कुनै फेरि बन्छन्, कुनै नबनि निसास्सिरहन्छन्। त्यसमा मेरो परामर्श भन्दा पनि उनिहरुको उत्प्रेरणाको भुमिका रहन्छ। बाताबरण र सम्बन्धको बनावटमा पनि भर पर्छ। यही हुनु पर्छ भन्ने हुँदैन।"
"लोग्नेमान्छे र स्वास्नीमान्छे दुबैको दाँजोमा को भट्किन्छन् धेरै जस्तो सम्बन्धमा?" उसको प्रश्नले कबिता एकछिन टोलाइ।
"म लोग्नेमान्छे वा स्वानीमान्छे भन्दा पनि मान्छे भन्न रुचाँउछु। कुनै मान्छेलाइ खराब वा असल भनेर मेरो पेशाले छुट्याउन दिदैंन। मान्छेहरु मन र मस्तिष्क को सहकार्यमा जिन्दगीलाइ परिभाषित गर्छन्। त्यस्मा कहिले मनले आधिपत्य गर्छ कहिले बिचार। परिस्थिति, आबश्यकता, भावना, असन्तुस्टी र अभाब जस्ता अन्य कारणहरुले गर्दा कोहि पनि कुनै बेला चिप्लिने संभाबना हुँदैन भन्न सकिदैन। तर ती सबै कुराहरुलाइ अबलोकन गर्ने क्षमता कमैमा हुन सक्छ। कोहि चिप्लेर सम्हालिन्छन् भने कोहि उठ्दै लड्दै गर्छन्। यी सबै कुरा समाजले तोकिएको नियमभित्र स्वीकार्य हुँदैन। त्यसैले सम्बन्ध झन जटिल हुँदै जान्छ।" कबिताको कुराहरु झन् रमाइला लाग्न थाले उसलाइ। उसले साक्षीलाइ "मान्छे" मात्र सम्झ्यो एकछिनलाइ, खराब वा असल भन्दा पनि सामान्य मान्छे।
बिबेकले कफी पठायो। कबिता कफी पिउन थाली। उसले सोचे जस्तो कबिताले उसको बारेमा केहि सोधिन। शायद कबिता उसलाइ मन पराउदिन। हुन सक्छ उसको प्रश्नहरु केलाँउदै उसको अनुहारको भाब पढिरहेकी छे। कबितालाइ केहि नभने पनि सबै कुरा बुझ्छे, उ मान्छेको मन र मस्तिष्कको जालोलाइ हरेक दिन नजिकैबाट नियाल्छे। शायद उ कसैले मुख खोल्नु अघि नैं अभिप्राय बुझ्छे होला।
सन्दर्भलाइ मोड्न उसले फेरि कुरा शुरु गर्यो।
"तिमी मलाइ केहि सोध्न चाहदैनौं?"
"आज त मेरो मात्र अन्तर्बार्ता होला भनेर।" कबिताको ठट्टा गर्ने बानी पनि मन पर्यो उसलाइ।
"तैपनि होला नि तिम्रो पनि प्रश्न हरु।" उ कफी पिउँदा गार्हो भए जस्तै गरी बोल्यो।
"अर्को चोटि सोधुँला नि, हुँदैन?" कबिताले जिस्किदैं "अर्को चोटि" लाइ अलि ठुलो स्वरमा भनी। उ हाँस्यो र बिश्वस्त भयो, कबितालाइ दिक्क पारेको रहेनछ भनेर। कुरै कुरामा कबिताको घर, परिबारको कुराहरु निस्क्यो। घरले खोजेको केटाहरुले कबितालाइ मन पराउदैनन् र उसले मन पराएको केटाहरुले उसलाइ मन पराँउदैनन् रे। उसको बुबा आमा र दुइ भाइहरु भैरहवामा रहेछन्। उ केबल साथी मात्र चाहन्छे अहिलेलाइ। काठ्मान्डुको ब्यस्ततामा कहिले काहिँ कुरा मिल्ने साथी मात्र। केहि बेर उसले आफु के गर्छ? कहाँ बस्छ? भन्ने कुरा बतायो। तर उसको बिगत र साक्षीको कुरा बताउन उपयुक्त ठानेन। पहिलो भेटमा नैं सबै भन्न जरुरी ठानेन उसले। केहि छिन पछि बिबेक पनि आयो उनिहरुसङ कुरा गर्न। कबिता साँझ पर्न लागे पछि उसको घरमा एउटा जरुरी फोन गर्नुछ भनेर त्यहाँबाट हिँडी।
बिबेकले उसको आँखामा नियालेर हेर्यो, अलिकति खुशी जस्तो देख्यो। उसले कबिता भन्दा कबिताको कुराहरु मन पर्यो भनेर टार्यो। दुबैजना साँझको रमाइलो हेर्दै थे क्याफेबाट। एक हुल भर्खरका युबतीहरुको हल्लाले तल बाटोमा हिंडीरहेका बटुवाहरु पनि ठिङ उभिएर हेर्न थाले। बिबेक र उ त्यही बाटोतिर हेर्न थाले। एउटा सानो युबतीहरुको हुल ले एक जना युबकलाइ घेरिरहेको थ्यो। त्यो युबक हाँस्दै केहि लेख्दै युबतिहरुसङ कुरा गरिरहेको थ्यो। बिस्तारै युबतीहरु छाँटिन थाले, युबकको अनुहार प्रस्ट देखिन थाल्यो। बिबेकले ध्यानपुर्बक त्यो युबकलाइ हेर्यो र उसलाइ। उ अझै छक्क परेर बिबेकलाइ प्रश्नबाचक द्रिस्टीले हेरिरहेको थ्यो।
"गाइने देखिस् तल बाटोमा ? केटिहरु पनि कहिल्यै देख्न नपाको जस्तै गरेर त्यै सङ अटोग्राफ माग्नु पर्ने।" बिबेकले फेरि तलतिर हेर्यो। बिबेक सङै उसको नजर गाइने भएतिर दगुर्यो। गाइने एक्लै थिएन, शायद गाइनेको हात समातेर हिंड्ने साक्षी हुनु पर्छ। अलि पर पुगेर गाइने र उसङै हिंडेकी केटी फरक्क फर्के र त्यही बाटोतिरबाट आँउदै गरेका फ्यानहरुलाइ कुरे। गाइने सङकी केटी साक्षी थिन, उ अरु कोहि थी। बिबेक र उ एक अर्कालाइ हेर्न थाले।
"अरुलाइ रुवाउनेहरु धेरै दिन हाँस्न सक्दैनन्।" बिबेकले उसलाइ हेर्दै भन्यो।
उ पर पर आकाशमा भर्खरै देखिएका केहि ताराहरुलाइ हेर्दै थ्यो।
क्रमश:
भाग - ८
त्यो रात घर पुगेर उ धेरै बेर सोचिरहेको थ्यो। कसले कसलाइ रुवायो अनि कसले कसलाइ हसाँयो? यो आँसु र हाँसोको हिसाब कसरी आफै मिल्न जान्छ? साक्षीको रोदनमा उ मन फुकाएर हाँस्न सक्ला र? जे भए पनि साक्षी गाइनेसङ खुशी होला जस्तो भने उसलाइ पटक्कै लागेन। शायद उसको मनले उसलाइ सान्त्वना दिंदैथ्यो, हुन सक्छ भित्र कुनै अबचेतन मनमा उ साक्षीलाइ अझै चाहन्छ।
त्यो रातको सपनामा साक्षी उसको घरभित्र आइ, उसले रोक्नै सकेन। यसरी आइ मानौं उ माइतीबाट फर्केकी छे, अथवा कतै बाहिर गएर आफ्नो घर फर्केकी छे। उसले ढोकामा बसेर साक्षीलाइ गाली गर्यो, भन्न नसकेको कुराहरु सबै भन्यो। तैपनि साक्षी त्यही घरभित्र पसी। कोठामा आएर उ सङै नजिकै पल्टी। अझ उसको सिरक तानेर कुनातिर फर्केर सुती। लाज नभएकि केटी! चरित्रहिन आइमाइ! बेइज्जती! उसले ठुलो स्वरले सुनायो साक्षीलाइ। आफ्नै इक्ष्याले उसलाइ छोडेर जाने अनि फेरि आफ्नै इक्ष्याले फर्किने। त्यो घरमा उसको केहि भुमिका छैन र, यसरी मनपरी गरेर हिंड्न। साक्षी केहि नबोली निदाइ। उसलाइ झनै रिस उठ्यो, उ सपनाभरी साक्षीलाइ तथानाम गाली गरि रह्यो।
बिहान बिंउझिदाँ उसलाइ साक्षी सङै सुतिरहेकी जस्तो लाग्यो। खाटमा उ एक्लै थ्यो, कोठामा अरु कोहि थिएनन्, र पनि उसलाइ साक्षी उ सङै छे जस्तो लागि रह्यो। कहिलेकाहिँ सपनाले पनि क्षणिक मिठो अनुभुति दिएर पीडा दिन्छ उसलाइ। दिनभरी उसले साक्षी फर्केको सपना सम्झिरह्यो र साँझमा सधैं झैं बिबेकको क्याफेमा गयो। कबितालाइ फोन गर्यो, कबिताले दुइ चार दिन आफु ब्यस्त हुन परेको कारण माफी मागी। ठमेल त्यस्तै थ्यो, जस्तो हिजो अस्ति हुन्थ्यो, गाइने जस्तै धेरै मान्छेहरु हिंडीरहेका हुन्थे, उनिहरुको फ्यानहरु हुन्थे, केहि नबुझेर टोलाउने बटुवाहरु हुन्थे। र आफुबाट भाग्ने प्रयासमा त्यो सडकलाइ नियमित नियालिरहने उ। बेला बेलामा गाइने र उसका नयाँ नयाँ सम्बन्धको बारेमा उसलाइ बिबेकले सुनाइ रहन्थ्यो, बिबेककी बहिनी पत्रिका मार्फत गाइनेको को सङ के भइ रहेछ भनेर थाहा पाँउदी रहेछ।
जीबन दौडिन थाल्यो, उसले कबितालाइ दुइ हप्ता पछि आधा घन्टा भेट्ने मौका पायो त्यही क्याफेमा। उ एउटा तालिमको लागी ब्यस्त थी। त्यसैले धेरै जस्तो कुरा औपचारिक नैं भए। कबिता पहिलो भेट भन्दा अरु फरासिली भएकी थी। उ कुरा गर्न भन्दा सुन्न मन पराउथ्यो। त्यस अर्थमा दोस्रो भेटमा पनि उ कबितासङ धेरै खुल्न सकेन। उसलाइ बिबेक उसको केटा साथी भए जस्तै कबिता केटी साथी भएको जस्तो मात्र लाग्यो। उसले कबितालाइ प्रेमिका वा भावी श्रीमतीको रुपमा हेर्नै सकेन। कबिताको ब्यक्तित्व नैं साथी मात्र हुन सक्ने जस्तो लाग्यो उसलाइ। तर उसलाइ कबितासङ बिताएका क्षण भने सामान्य लागे, न कुनै उत्साह न त कुनै तरङ।
कबितालाइ भेटेको दुइ हप्ता पछि उ आर्मी अस्पतालको अगाडी रहेको "साझा मेडिकल हल"मा ठुल्दीको लागि केहि औषधीहरु किनेर बाहिर निस्कदैंथ्यो, उसको आँखा ठ्याक्कै त्यहि अगाडी रहेको माहांकाल्स्थानको अघि उभिएर नमस्ते गरिरहेकी साक्षीमा पुगेर अड्यो। साक्षी आँखा बन्द गरेर मन्दिरको ढोका अगाडी उभिएकी थी। उ हतार हतार बाटो काट्न खोज्यो, लगातार आइरहेका गाडीहरुले उसलाइ बाटो काट्न दिएन। साक्षी एकछिनपछि भरेङबाट तल झरी र "नेपाल बायुसेवा निगम" भएतिर बाटो काटेर नयाँसडक जाने बाटोतिर लागी। उ साक्षीलाइ भेट्टाउन पछि पछि छिटो हिंड्यो। साक्षी एक्लै थी, उसको हिंडाइको रफ्तार त्यसैले पनि बढिरहेको थ्यो। मान्छेहरुको हुलले उसलाइ अगाडी जान नदिएपछि उसले बोलायो।
"साक्षीss!" साक्षीले सुनिन वा सुने पनि नसुने झैं गरी।
त्यसपछि उ मान्छेहरुलाइ आफ्नो बाटोबाट पन्छाउदैं दौड्यो र फेरि ठुलो स्वरले बोलायो।
"साक्षीssss!"
साक्षी फरक्क पछाडी फर्केर उसलाइ हेरी। फुङ उडेको साक्षीको अनुहारमा हर्ष, बिस्मात, कौतुहुलता र पस्चाताप केहि पाएन उसले। शुन्य आँखाहरु मौन थिए। भावहिन अधरमा हेर्दै उसले अनुरोध गर्यो।
"साक्षी! म तिमी सङ कुरा गर्न चाहन्छु।"
क्रमश:
भाग-९
"साक्षीssss!"
साक्षी फरक्क पछाडी फर्केर उसलाइ हेरी। फुङ उडेको साक्षीको अनुहारमा हर्ष, बिस्मात, कौतुहुलता र पस्चाताप केहि पाएन उसले। शुन्य आँखाहरु मौन थिए। भावहिन अधरमा हेर्दै उसले अनुरोध गर्यो।
"साक्षी! म तिमी सङ कुरा गर्न चाहन्छु।"
साक्षीलाइ पेटिमा हिडिरहेका मानिसहरुले धकेल्दै अघि पुर्याइरहेकोथ्यो, उ फलामको बार समात्न पुगी र सकेसम्म छेउमा उभिएर उसले भनेको कुरा सुनिरही, केहि बोलिन। साक्षी थकित थी, धेरै दिन देखि पानी नपाएकी बिरुवा जस्ती, पहेंली र रुखा त्वचाले उसलाइ झन बिरामी जस्तो बनाएकोथ्यो। ओंठ् सुख्खा देखिन्थ्यो भने उसको लुगाको रङले पनि उसलाइ उराठ उराठ बनाएकोथ्यो। हलुका खरानी रङको कुर्तामा सेतो सल ओढेकी थी। एक महिना अघी त्यो इन्द्रचोकको होटेलमा भेटिएकी साक्षी नैं अहिले त्यो फलामको बारमा अढेस लगाएकी उभिएकी साक्षी हो भन्न उसलाइ गार्हो भयो। कतै भुल त भएन फेरि भनेर उसले आफुलाइ सोध्यो। होइन, उसको अगाडी उभिएकी केटि साक्षी नैं थी, उसलाइ एक्लै छोडेर जाने साक्षी।
"साक्षी, म तिमी सङ कुरा गर्न चाहन्छु।" उसले फेरि दोहोर्यायो।
"म सङ केहि कुरा छैन।" साक्षीले भुँइमा हेर्दै भनी।
"त्यस्तो कुरा गरेको होइन मैले।" उसलाइ के कुरा भन्ने भनेर पनि भन्न आएन।
"मैले गल्ती गरेँ।" साक्षीको रुन्चे स्वरमा नदेखिएको पीडा थ्यो।
"भैगो, त्यो कुरा नगर।" उसलाइ कस्तो कस्तो भयो, छातीमा कसैले फेरि घाउ कोट्याए जस्तो, अलिकति पीडा अलिकति छटपटी। बटुवाहरु बरोबर उसलाइ धक्का दिंदै हिंड्थे। हुन पनि त्यहाँ कुरा गर्ने ठाँउ थिएन, कोही कोही चाहीँ साक्षीलाइ र उसलाइ अनौठो तरिकाले हेर्थे। अरुहरुले साक्षीको मुहारलाइ हेरेको तरिका मन परेन उसलाइ।
"साक्षी, यहाँ भिंड छ, उतातिर गएर एक्छिन कुरा गरौं।" उ साक्षी सङ एकान्त चाहन्थ्यो।
"के कुरा गर्नु छ र?" साक्षीले उसको आँखामा हेर्न अझै सकेकी थीइन।
"यहाँ मान्छेहरु हिंड्छन्, राम्ररी कुरा गर्न मिल्दैन, कतै बसौं न।" भन्दै उसले साक्षीको दाँया हात बिस्तारै समात्यो। साक्षी ले हत्त न पत्त उसको हातबाट आफ्नो हात छुटाइ।
"के भयो र?" उसलाइ अचम्म लाग्यो, त्यो हात उसले कति चोटि स्पर्श गरेको थ्यो।
साक्षी चुप रही। उसले साक्षीलाइ अलि भित्रको बाटोमा एउटा चिया र मिठाइ भएको पसलमा लग्यो। साक्षी उ सङ हिंड्न हिच्किचाउथी र घरि अघि घरि पछि गर्दै हिंड्थी। पहिले त साक्षी कुरा गर्न मानेकी थिन। तर उसले अति कर गरेपछि सरासर उ सङ हिंड्न थाली। होटेलमा गएर उसले दुइटा कोक मगायो। तिर्खा कसलाइ लागेको थ्यो र? एउटा बहाना थ्यो, परिस्थिती मिलाउनु थ्यो। अब्यक्त कुराहरु ब्यक्त गर्नु थ्यो, भित्र भित्र चट्टान भन्न नसकेका लाभाहरुलाइ बगाउनु थ्यो। धेरै थ्यो त्यहाँ हुनु पर्ने कुराहरु। तर उ र साक्षी केहिबेरसम्म केहि बोल्न सकेनन्। न त एक अर्कालाइ हेर्न सके, साक्षी टेबुलमा औंलाले कोतरी रहेकी थी भने उ कसरी कुरा शुरु गर्ने भनेर सोची रहेको थ्यो।
"मलाइ माफ गर्नुस्।" साक्षीले आफै मौनता तोडी।
उ स्तब्ध भयो। अब त झन् बोल्ने कुरै सकिए उसका। लामो स्वास फेरेर बाटोतिर हेर्न थाल्यो उ।
"मैले जिन्दगीमा ठुलो गल्ती गरें र त्यसको परिणाम भोगिरहेकी छु।" साक्षीको गला अबरुद्ध भैसकेका थिए।
उ साक्षीको अनुहारमा एकोहोरो हेर्न थाल्यो। साक्षीको मुहारमा पश्चातापका भावहरु बगिर्हेका थिए, आँखाहरु सजल भइ सकेका थिए। साक्षी तल्लो ओंठलाइ जबर्जस्ती टोकीरहेकी थी। मानौं धेरै कुराहरु निस्कन खोज्दैथे त्यहाँबाट र निस्कन पाइरहेका थिएनन्। उसले साक्षीको यस्तो रुप पहिले कहिले देखेको थिएन, देख्ने अपेक्षा पनि गरेको थिएन। जे भए भए पनि साक्षी नरोइदिए हुन्थ्यो भन्ने चाहन्थ्यो उ। उसलाइ साक्षी रोइभनी कसरी फकाउने भन्ने पनि थाहा थिएन।
"अरु केहि पनि ल्याउने की ?" उनिहरुलाइ निक्कै बेरसम्म काउन्टरबाट हेरिरहेको साहुजीले सोध्यो।
"साक्षी, केहि खाने हो?" उसलाइ थाहा थ्यो तै पनि सोध्यो, साक्षीले टाउको हल्लाएर "नाँइ" भनी।
"तिमी खुशी छौ भने मेरो भन्नु केहि छैन।" उसले आफ्नो मनलाइ जबर्जस्ती लुकाएर बोल्यो।
साक्षीको आँखाबाट बरर आँसुको ढिक्काहरु टेबुलमा खसे। उ हतार हतार सलले आँखा पुछ्न थाली।
उसले छुदैं नछोएको कोकको पैसा तिर्यो। साक्षी सङ सहिदगेट सम्म हिंडेर गयो, बाटोमा दुबै बोलेनन्। नबोले पनि सङै हिंड्दा आनन्द लाग्यो उसलाइ। उ सङै छेउमा हिंड्ने साक्षी छ, उ एक्लै छैन। यति मात्र कुराले पनि उ खुशी भयो। सहिदगेटपुगेपछि साक्षीले ट्याक्सी रोकी र कालिमाटी जाने भनी। ट्याक्सीमा बस्नु अघि उ सङ साक्षीले आँखैले जाने अनुमति मागी।
"भोली पनि आँउछौ? म तिमीलाइ त्यही मन्दिर अगाडी कुरिरहन्छु नि यही समयमा।" उसले साक्षीको सललाइ आफ्नो मुठ्ठीमा कसेर भन्यो।
"थाहा छैन।" मात्र भनेर साक्षीले उ सङ बिदा मागी। ट्याक्सी हिंड्नु अघि साक्षीले अलिकति हाँस्ने प्रयास गरी, तर त्यो निरर्थक भयो।
उ फेरि हिंड्न थाल्यो, कता जाने भनेर अलमल्ल पर्यो एकछिन। बाइक उसले बिर अस्पतालनिर पार्क गरेकोथ्यो। फेरि फर्कियो उ साक्षीसङ हिंडेको बाटो।
भोली के होला ?? उ त्यही सोचिरहेको थ्यो बाटोभरि।
क्रमश:
भाग - १०
त्यो रातभरी उ फेरि साक्षी बिहे गरेर ल्याएपछिका ती बिर्स्नै नसकिने क्षणहरु सम्झिन थाल्यो। प्रत्येक अनुभव नौलो र बर्णन गर्न नसकिने खालको। लोग्ने हुँदाको अनुभुति, साक्षीको लज्जालु स्वभाव, शारिरिक तथा मानसिक निकटता सबै उसको दिमागमा फेरि घुम्न थाल्यो। रमाइलो रहस्य जस्तो प्राकितिक सम्बन्ध, जति डुब्यो उति गहिरन मन लाग्ने चाहनाहरु। साक्षीलाइ देख्नासाथ हुने बिजुलीको झट्का जस्तो आकर्षण। एकचोटि उसको पुरै शरीर ज्वरोले पोलेको जस्तो हुन थाल्यो। उ निदाउनको लागि भन्दा पनि बिहान कहिले हुन्छ भन्दै सुत्यो त्यो रात।
भोली पल्ट उसले आफुलाइ सुहाउने कमिज खोजेर लायो, साक्षीले उपहारमा दिएको "पर्फ्युम" लगायो। कपाल मिलायो, ऐना २/३ चोटि हेर्यो। बिहान देखि एकप्रकारको रमाइलो लाग्न थाल्यो उसलाइ। बर्सौं पहिले कसैलाइ भेट्न जाँदा भएजस्तो। दिनभरी कति खेर साँझ होला भन्दै छटपटियो। साँझ हुनासाथ गयो उ हिजोकै ठाँउमा, जहाँ साक्षी आएकी थी। केहि बेर बाहिर कुरेपछि अधैर्य भयो उ, त्यसपछि मन्दिरभित्रै गर्यो। देउता दर्शन गरे जस्तो गर्यो, आँखाहरु साक्षीलाइ खोज्दै थे। एक घन्टा मन्दिर भित्र बाहिर गर्दा पनि साक्षी आइन, त्यसपछि एक राउन्ड टुँडिखेल घुम्यो, तैपनि साक्षी देखा परिन। निराश हुँदै घर फर्क्यो उ त्यो साँझ। हिजोको जस्तो रमाइलो भएन त्यो रात उस्को लागि। थरि थरिको शंका उपशंकाले उसको मनलाइ घेर्यो।
पाँच साँझ उसले त्यसरी नैँ साक्षीको प्रतिक्ष्यामा बितायो, मनले हार मान्न अझै तयार थिएन। इस्कुल पढ्दा सेन्ट मेरिज इस्कुल छुट्टी हुनु अघि कसैलाइ कुरेको जस्तो लाग्यो उसलाइ। जसलाइ हेर्न उ एक घन्टा अघिदेखि पुल्चोकको एउटा पसलमा हुन्थ्यो, उसले त्यो पसलमा एकचोटि पनि हेर्थिन। उ आँट नैं गर्न सक्दैनथ्यो आफुले मन पराएको केटीको अगाडी गएर केहि भन्ने। अनि कसरी केटीले उसको मनमा आफुप्रति न्यानो भावना छ भनेर बुझोस्। तै पनि उसले एक बर्स त्यसरी नैं कुर्यो त्यो केटीको लागि, त्यसपछि त्यो केटी हराइ। कहाँ गइ, के गरी उसले आजसम्म थाहा पाउन सकेन। किशोराबस्थाको पागलपन जस्तो उ फेरि त्यही कुरा दोहोर्याँउदै छ। साक्षी अहिले के गर्छे, कहाँ बस्छे उसलाइ थाहा छैन, र पनि उ साक्षीलाइ कुरिरहेको छ, कहिल्यै नआउने भये पनि कुरिरहेको छ।
छैंठौ दिनमा अप्रत्यासित रुपमा साक्षी मन्दिरमा देखा परी। उसको हर्षको सीमाना रहेन। पहिला साक्षी हतार गर्दैथी, पछि उसको अनुरोधमा केहि छिन कुरा गर्न सहमत भइ।
"भगवानले पनि यति धेरै कुराँउदैन दर्शनको लागि। तिमी चाहिं...." उसले प्रेम-परीक्षा दिए जस्तै गरी भन्यो।
"के भन्या त्यस्तो ?" साक्षी छक्क परी।
"यत्रो दिन किन नआएकी?" उसले सोध्यो।
"काम थ्यो त्यसैले।" साक्षी चुप लागी। त्यसपछि उनिहरु बिर अस्पतालको पछाडीको सानो गल्ली हुँदै असनतिर गए, असनबाट इन्द्रचोक हुँदै फेरि महाबौद्धको गल्ली हुँदै असन तिर लागे। बाटोमा दुबै मौन थिए, कहाँ जाने पनि थाहा थिएन, के भन्ने पनि थाहा थिएन। दोस्रो चोटि असन जाने गल्लीको बिचमा पुग्दा साक्षी अतालिएर बोली।
"बिन्नी! बिन्नी आँउदैछे यतैतिर।" बिबेककी बैनी आफ्नो साथीसङ उनिहरु भएतिर आएको देख्यो उसले। उसले केहि भन्नु अघि नैं साक्षी नजिकैको चुरा पसलभित्र पसी। बिन्नीले साक्षीलाइ देख्यो देखेन उसलाइ थाहा भएन तर उसले साधारण तरिकाले कुरा गरेर औपचारिकता सकायो। बिन्नीहरु गएपछि उ साक्षीलाइ चुरा पसल बाहिर बसेर कुर्यो। धेरै बेरसम्म साक्षी ननिस्किएपछि उ पसलमा गयो। साक्षी केहि सामानहरु किनिरहेकी थी, उसलाइ भित्र आएको देख्नासाथ साहुनीले भनी।
"वहाँ सङ होलानि चानचुन।"
"होइन यही हजारको नोटमा कटाउनुस्न!" हजारको नोट साहुनीको हातमा दिंदै साक्षी अनुरोध गरेरहेकी थी।
"खुद्रा भए त दिहाल्थे नि बहिनी। अघि भर्खरै दुइटा हजारको नोट साटेँ। तपाइको श्रीमान सङ होला नि। एकचोटि सोध्नुस् न।" साहुनीको अन्तिम बाक्यले उसलाइ कस्तो कस्तो बनायो। साक्षीको अनुहारमा संकोच थियो।
"कति दिनु पर्ने?" उसले साहुनीलाइ सोध्यो।
"साठी रुपैयाँ मात्र!" साहुनी दङ पर्दै भनी।
साक्षीले "पर्दैन" भन्दा भन्दै उसले पैसा तिर्यो। दुबै जना पसलबाट अनौठो अनुभब संगालेर निस्के। बाहिर साँझ छिपिन लागिसकेकोथ्यो। साक्षी फर्किने जिद्दि गर्न थाली। उनिहरु फेरि इन्द्रचोकको बाटो हुँदै फर्किन थाले।
"यसरी नहिंडौ।" साक्षीले बाटोमा भनी।
"कसरी हिंड्ने त?" उसलाइ पनि अचम्म लाग्यो।
"अरुले देखे के भन्ला?" साक्षीले उसलाइ हेरी।
"जे सुकै भनोस्। हामीले के गरेका छौं र बाटोमा हिंड्न पनि नपाइने।" केहि नबुझ्या जस्तै गरी उसले भन्यो।
"तपाइं बिहे गर्नुस्!" साक्षीले उसको छातीमा प्रहार गरी एकचोटि।
"हुन्छ ! तिमी गर्ने हो बिहे म सङ?" उसले साक्षीलाइ जिस्काउन थाल्यो।
"कस्तो मान्छे तपाइँ त!" साक्षी बोलीन केहि बेर उनिहरु धरहरा पुग्नै आँटेका थिए। ट्याक्सीहरु देखिएन सहिदगेटमा साक्षी आत्तिन थाली। माइक्रोबसहरु पनि पहिले नैं भरिएर आएका हुन्थे। उसले एक दुइ वटा सडकमा फर्किन लागेको ट्याक्सी रोक्ने कोशिस गर्यो तर सकेन। साक्षी हिंडेर भने पनि जाने जिद्दि गर्न लागी। त्यति अध्याँरोमा उसले साक्षीलाइ एक्लै पठाउन चाहेन। केहि बेर पछि बल्लतल्ल साक्षीले टेकुसम्म मात्र उसको बाइकमा जान मानी। उनिहरु दुबै फेरि बाइक लिनको लागि मन्दिर निर पुगे। साक्षी बाइकमा बस्न एकछिन अनकनाइ। उसले बस भन्यो, त्यसपछि साक्षी उ सङ नछोइकन अप्ठ्यारो गरेर बसी।
"साक्षी, यो बस होइन, धेरै पछाडी सर्यौ भने खस्छौ। म तिमीलाइ घाइते बनाउन चाहन्न। राम्ररी बस!" उसले साक्षीलाइ सम्झायो। त्यसपछि अलिकति नजिक सरी साक्षी। उसले बाइक अति द्रुत गतिमा चलायो। साक्षी डरले उसलाइ समाउन पुगी, मुटुको ढुकढुकी बढ्न थाल्यो। साक्षीको स्पर्शले उ र बाइक झन तिब्र गतिमा दौड्न थाल्यो। साक्षी भयले कतै हेर्न सकिन। मन मनमा भगवान पुकार्न थाली, टेकु पुग्नु भन्दा अगाडी नैं साक्षी "यहीँ रोक्नुस्" भनेर कराइ। उसले बाइक रोक्न करै लाग्यो। सडक पारी दुइटा ट्याक्सी भएतिर साक्षी जान थाली।
"जाने बेला पनि केहि नभनी जाने साक्षी।" उसले बाटो काट्न लागेकी साक्षीलाइ बोलायो।
"किन त्यत्रो स्पीडमा चलाएको?" साक्षी रिसाएको बल्ल थाहा पायो उसले।
"तिमीलाइ पहिला त्यस्तै मन पर्थ्यो होइन?" उसले झनै सम्झाउन खोज्यो।
"पहिला र अहिलेमा फरक छ। पहिला जस्तो केहि पनि अहिले हुन सक्दैन।" साक्षी अलि नरम भइ।
"पहिला पनि तिमी र म बाइकमा यसरी नैं हिंड्थियौं, अहिले पनि त्यही छ। म त त्यस्तो फरक केहि देख्दिन पहिले र अहिलेमा।" उसले फेरि भाबुक भएर भन्यो।
"अब देखि हामी नभेट्ने।" साक्षीले बाटो काटीसकेपछि भनी।
"के रे? के भन्यौ तिमीले?" उसले साक्षीले भनेको कुरा राम्ररी सुन्न सकेन, एउटा ट्याक्सीले हरन बजायो त्यति बेला नै।
"अब देखि तपाइँ मलाइ नकुर्नुस्! अबदेखि हामी नभेटौं" उताबाट साक्षीले अलि ठुलो स्वरमा भनी। बाटो हिंडीरहेका बटुवाहरु उनिहरुलाइ हेरेर हाँसे।
"किन नि?" उसले फेरि सोध्यो साक्षीलाइ।
साक्षी ट्याक्सीमा बसी सकेकी थी। ट्याक्सी कालीमाटीतिर लाग्यो। साक्षी उसलाइ हेर्दै नहेरी गइ।
क्रमश:
भाग-११

साक्षीको ब्यबहार देखेर उसलाइ हाँस उठ्यो, कस्तो बच्चा जस्तो कुरा गर्छे साक्षी कहिलेकाँही। अबदेखि नकुर्नुस् रे, भेट्दै नभेट्ने हो भने साक्षी नैं मन्दिर नआए भइ हाल्यो नि। किन उसले नकुर्नु पर्यो? साक्षी त्यसरी कहिले रिसाउदिन थी, शायद गाइनेको संगतले साक्षी नराम्रो कुराहरु सिक्दैछे। नत्रभने कहिल्यै ठुलो स्वरले नबोल्ने साक्षी त्यसरी बाटोमा कराउनु नपर्ने। उ मनमा आफै सङ कुरा गर्दै घर पुग्यो। साक्षीले जे भने पनि उ पीर मान्दैन अब, किनभने मन्दिर भनेको साक्षीको मात्र अधिकारको कुरा होइन, उ जानेछ त्यहाँ जहिले मन लाग्छ तहिले। साक्षीलाइ कुर्ने नकुर्ने कुरा समयले बताँउछ।

उसले साक्षीलाइ बिर्सन नखोजेको होइन। बास्तबमा भन्ने हो भने साक्षीले छोडेर गएको दुइ महिनापछि फेरि साक्षीलाइ नदेखेको भए यी सबै कुराहरु हुने थिएनन् उसको जीबनमा।

नरमाइला कुराहरु नौ दिनमा नौलो, र बीस दिनमा बिर्सिन्छ भन्थे पुराना मानिसहरु। उसको जीबनमा त्यो नियम लागु भएन। सबै कुरा ताजा हुँदैछ अहिले, साक्षीसङको भेट, उ सङका सम्झना सबै जिबन्त हुँदैछन्। उसले चाहेर ब्युँताएको होइन ती भावनाहरु, आफै भइरहेछ सबै कुरा आफ्नै गतिमा। अब त झन् साक्षी उसकी स्वास्नी नभएर प्रेमिका हुन पुगेकी छे, जसलाइ उ आफ्नो भन्न सक्दैन न त पराइ भन्न सक्छ।

ठुल्दिले अर्को दिन पुरानो घरमा बुबा भेट्न जानु रे भन्ने खबर दिनु भयो। साँच्चै बुबालाइ अफिस र कामको सिलसिला बाहेक घरमा नभेटेको पनि धेरै भइसकेको थ्यो उसले। बुबा सानी आमासङ पुरानो घरमा बस्नु हुन्थ्यो, उ साक्षीलाइ बिहे गरे पछि नयाँ घरमा सरेको थ्यो। बुबाको घर र उ बसेको घरबाट पाँच मिनेटको मात्र दुरि थियो। सानी आमाको सन्तान थिएनन्। त्यही कारण हो कि के हो सौतेनी आमा भए पनि सानी आमा दन्त्यकथामा जस्तो नराम्रो ब्यबहार गर्नु हुन्नथ्यो, उसलाइ माया देखाउनु हुन्थ्यो। उ पनि बुबासङ भन्दा सानी आमासङ खुलेर कुरा गर्न सजिलो मान्थ्यो। बुबासङको सम्बन्ध अलि चिसो थ्यो उसको, आफ्नै मान्छे भए पनि को को पराइ जस्तो लाग्थ्यो उसलाइ।

अर्को दिन बिहानै पुरानो घरमा गयो उ। बुबा र सानी आमा उसैलाइ कुरेर बस्नु भएको थ्यो। सामान्य भलाकुसारी पछि खाना पनि त्यहीँ भयो त्यो दिन। जे कुरा नखोतले हुन्थ्यो भनेर उ त्यहाँबाट उम्किन खोज्दैथ्यो, खाना पछि बुबाले त्यही कुरा शुरु गर्नु भयो।

"अब कहिले सम्म यसरी बस्ने त?" बुबाको स्वरमा चिन्ता झल्किन्थ्यो, प्रश्न भन्दा पनि पीर लागे जस्तो।

उ चुप भयो, उसलाइ के थाहा कहिलेसम्म? बल्ल त साक्षी भेट्दैछ उसले। बुबालाइ जे पायो त्यही जवाफ दिनु भएन। त्यसै त हजार प्रश्न गर्नु हुन्छ, बोल्दै नबोलेर बसे आनन्दै हुन्छ। उसले यता उति गर्दै सानी आमा भएतिर हेर्यो।

"हामीलाइ त्यही चिन्ता छ बाबु। कहिले सम्म तिमी यसरी एक्लै बस्ने?" सानी आमाले उसको बुबाको कुरा फेरि दोहोर्याउनु भयो।

"एउटा कुरा आको छ। परिवार पनि राम्रो छ, केटी पनि सुशिक्षित छे, राम्रो संस्कारमा हुर्केकी छे। तँ भन्दा ७ बर्ष सानी छे। बिहे को कुरा चलाउ हामी?" बुबाले बोलाउनुको कारण खुलाउनु भयो।

"बिहे को कुरा" भन्नासाथ उसले साक्षीसङ गरेको बिहे सम्झ्यो, पाँच महिनापछिको घटना र अहिलेको अबस्था। उसले हुन्छ वा हुँदैन भन्न उपयुक्त ठानेन।

"तिमीलाइ कोहि मन पर्छ भने पनि हामी "हुँदैन" भन्दैनौं। यदि होइन भने यो केटी पनि नराम्री छैन।" सानी आमाले सेतो खामभित्र बन्द गरेको फोटो उसलाइ दिंदै भन्नु भयो। उसलाइ खाम खोलेर फोटो हेर्न मन लाग्यो तर बुबाको अगाडी त्यसो गर्न मन लागेन। उसको सानी आमाले कुरा बुझ्नु भयो क्यारे, फोटो हेरे पछि कस्तो लाग्छ, मन पर्यो कि परेन, एकचोटि खबर गर्नु भन्नु भयो।

उ मौका पाउनासाथ "काम धेरै छ" भनेर उठ्यो।

"अनि कहिले खबर दिन्छस् त?" बुबाले फेरि सोध्नु भयो, जुन कुराको उत्तर उ आफैलाइ पनि थाहा थिएन।

"एक दुइ दिन ब्यस्त छु।" भनेर टार्न खोज्यो उसले।

"उनिहरु धेरै कुर्न सक्दैनन्, दुइ हप्ताभित्र खबर गर्नु।" भन्नु भयो बुबाले।

"कि उषालाइ नैं भेटेर कुरा गर्ने हो?" सानी आमाले सजिलो उपाय बताउनु भयो।

"को उषा?" उसले सोध्यो।

"त्यही फोटोमा भएकी। म सोधुँ उषालाइ ? मेरी मिल्ने साथी की भान्जी हो उषा। " सानी आमाले कुरा धेरै अगाडी बढाउन खोज्नु भए जस्तो लाग्यो उसलाइ।

"अहिले पर्दैन, म पछि हजुरहरुलाइ खबर गरुँला।" भन्दै उ त्यहाँबाट निस्क्यो।


ढोका बाहिर के पुगेकोथ्यो, पछाडीबाट सानी आमा "ए बाबु! पर्ख पर्ख।" भन्दै आउनु भयो।

"झन्डै फोटो लान बिर्सेछौ।" उसलाइ अघिको खाम हातमा दिनु भयो सानी आमाले, उसले कति खेर सोफामा खसालेछ उसलाइ होशै भएन।

"एउटा कुरा थाहा पायौ?" उहाँले कसैले सुन्ला जस्तो गरी सानो स्वरमा भन्नु भयो।

"के कुरा?" उसले पनि सानै स्वरमा सोध्यो।

"गाइनेले मरुन्जेल पिट्छ रे नि नखरमाउलीलाइ। ठिक्क पर्यो त्यो नकचरीलाइ। कुकुरलाइ घिउ नपचेको। राम जस्तो लोग्ने छोडेर गुन्डासङ पोइल�

   [ posted by crazy_love @ 01:47 PM ] | Viewed: 2831 times [ Feedback]


: